+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
ब्लग :

ढिला महसुस हुनसक्छ मानसिक बलात्कार

चिथोरिएको, कोपरिएको, लुगा च्यातेर क्षत–विक्षत पारिएको बलात्कार तुरुन्तातुरुन्तै थाहा हुन्छ तर मानसिक बलात्कार कैयौं समयपछि महसुस हुनसक्छ। ललाई–फकाई प्रेम र बिहेका प्रलोभन देखाएर गरिने यौनक्रियाहरू बलात्कार हुन् भनेर थाहा पाउन महिनौं पनि लाग्न सक्छ।

गीतु गैरे गीतु गैरे
२०७९ भदौ २६ गते १८:२९
लेखक : गितु गैरे

कुन विन्दु, कुन प्रसङ्ग, कुन घटना, कहाँबाट सुरु गरौं ? मसँग कुनै उत्तर छैन। अहिले लेख्न खोजिरहँदा पनि औंलाहरू चल्न सकिरहेका छैनन्। मस्तिष्क अडिग र मन पनि शान्त छैन। सोचिरहेछु, मात्र सोचिरहेछु, हाम्रो समाज कता जाँदैछ ? चेतनाको स्तर यति खोक्रो होला भन्ने लागेकै थिएन।

हाम्रो समाजमा पितृसत्तात्मक सोच यसरी हावी छ कि महिला पनि यस सोचबाट अछुतो छैनन्। हाम्रो हुर्काइ, सिकाइ र संस्कार यसकै वरिपरि घुमेको छ। सानैदेखि छोरीलाई सहनशील, सु‌‌शील र अनुशासित हुनुपर्छ भनेर यसरी सिकाइन्छ कि उसले जीवनमा हरेक कुरा सहनै पर्छ‌‌। जीवनमा सानै कुराले खास महत्व राख्छ। तिनै स–साना कुरा नसिकाउनाले, नसिक्नाले वा ‌भनौं नबुझ्नाले पछि ठूलो दुर्घटना निम्तिन सक्छ ।

अहिले सामाजिक सञ्जालमा प्रतिक्रिया सुन्दा निर्धक्क भ‌एर बाँच्न गाह्रो हुने अवस्था छ। मन मिल्दासम्म चमत्कार, नमिलेपछि बलात्कार, कुनै केटासम्म किन घुम्न गएको, राति होटलमा किन बसेको ? यत्रो इशारा गरेपछि केटा चुप लाग्छ त ? आफैं सोच्नुपर्दैन ? विचार गर्नुपर्दैन ? (योभन्दा धेरै आफै लेख्न सकिनँ)।

यसो सुन्दा लाग्छ, कसैलाई बलात्कार गर्नु पुरुषको नैसर्गिक अधिकार भित्रै पर्छ। केटीसँग भ‌एपछि केटाले कहाँ आफूलाई सम्हाल्न सक्छ ? केटी नै जान हुँदैनथ्यो। आफ्नो इज्जतको ख्याल गर्नुपर्थ्यो। लाग्छ- इज्जत भनेको‌ केटीको मात्रै हुन्छ।

हाम्रो समाज, साथीभाइ, परिवारमा पनि यस विषयमा खासै बहस हुँदैन। कुराकानी हुँदैन। विद्यालयस्तरमा केही सतही कुरा मात्रै सिकाइन्छ यौनशि‌क्षा सम्बन्धी विषयहरूमा। धेरै मानिसलाई यससम्बन्धी सामान्य भन्दा सामान्य जानकारी नै छैन।

केही चर्चित अनुहारहरू माथिको यस्ता आरोपबाट साँच्चै समाजले सिक्न सक्छ। बल्ल यी विषयमा बोल्न थालिएको छ। सूचना धेरैभन्दा धेरै हदसम्म पुगेको छ। बल्ल मानिसलाई पछि समस्यामा पर्न सक्छु भन्ने भय पलाएको छ। अझ भनूँ, छोरीहरू बल्ल बोल्ने आँट गर्दैछन्।

