+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ई-पासपोर्ट बनाउन सास्ती पाउनेका प्रश्न : कस्तो देशमा जन्मिएछु ?

सम्झना विक सम्झना विक
२०७९ साउन २७ गते १६:३५

७ साउन, काठमाडौं । चर्का घाम, थामिनसक्नु मानिसको हुल । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा पासपोर्ट वितरण गर्ने गेटको लाइन उभिरहेकी थिइन् सप्तरीकी ज्योति साह । ३४ दिनमा ई–पासपोर्ट हात पार्न लागेकी उनी निकै हर्षित देखिन्थिन् । भन्छिन्, ‘जिल्लामा ई–पासपोर्ट तीन महिना लाग्छ, विभाग आए छिटो बन्छ भन्ने सुनेको थिएँ, काठमाडौं आएको ३४ दिनपछि बल्ल बल्ल पासपोर्ट बन्यो ।’

ई–पासपोर्ट हात पर्ने वित्तिकै मलेसियाको लागि भिसा लगाउन मेनपावर जाने हतारोमा छिन् उनी । भन्छिन् ‘कमाउने बुवा मात्रै हुनुहन्थ्यो, दुर्घटनाले अहिले विस्तरामा थलिनुभएको छ, भाइबहिनी सानै छन्, घरको अवस्था नाजुक छ त्यसैले विदेश जान लागेको ।’ उनको सपना मलेसिया जाने अनि बुवाको उपचार र घर खर्च जुटाउने छ ।

जुनसुकै सपना पूरा गर्नका लागि विदेश जाने भए पनि त्यसका लागि पासपोर्ट बनाउनु सोचेजति सजिलो छैन । अनलाइन फारम भर्न मुस्किल, भरे पनि नम्बर पाउन उत्तिकै सकस, नम्बर आएपछि फोटो खिचाउन आठ घण्टासम्म लाइन बस्नु पर्छ । ‘गर्मीले एक, दुई जना साथी त लाइनमै बेहोस भए’, ज्योति भन्छिन ।

उनले ई–पासपोर्टको अनलाइन फारम भरेको एक महिना पछि मात्रै फोटो खिचाउने र विवरण बुझाउने पालो पाएकी थिइन् । आफूले ई–पासपोर्ट बनाउन साह्रै कष्ट बेहोरेको बताउँदै ज्योतिले भनिन्, ‘अड्कलेको दिन र खर्चले नपुग्ने रहेछ । गेष्ट हाउसको बसाइले मलाई त धेरै गाह्रो बनायो ।’

कल्पनालाई ‘म्यासेज’ आएन

मोरङकी कल्पना धुुनिया राहदानी विभागमै चिन्तित भेटिइन् । कहिले गेटबाट भित्र चिहाउथिन् त कहिले सुरक्षा गार्डलाई प्रश्न गर्थिन् । पासपोर्ट बनाउनै भनेर कल्पना काठमाडौं आएको १५ दिन भयो । आफन्त कहाँ वास लिँदै आएकी कल्पनालाई ई–पासपोर्टको नबन्दा छटपटीले सताएको थियो ।

बेचैन देखिएकी कल्पनाले अनलाइनखबरसंँग भनिन्, ‘काठमाडौंमा बस्न साह्रै गाह्रो, सबैकुरा किनेर खानुपर्ने, बसाइ लम्बिँदै जाँदा पैसा पनि सकिन लाग्यो, पासपोर्टका लागि फोटो खिचाएको चार दिन भइसक्यो, काम अझै सकिएको छैन ।’
उनलाई पासपोर्ट बनेपछि म्यासेज आउँछ भनिएको थियो । चार दिनसम्म पनि म्यासेज आएको छैन । ‘मनै मानेन त्यसैले सोध्न आएकी’, कल्पनाले भनिन् । उनी पटक पटक गार्डलाई मेरो काम बनेन, कहिले सम्म बन्छ ? भनेर सोधिरहेकी थिइन । उता गार्ड झर्को मान्दै भन्दै थिए, ‘काम बनेपछि, म्यासेज आइहाल्छ नि ।’

ई–पासपोर्ट बनाउन ३ दिनअघि काठमाडौं आएका सुनसरीका वाल्मिकी रायले अझै अनलाइन फारम भर्न पाएका छैनन् । राहदानी विभाग वरपरका सबै साइबर चहारेर पनि फारम भर्न नसकेका उनी प्रश्न गर्छन् ‘कस्तो देशमा जन्मिएछु म, पासपोर्ट बनाउन यत्ति हैरानी खप्नु पर्ने ?’

