+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
४२ बलमा ५९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
71/4 (12.6)
Shares

दशैं केन्द्रित हवाई टिकट बुकिङ धमाधम, तुम्लिङटारमा ‘सोल्डआउट’

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ १७ गते १३:४७
फाइल तस्वीर

१७ भदौ, काठमाडौं । दशैंमा काठमाडौं छाडेर जानेहरुले हवाई टिकट बुकिङ तीव्र पारेका छन् । वायुसेवा कम्पनीहरुका अनुसार अहिले दशैंको अन्तिम दिनहरुलाई लक्षित गरी उच्च दरमा टिकट काट्ने क्रम बढेको छ । यसमध्ये तुम्लिङटार विमानस्थलका लागि भने सबै टिकट बिक्री भइसकेको बुद्ध एयरले जनाएको छ ।

कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार यो विमानस्थल बाहेकका विमानस्थलमा भने अग्रिम बुकिङ धमाधम भइरहेको छ ।

यति एयरलाइन्सका अनुसार दशैंमा काठमाडौंबाट बाहिर जानेहरुले फूलपातिपछि बढी बुकिङ गरिरहेका छन् । दशैंको टिकाको भोली पल्टबाट भने उपत्यका बाहिरबाट काठमाडौं फर्कनेको चाप छ ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म ५० प्रतिशत भन्दा माथि टिकट बिक्री भइसकेको छ । ‘पहिलेजस्तो दशैंलाई मात्र भनेर खुलाउने गरिएको छैन,’ उनले भने, ‘टिकट अनलाइनमा खुला हुन्छ, आफ्नै मोबाइलबाट यात्रुले सजिलै बुकिङ गर्न सक्नु हुन्छ ।’

सौर्य एयरलाइन्सले आज (शुक्रबार)देखि दशैं र तिहारलाई केन्द्रित गरी अग्रिम बुकिङ खुला गरेको जानकारी गराएको छ ।

सस्तो टिकट छिटो बिक्री

वायुसेवा कम्पनीहरुका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले टिकटको माथिल्लो दर तोकिदिएको हुन्छ । त्यस दरभन्दा मुनी विभिन्न दरमा कम्पनीहरुले टिकटहरु राखेका हुन्छन् । सामान्यतया १/२ महिना अगाडि नै टिकट बिक्रि गर्नेहरुले सस्तो दरको टिकट हात पार्छन् ।

त्यसपछि भने महँगो दरको टिकटहरुमात्र बाँकी रहन्छ । कम्पनीहरुले अनलाइन टिकट बुकिङ सहज बन्दै गएपछि वर्षभर नै टिकट बुक गर्न सकिने गरी खुला छाडेका छन् । यसले विगतमा जस्तै सस्तोमा टिकट होल्ड गरी महँगोमा बिक्री गर्ने ट्राभल कम्पनीको धन्दा भने रोकिएको छ । सोहीकारण अहिले दशैंलाई भन्दै घोषित टिकट बिक्री खुलाउने गरिएको छैन ।

सुगमका गन्तव्यमा छैन समस्या

वायुसेवा कम्पनीहरुले अहिले सुगम भेगमा पर्याप्त मात्रामा ठूला जहाज थपेका छन् । यसले विगतमा जस्तै चाडबाडमा हवाईजहाजको टिकट नै नपाउने समस्या नहुने वायुसेवा कम्पनीहरुको भनाइ छ ।

‘दूर्गमका विमानस्थलमा जहाज कम छन्, त्यहाँ समस्या छन्,’ यति एयरलाइन्सका प्रवक्ता बर्तौला भन्छन्, ‘तर सुगममा अब समस्या छैन ।’

उनका अनुसार यति एयरलाइन्सले दशैं अगाडि नै थप एक एटीआर जहाज थप्दैछ । त्यसपछि उक्त कम्पनीसँग मात्र ठूला जहाजको संख्या ६ पुग्ने छ । अहिले बुद्धसँग १४ र श्री एयरलाइन्ससँग ८ वटा ठूलो क्षमताका जहाज छन् । सौर्यसँग ३ वटा जहाज छन् । सानो क्षमताका जहाज भने विभिन्न कम्पनीसँग २२ वटा रहेको छ ।

कुन कुन विमानस्थलमा बढी छ यात्रुको चाप ?

वायुसेवा कम्पनीहरुका अनुसार सुगम गन्तब्यमध्ये विराटनगरमा यात्रुको सबैभन्दा बढी चाप छ । यहाँबाट पूर्वी पहाडमा जान सडक यातायातको सञ्जाल समेत सहज भएका कारण विराटनगरमा टिकटको बढी माग देखिएको प्रवक्ता बर्तौलाले जानकारी दिए ।

त्यसपछि भैरहवा, नेपालजञ्ज र भद्रपुरमा यात्रुको चाप देखिएको छ । यी गन्तव्यमा नियमित टिकट बिक्री भएमा थप उडान समेत गर्न सम्भव रहेकाले चाडवाडमा यात्रुलाई माग अनुसार टिकट नै नपाउने समस्या नहुने अपेक्षा वायुसेवा कम्पनीहरुले गरेका छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?