किशोरावस्था आफैंमा एक परिवर्तनशील उमेर हो। कुन सही र कुन गलत हो भन्ने निर्णय लिन ‌उनीहरू परिपक्व हुँदैनन्। ‌

किशोरावस्थामा हाम्रो दिमागको ‘प्रिफ्रन्टल कर्टेक्स’ को विकास पूर्णरूपमा भ‌इसकेको हुँदैन। जसले गर्दा नाफा, नोक्सान, के गलत, के सही ? विश्लेषण गर्ने, कारण खोज्ने इत्यादि कुरामा उनीहरू अपरिपक्व हुन्छन्। किशोरावस्थामा अमिग्डाला (प्रमस्तिष्कखण्ड) को विकास तीव्र हुन्छ। लिम्बिक सिस्टमअन्तर्गत पर्ने अमिग्डालाले भावनात्मक परिवर्तन गराउँछ। चाँडै खुसी हुने, रिसाउने, झर्किने, दुःखी हुने जस्ता मानिसका संवेदनामा यसको विशेष चासो रहन्छ।

यसै कारण पनि किशोरावस्थामा छोटो समयमै खुसी हुने अनेक उपाय सोच्न थाल्दछन्। ‌यसकारण छिट्टै रमाउन सकिन्छ भनेर कुसंगत र कुलतमा फस्ने सम्भावना पनि यही समयमा बढी रहन्छ।

नयाँ कुरा सिक्न, निडर र स्वतन्त्र हुन, आफैंले आफैंलाई विश्वास दिलाउने समय यही हो। यस समयको प्रभाव जिन्दगीभरि रहन्छ। किशोरकिशोरीलाई असल मार्गनिर्देशन गर्ने समाज र वयस्कको उत्तरदायित्व हो।

चिथोरिएको, कोपरिएको, लुगा च्यातेर क्षत–विक्षत पारिएको बलात्कार तुरुन्तातुरुन्तै थाहा हुन्छ तर मानसिक बलात्कार कैयौं समयपछि महसुस हुनसक्छ। ललाई–फकाई प्रेम र बिहेका प्रलोभन देखाएर गरिने यौनक्रियाहरू बलात्कार हुन् भनेर थाहा पाउन महिनौं पनि लाग्न सक्छ।

यस समयसम्म अभिभावकहरूले आफ्नो ‌सन्तानलाई उच्च निगरानीमा राख्नुपर्दछ। छोराछोरी दुवैलाई यस विषयमा सचेत बनाउनुपर्दछ। सानैदेखिको हुर्काइको समयले उसको ‌पछिसम्मको सोचाइ, चिन्तन र व्यक्तित्वमा प्रभाव पर्दछ।

किशोरकिशोरीलाई उचित सल्लाह र निगरानी गर्नु, यस विषयमा कुराहरू गर्नु, सुन्नु, सचेत तुल्याउनु वयस्कहरूको जिम्मेवारी हो। उमेर बढ्दै जानु भनेको जिम्मेवारी बढ्दै जानु हो। सामाजिक उत्तरदायित्व हो। हामीले उनीहरूप्रति गरिने व्यवहारले उनीहरूको जीवन र सोचाइप्रति प्रभाव पर्दछ ।

हामीले यो कुरा बुझ्नुपर्दछ कि शारीरिक रूपमा ठूलो हुँदैमा, मानसिक रूपमा तयार रहन सक्दैनन्। शारीरिक वृद्धि विकाससँगै हर्मोनहरू पनि निस्कन थाल्दछ। तर मानसिक रूपमा सचेत र सजग नै हुँदैनन्‌।

यौन सहमति स्पष्ट हुनुपर्दछ। पहिले सहमत भए पनि, जुनसुकै बेला सहमति फिर्ता लिन सकिन्छ। अनिच्छा वा असहजता व्यक्त गरेर सहमति फिर्ता लिन सक्दछ, र त्यसका बावजुद गरिने कुनै पनि बलपूर्वक कार्य बलात्कार हो। बलात्कार र यौनहिंसा अपरिचितबाट भन्दा धेरै आफ्नै साथी वा पति/पत्नीबाट पनि हुने गर्दछ। यी सामान्य भन्दा सामान्य कुरा हरेक व्यक्तिले बुझ्न आवश्यक छ।

