+
+

बजेट प्रकरण : संसदीय छानबिन समितिको म्याद थपको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १२:३९
बजेट प्रकरणबारे छानबिन गर्न गठित संसदीय समितिका सचिव सुरेन्द्र अर्याल ।

५ साउन, काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले तोकिएको अवधिभित्र काम पूरा गर्न नसकेपछि म्याद थपको प्रक्रिया अघि बढाइएको छ ।

सम्भवत आज बस्ने संसदको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले समितिलाई थप समय उपलब्ध गराउने छन् । यसअघि २२ असारमा समिति गठन गरी काम सुरु गरेको मितिले १० दिनको समय उपलब्ध गराइएको थियो । तर तोकिएको समयमा काम पूरा नभएकाले थप समय माग गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘हामीले आवश्यक पर्ने समय थप गरिदिन भनेर माग गरेका छौं, थप हुन्छ कि हुँदैन थाहा छैन,’ उनले भने ।

उनले सीसीटीभी फुटेज रिकभर गर्न प्रहरीमा पठाइसकेको र त्यसको रिपोर्ट कहिले आउँछ भन्ने टुंगो नभएको पनि बताए ।

छानबिनको क्रममा समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीबार करिब ३ घण्टासम्म सोधपुछ गरेको छ । शर्माले ‘आफूलाई लागेको कुरा र भोगेको कुरा’ बताएको अर्यालले बताए । तर शर्माले ठ्याक्कै के भने भन्ने कुरा अर्यालले खुलाएनन् ।

यद्यपि समितिका अन्य सदस्यहरुका अनुसार शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता भएको भन्ने आरोपको खण्डन गरेका थिए । ‘उहाँले अर्थ मन्त्रालयका सम्बन्धित अधिकारी बाहेक बजेट निर्माणमा अन्यको संलग्नता भएको भन्ने आरोप अस्वीकार गर्नु भएको छ,’ समितिका एक सदस्यले अनलाइनखबरसँग भने, ‘स्थापित मूल्य, मान्यता, विधि, पद्दती र प्रक्रियामै बजेट निर्माण गरिएको भन्ने कुरा दोहो¥याउनु भएको छ ।’

निवर्तमान मन्त्री शर्माले सीसीटीभी फुटेज कति समयसम्म रहन्छ भन्ने प्राविधिक कुराको जानकारी आफूलाई नभएको बताए ।

यसअघि सीसीटीभी फुटेज माग गर्दा अर्थ मन्त्रालयका अधिकारीहरुले १३ दिनभन्दा बढी समयको व्याकअप नहुने भन्दै जेठ १४ गतेको फुटेज डिलिट भएको जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?