भाइको पासपोर्ट बनाइदिन आएका सोलुखुम्बुका मोती राई पानी, मास्क बेच्ने व्यापारीसँग गफ गरेर समय बिताइरहेका छन् । पाँच महिना अगाडि मात्रै आफ्नै ई–पासपोर्ट बनाएका उनी यो दुख र कष्टका अनुभवी हुन् ।

मोती भन्छन् ‘अनलाइन फारम भर्न पालो नै नपाइने, विभाग धाएको तीन पछि बल्ल फारम भरेँ, एक महिना पछि बल्ल नम्बर आयो, बिहान चार बजेदेखि १२ बजेसम्म उभिएर बल्ल फोटो खिचाएँ, त्यसको चार दिनपछि पासपोर्ट हात पर्‍यो ।’

राहदानी विभागकै छेउमा बसेर निन्याउरो अनुहार बनाएर पासपोर्ट हेरिरहेकी होत्तरीकी लक्ष्मीकुमारी तुमसिङलाई अर्को तनाव थपिएको छ । हातको पासपोर्ट देखाउँदै भनिन, ‘धेरै सास्ती गरेर पासपोर्ट त बनाएर म्यानपावर कम्पनीमा बुझाएँ, तर लिंग पुरुष लेखिएको रहेछ, म्यानपावरले पासपोर्ट फिर्ता गरिदियो । त्यसैले सच्याउन आएकी ।’

उनले विभागमा गुनासो गरिन । तर विभागका कर्मचारीले यसमा लक्ष्मीले नै गल्ती गरेको भनेर सच्याउन ५ हजार रुपैयाँ तिर्नु पर्ने बताए । उनी भन्छिन् ‘फेरि नयाँ फारम भरेर पालो कहिले आउने हो, केहि टुङ्गो छैन; फारम राम्रोसँग भरेको थिएँ, कहाँ गल्ती भयो, अचम्म लाग्छ’, श्रमिक भिसामा युरोप जाने तयारीमा रहेकी उनले सुनाइन् ।

लाइनमा भेटिएका सिन्धुपाल्चोकका सानुकान्छा तामाङलाई कर्मचारीको व्यवहार चित्त बुझेको छैन । ‘भिड उत्तिकै छ, मान्छे बस्ने ठाउँ छैन, घामपानीबाट जोगिने ओत छैन, कर्मचारीको व्यवहार त्यत्तिकै रुखो छ’, उनले भने ।

‘देशमा रोजगारी पाउने वातावरण छैन । विदेश नगएसम्म काम पाइन्न । यहाँ त पासपोर्ट बनाउनै महाभारत छ । लाइन नबसी नहुने, दुख नपाइकन बस्ने त आमाको पेटमा मात्रै होला, जहाँ पनि लाइन बस्नु पर्ने, कष्ट काट्नु पर्ने,’ सानुकान्छाले दुखेसो पोखे ।

हामीलाई दुखेसो सुनाउने अर्का थिए, सुनसरीका वाल्मिकी राय । उनी काठमाडौं आएको तीन दिन भयो । तीन दिनमा पनि वाल्मिकीले अनलाइन फारम भर्न पाएका छैनन् । उनले राहदानी विभाग वरपरका सबै साइबर चहारे । तर फारम भर्न सकेनन् । वाल्मिकी भन्छन् ‘११ बजे सिस्टम खोल्दिँदो रहेछ, त्यो पनि पाँचदेखि दश मिनेटसम्म । त्यतिञ्जेलमा जसले पालो पायो पायो, अरु त हेरेको हेरै हुने ।’

उनको पासपोर्टको अवधि एक वर्ष मात्र बाँकी छ । मलेसिया जाने तयारी गरेका वाल्मिकी पासपोर्ट नवीकरणका लागि काठमाडौं आएका हुन् । उनी भन्छन् ‘कस्तो देशमा जन्मिएछु म, आफ्नै जिल्लामा नविकरण गराउन, तीन महिना लाग्ने भन्यो, छिटो हुन्छ भनेर राजधानी आएको फारम पनि भर्न पाइएन् ।’

नेपालगञ्जका मोहनलाल कर्णको व्यथा उस्तै थियो । उनले ३ दिनमा पनि अनलाइन फारम भर्न पाएका छैनन् । जुम्लाका तिलक बोहोरा पाँच घण्टादेखि लाइनमा उभिइरहेका छन् । अनलाइन फारम भरेको एक महिना पछि मात्रै फोटो खिचाउने पालो पाएको छ उनको ।

दाङका भुपेन्द्र रानालाई अनलाइन फारममा त्रुटि भएको भनेर नयाँ फारम भर्न विभागले फर्काइदिएको छ । भुपेन्द्र भन्छन् ‘डिपार्टमेन्ट अफ पासपोर्ट हुने ठाउँमा काठमाडौं भएछ यो हुन्न नयाँ भरेर आउ भनेको छ, पहिला पनि पालो पाउन एक महिना कुर्नु परेको थियो अब कहिले हुने हो थाहा छैन ।’ दुखेसो सुनाउँदै उनले भने ‘घरबाट ल्याएको पैसा पनि सकिन लाग्यो, अब जाउँ कि बसौैं अलमलमा छु ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखक
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?