शारीरिक मात्र बलात्कार हो भने उत्तिबेलै थाहा हुन सक्छ। चिथोरिएको, कोपरिएको, लुगा च्यातेर क्षतविक्षत पारिएको बलात्कार तुरुन्तातुरुन्तै थाहा हुन्छ तर मानसिक बलात्कार कैयौं समयपछि महसुस हुनसक्छ। ललाई, फकाई प्रेम र बिहेका प्रलोभन देखाएर गरिने यौनक्रियाहरू बलात्कार हुन् भनेर थाहा पाउन महिनौं पनि लाग्न सक्छ।

आत्मालाई पुगेको चोट जो कोहीले नदेख्न सक्छ, उल्टै प्रश्न उठाउन सक्छ। सोचेर, सम्झेर, उचित परामर्श लिएर मुख खोल्दासम्म बलात्कारको अवधि वर्षौं पनि पुग्न सक्छ। एउटा यस्तो समाज जहाँ छोरी मान्छेले मुख खोल्नुलाई पहिलो नजरमै शंकाको दृष्टिले हेरिन्छ, त्यस्तो समाजमा ’प्रेम वा विवाहको प्रलोभनमा पारी शारीरिक रूपमा भोगिएको त खासमा बलात्कार पो रहेछ’ भनेर थाहा पाउँदासम्म जीवनको अन्तिम चरण पनि हुन सक्छ। के बलात्कार भयो भनेर सबैले पत्याउने हुन क्षतविक्षत नै हुनुपर्ने हो ? मृत्यु नै हुनुपर्ने हो ?

सामाजिक संजालमा देखिएको टीकाटिप्पणीले को मान्छेको सोच कस्तो भनेर सजिलै बुझ्न सक्ने ‌बनाइदिएको छ। धेरै जनाको मुकुन्डो खुल्दै ग‌एको छ। जीवनको कुनै पनि कालखण्डमा धेरै महिला कुनै न कुनै माध्यमबाट दुर्व्यवहारमा परेका हुन्छन्‌ र लाग्छ जो हरेक पटक पीडकको पक्षमा बोलिरहेका छन्,उनीहरू आफैंलाई प्रतिनिधित्व गरिरहेका पो छन् कि ?

र, अन्त्यमा सबै पुरुष खराब हुँदैनन्‌, खराबभित्र सबै पर्दैनन्। समाजमा केही यस्ता पुरुषहरू छन् जो असाध्यै सम्मान‌ गर्छन् महिलालाई। मेरा केही यस्ता साथी, परिवार, आफन्त छन् जो महिलाका विषयमा बढो संवेदनशील छन् र उत्तिकै सम्मान गर्छन्। खुसी लाग्छ, समाजमा यस्ता मान्छे पनि त छन् भनेर।

म महिला भ‌एर महिलाको पक्षमा बोलेको होइन। बहुसंख्यक रूपमा महिला पीडित हुने भ‌एकोले (अन्य देशहरूमा समेत) हो। कुनैकुनै समयमा साँच्चिकै पीडित पुरुषहरू हुनुहुन्छ र सधैं ‌साथ रहनेछ। कुरा खासमा महिला पुरुषको भन्दा पनि अपराध, सोच र विकृतिको हो।

हामी ‌सबै मिलेर सभ्य समाजको निर्माण गरौं। सोच बदलौं। ‌निर्धक्क भ‌एर सार्वजनिक बस चढ्न ‌सकियोस्, साँझ केही अबेर हुँदैमा हतासिन नपरोस्। कसैबाट असहज महसुस भ‌ए तुरुन्तै आवाज उठाउन ‌सकियोस्। महिला पुरुष दुवैको साथ सहयोगमा मात्रै सुन्दर समाजको निर्माण हुन सक्दछ ।

लेखक
गीतु गैरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?