+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एक वर्षमा १७ अर्बको तरकारी आयात

आलु, लसुन र प्याजमा मात्रै साढे १५ अर्ब बाहिरियो

एक वर्षमा नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको छ । आव २०७८/७९ मा आलु, प्याज र लसुन आयातमा मात्रै साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ साउन १० गते १७:२५

१० साउन, काठमाडौं । एक वर्षमा नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को तथ्या‌ंकअनुसार आलु, प्याज र लसुन आयातमा मात्रै साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको छ ।

भन्सार विभागकाअनुसार हरियो तरकारीका लागि मुलुकबाट बाहिरिएको रकम गत वर्ष भन्दा ५ अर्ब हाराहारीले बढी हो ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले ४५ करोड किलो यस्तो तरकारी आयातका लागि १२ अर्ब ३१ करोड ३८ लाख ९५ हजार रुपैयाँ खर्च गरेको थियो । समीक्षा अवधिमा ५९ करोड ८७ लाख ५९ हजार किलो हरियो तरकारीका लागि १७ अर्ब ७ करोड ८० लाख ९० हजार रुपैयाँ खर्च गरेको छ ।

उक्त आयातबाट सरकारले एक अर्ब ७२ करोड २३ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । नेपालमा प्रशस्त मात्रामा उत्पादन हुने प्रमुख तरकारी नै नेपालले आयात गरेको भन्सारको विवरणमा देखिन्छ ।

कुन तरकारी कति आयात ?

आव ०७८/७९ मा नेपालले आयात गरेका प्रमुख तीन तरकारी आलु, प्याज र लसुनमै १५ अर्ब बढी रकम मुलुकबाट बाहिरिएको छ । गत वर्ष नेपालले ८ अर्ब १८ करोड ८९ लाख ९ हजार मूल्य बराबरको ३२ करोड ७६ लाख ७२ हजार २३७ किलो आलु आयात गरेको छ । अघिल्लो वर्ष ७ अर्ब ३० करोड ७० लाख रुपैयाँको २८ करोड ४१ लाख २५ हजार किलो आलु आयात गरेको थियो ।

०७८/७९ मा नेपालले ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँको प्याज नेपाल भित्रिएको छ । उक्त मूल्यको १६ करोड ८५ लाख ४० हजार किलो प्याज किनिएको थियो । अघिल्लो वर्ष यस्तो आयात २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँको थियो ।

नेपालमा तेस्रो धेरै आयात भएको तरकारीमा पर्छ लसुन । ०७८/७९ मा नेपालले ९१ लाख ३० हजार किलो लसुन आयात गरेको छ । यसका लागि मुलुकको ढुकुटीबाट १ अर्ब ५ करोड ३५ लाख ५६ हजार रुपैयाँ बाहिरीएको भन्सार विभागले जनाएको छ । अघिल्लो आवमा एक करोड ६ लाख किलो लसुनका लागि नेपालले एक अर्ब ५ करोड ९६ लाख रुपैयाँ खर्च गरेको थियो । एक वर्षमा नेपालले ३ करोड ४७ लाख किलो बढीको हरियो साग र अन्य सिजनल तरकारी खरिद गरेको छ । उक्त आयातका लागि ६२ करोड २१ लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै २ करोड ७९ लाखको फर्सी, ७ करोड २५ लाखको भेंडे खुर्सानी (क्याप्सिकम),२२ करोड ४४ लाखको च्याउ, ५ करोड ८१ लाख रुपैयाँको घिउसिमी र मटरकोसा, ६३ करोड १२ लाख रुपैयाँको गोलेभेंडा नेपालले आयात गरेको छ । यस्तै, नेपालले २४ लाख ४२ हजार मूल्यको काउली, १३ लाख २४ हजारको बन्दा, ६६ लाख रुपैयाँको गाँजर र १२ लाख रुपैयाँको काँक्रो र २० लाख रुपैयाँको मुला आयात गरेको छ ।

क्रं.सं. तरकारीका प्रकार आयात लागत
आलु ८ अर्ब १८ करोड ८९ लाख
प्याज ६ अर्ब १७ करोड ५ लाख
लसुन १ अर्ब ५ करोड ३५ लाख
साग र हरियो तरकारी ६२ करोड २१ लाख
गोलभेंडा ६३ करोड १२ लाख
च्याउ २२ करोड ४४ लाख

युगान्डाबाट भित्रिन्छ लसुनको हरियो पात 

भन्सार विभागको विवरणअनुसार नेपालले छिमेकी मुलुक भारतर चीनबाहेक अष्ट्रेलिया, युगान्डा, पेरु, सिंगापुर, लेबनन, इन्डोनेसियाबाट समेत हरियो तरकारी आयात गर्छ । गत वर्ष नेपालले इन्डोनेसियाबाट भेंडे खुर्सानी (क्याप्सिकम), युगान्डा र पाकिस्तानबाट लसुनको हरियो पात आयात गरेको छ । गत वर्ष युगान्डाबाट एक हजार किलो हरियो लसुनको पातका लागि नेपालले २ लाख ५४ हजार रुपैयाँ खर्च गरेको थियो ।

कृषि विज्ञ डाक्टर मदन राई यस्तो तथ्यांकले मुलुकलाई एक दिन नराम्रो संकटमा पुर्‍याउने बताउँछन् । परम्परागत कृषि गरेका मान्छेले कृषि छोड्ने र नयाँ मान्छे यस क्षेत्रमा नआउने समस्यााले मुलुकमा परिनिर्भरता बढेको उनले बताए । घरको आफ्नै करेसाबारीमा फल्ने तरकारीका लागि परनिर्भर हुनुको प्रमुख कारणहरुमा कृषिका लागि गरिएको लगानीको दुरुपयोग, उत्पादन भन्दा पनि किनेर खान मन पराउने सोचाइ भएको राई बताउँछन् ।

‘कृषिमा तीनै तहको सरकारी लगानीले प्रतिफल दिएको छैन । स्थानीय तह र प्रदेशको कृषि बजेट चै कागजी रुपमा मात्रै सक्ने काम भएको छ,’ राई भन्छन्, ‘अन्य कारण चैंं किनेर खानेमा गर्व मान्ने जनसंख्या हो । बेच्न र खेती गर्न लाज बोधको अवस्था बन्यो ।’

केही युवा पेशामा आएर पनि विस्थापित हुँदा गाउँमा समेत तरकारी आयात हुन थालेको भन्दै उनले भने यसको सम्पूर्ण कारण कृषि पद्धतीकै दोष भएको बताए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?