
९ साउन, काठमाडौं । तीनकुनेको गैह्रिगाउँमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा सोमबार प्रहरी टोलीले छापा हान्यो । व्यवसायी सुरज वैद्यको घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए ।
तर प्रहरी टोली यो घरमा पुगेको पहिलो पटक भने होइन । स्रोतका अनुसार ६ महिनाअघि कलसेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएको थियो ।
‘सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि सबैको मोबाइल जफत गरेछन्’, काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘मोबाइल सञ्चालकले खोसेपछि कर्मचारी र सञ्चालनबीच झगडा भयो ।’ विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।
तर प्रहरीले त्यसबेला छलफल गरेर छाडेको थियो । आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको थियो । त्यसक्रममा ७ जना महिला कर्मचारीहरुले प्रहरीको सर्च अपरेशनमा अवरोध गर्न खोजेका थिए । अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।
७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।
प्रतिक्रिया 4