
१७ साउन, काठमाडौं । अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ ।
अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ ।
बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’
The United States continues to demonstrate our resolve and our capacity to defend the American people against those who seek to do us harm.
Tonight we made clear:
No matter how long it takes.
No matter where you try to hide.
We will find you.— President Biden (@POTUS) August 2, 2022
अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनबाट दुईवटा मिसाइल प्रहार गरिएको थियो ।
अमेरिकी अधिकारीहरूले जवाहिरीको परिवारका सदस्यहरू पनि घरमा रहे पनि कसैलाई चोटपटक नलागेको बताएका छन् ।
राष्ट्रपति बाइडेनले ७१ वर्षीय अलकायदा नेता विरुद्ध निर्णायक हमलालाई स्वीकृत गरेको बताए । सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि अल–कायदाको नेतृत्व जवाहिरीले गरेका थिए ।
बिन लादेन र जवाहिरीले नै अमेरिकामा ९/११ आक्रमणको योजना बनाएका थिए । अमेरिकाले जवाहिरीलाई मोस्ट वान्टेड आतंकवादी मानेको थियो ।
बाइडेनले अल-कायदा नेताको हत्याले सन् २००१ मा भएको ९/११ आक्रमणका पीडित परिवारलाई राहत पुग्ने बताए।
तालिबानले अमेरिकी कारबाहीलाई अन्तर्राष्ट्रिय नियम र सिद्धान्तको स्पष्ट उल्लङ्घन भनेको छ। तालिबानका प्रवक्ताले भने, ‘बितेको २० वर्षमा यस्ता कारबाहीहरू असफल अनुभवको पुनरावृत्ति हो । यो अमेरिकी हितको विरुद्धमा छ ।’
राष्ट्रपति बाइडेनले जवाहिरीलाई एडनमा अमेरिकी युद्धपोत यूएसएस कोलमा सन् २००० मा आत्मघाती हमलाको लागि पनि दोषी देखाएका छन् । उक्त हमलामा परी १७ समुद्री सैनिक मारिएका थिए ।
अमेरिकी राष्ट्रपतिले बाइडेनले भने, ‘कति धेरै समय लाग्यो र को कहाँ लुकेर बस्यो भन्ने कुराले केही फरक पर्दैन । हाम्रा नागरिकका लागि खतरा सावित हुने कसैलाई पनि अमेरिकाले छाड्दैन । हामी हाम्रो राष्ट्र र नागरिकको रक्षा गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।’
प्रतिक्रिया 4