+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

पोखराको भाइरल रोड असुरक्षित

अहिलेसम्म १० जनाको मृत्यु, दिनहुँ दुर्घटना

विकास रोकामगर विकास रोकामगर
२०७९ साउन २१ गते १९:५२

२१ साउन, पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ मा पर्ने सडक खण्डमा आइतबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भयो ।

पोखराबाट हेमजातर्फ जाँदै गरेकोे मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक २७ वर्षीय नवराज नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।

जेठ २३ गते राति सोही सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने एक जना घाइते भए । नौंडाँडाबाट पोखरातर्फ आइरहेको मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मृत्यु भएका थिए भने उनीसँगै सवार दिलिप कुँवर घाइते भएका थिए ।

गत माघ २६ गते पनि सोही सडक खण्डमा मोटरसाइकल र जिप आपसमा ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक दीपक नेपालीको उपचारका क्रममा मृत्यु भयो ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–२५ मा पर्ने उक्त सडक खण्ड गतवर्ष कात्तिकको मध्यतिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । उज्याला हिमशृङ्खला अघिल्तिर ६ लेनको फराकिलो सडकले धेरैको ध्यान खिच्यो ।

तर, स्थानीय वासिन्दाका अनुसार उक्त सडक खण्डमा दैनिकजसो ५/६ वटा साना ठूला दुर्घटना भइरहेका छन् । सीधा र फराकिलो सडकमा चालकले तीव्र गतिमा गाडी कुदाउने गर्दछन् । ‘स्पिड एकदमै धेरै हुन्छ । कन्ट्रोल गर्न नसक्दा दैनिकजसो दुर्घटना भइरहन्छ’, स्थानीय विश्व सुवेदी भन्छन्, ‘कोही गाडीमा ठोकिन्छन्, कोही डिभाइडरमै ठोकिन्छन् ।’

जिल्ला ट्राफिक प्रहरीको तथ्यांक अनुसार उक्त सडक खण्डमा करिब एक वर्षको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहका अनुसार हेमजा सडकखण्डमा धेरैजसो तीव्र गतिमा गाडी चलाएका कारण दुर्घटना भएका छन् ।  ‘त्यहाँ दुर्घटना हुने भनेकै हाइस्पिडका कारण हो, अनकन्ट्रोल (अनियन्त्रित) भएर धेरै दुर्घटना भएका छन्’, उनले भने ।

दुर्घटना पर्नेमा युवा बढी रहेको शाहले जानकारी दिए । ‘अहिलेको दुर्घटना ट्रेन्ड हेर्ने हो भने १६ देखि २५ वर्षसम्मका धेरै दुर्घटनामा परेको देखिन्छ’, उनले भने, ‘त्यो एज भनेकै ओभरस्पिड हाँक्ने उमेर हो । दुर्घटनामा पनि उनीहरु नै पर्छन् ।’

दैनिक जसो दुर्घटना हुन थालेपछि अहिले ट्राफिक कार्यालयले नियमित सचेतना कार्यक्रम चलाउन थालेको छ । तर, न्यूनीकरण भने हुन सकेको छैन । ‘चालक सचेतना कार्यक्रम हामीले नियमित नै चलाइरहेका छौं । सडकको प्रवेशद्वार घट्टेखोला, याम्दीमा पुलमा बसेर सम्झाउँछौं’, उनले भने, ‘हप्तामा २, ३ दिन त उनीहरुलाई सम्झाइबुझाइ गर्ने नै हो ।’

ट्राफिक कार्यालयले शुक्रबारमात्रै हेमजा सडक खण्डमा पुगेर सवारीको गति मापन यन्त्र (राडार) प्रयोग गरी स्पिड मापन गरेको थियो । कानुनतः बजार क्षेत्रमा ४० किलोमिटर प्रतिघन्टा तोकेको छ । तर, अन्यत्रभन्दा फराकिलो र सिधा रहेको उक्त सडक खण्डमा भने न्यूनतम ८० देखि १२० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा कुदाइरहेको पाइएको कार्यालयले जनाएको छ ।

‘ओभर स्पिडले गर्दा बढी दुर्घटना हुन थालेपछि हिजो (शुक्रबार)मात्रै त्यहाँ पुगेका थियौं । अब उच्च गतिमा सवारी चलाउनेलाई कारवाही पनि सुरु गरेका छौं,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख शाहले भने, ‘यो हामीले हप्ता दिन, १५ दिनमा गर्दै आएका छौं ।’ उनका अनुसार शुक्रबार तीव्र गतिमा गाडी कुदाउने ४० जना कारवाहीमा परेका छन् ।

राष्ट्रिय यातायात नीति २०५८ मा मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरवको योजनाको रुपमा परिकल्पना गरिएको थियो । पहाडी जिल्लालाई जोड्दै नयाँ सहर विकास गर्ने परिकल्पनासहित पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा यो योजना अगाडि सारिएको हो ।

पाँचथरको चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको बैतडी झुलाघाटसम्म १ हजार ८७९ किलोमिटर लामो हुने भनिएको लोकमार्ग अन्तर्गत हेमजाको फेदी घट्टेखोलादेखि याम्दीसम्म १२ किलोमिटर बाटो पर्छ । कास्कीमै पर्ने बाँकी ३० किलोमिटर भने सडक र मुआब्जा विवादका कारण ठेक्कामै जान सकेको छैन ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?