
९ साउन, काठमाडौं । तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरमा छापा हानेर प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १४ महिला र २७ पुरुष छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ । प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई गौशाला लगिएको हो ।
उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेका थिए । उक्त कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा सोमबार काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।
यो कम्पनीमा प्रहरी टोली ६ महिनाअघि पनि पुगेको थियो । प्रहरी स्रोतका अनुसार कल सेन्टरमा काम गर्ने सञ्चालक र कर्मचारीबीच विवाद भएपछि कर्मचारीले प्रहरी कन्ट्रोल १०० मा फोन गरेका थिए । त्यसक्रममा प्रहरी वृत्त, गौशालाको टोली गैरिगाउँस्थित कार्यालयमा पुगेको थियो ।
‘सञ्चालकको खातामा जानुपर्ने पैसा सिधै कर्मचारीको मोबाइलमा पुगेपछि सबैको मोबाइल जफत गरेछन्’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘मोबाइल सञ्चालकले खोसेपछि कर्मचारी र सञ्चालनबीच झगडा भयो । विवाद बढेपछि प्रहरीलाई पनि त्यहाँ बोलाइएको थियो ।’
तर प्रहरीले त्यसबेला छलफल गरेर छाडेको थियो । आइतबार चिनियाँ नागरिकले यहाँबाट साइबर अपराध गरिरहेको सूचना पाएपछि छापा हानेको थियो । त्यसक्रममा ७ जना महिला कर्मचारीहरुले प्रहरीको सर्च अपरेशनमा अवरोध गर्न खोजेका थिए । अवरोध गर्न खोज्नेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहोराले अनलाइनखबरलाई बताए । आइतबार प्रहरीले बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा हानेको थियो ।
७ पुस २०७६ मा पनि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।
प्रतिक्रिया 4