+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सपिङ भनेपछि किन हुरुक्कै हुन्छन् युवती ?

मनिषा थापा मनिषा थापा
२०७९ भदौ २८ गते १५:२३

काठमाडौं । दशैंको तिथि नजिकिएसँगै किनमेलको याम सुरु भएको छ । दशैंको सन्दर्भमा भन्ने गरिन्छ, ‘मीठो खाने, राम्रो लगाउने चाड ।’

लत्ताकपडादेखि खाद्यान्नसम्म किनमेल गर्ने मुख्य सिजन पनि हो यो । जब किनमेलको कुरा आउँछ, तब महिलालाई अगाडि सारिन्छ । समाजमा के मान्यता स्थापित छ भने महिलाहरु किनमेल गरेर कहिल्यै थाक्दैनन् ।

किनमेल गरिरहँदा महिलाहरु न झन्झट मान्छन्, न थकान अनुभव गर्छन्, न दिन गएकै पत्तो पाउँछन् । आखिर किनमेल भनेपछि महिलाहरु किन हुरुक्कै हुन्छन् ?

‘किनमेल आफैंमा एउटा कला हो,’ मनोविद् गोपाल ढकाल भन्छन्, ‘यसमा गुणस्तरीय सामग्री पहिचान गर्र्र्ने, मूल्यको हिसाबकिताब गर्ने, मोलमोलाइ गर्ने जस्ता खास गुण यसमा जरुरी हुन्छ, जुन महिलामा विद्यमान हुन्छ ।’

किनमेल गर्नु झन्झटिलो प्रक्रिया त हो नै, उत्तिकै झर्कोलाग्दो पनि । यद्यपि महिलाहरुमा धैर्य र सहनशील क्षमता हुने भएकाले किनमेलका लागि उनीहरु योग्य हुन्छन् । एउटै सामग्री खरिद गर्न पनि धेरै समय लगाउँछन्, राम्रो–नराम्रो भनी त्यसको जाँच गर्छन्, सही मूल्यका लागि मोलमोलाइ गर्छन् । यस्तो धैर्यता पुरुषमा नहुने मनोविद् ढकाल बताउँछन् ।

किनमेलकै कुरामा महिलाहरु आफ्नो लत्ताकपडा वा सौन्दर्य प्रसाधनका लागि पनि उत्तिकै मरिहत्ते गर्छन् । के भनिन्छ भने महिलाहरुलाई जति लुगाफाटो भए पनि पुग्दैन । घरबाहिर निस्कने बेला उनीहरुलाई जहिले पनि लुगाको अभाव हुन्छ ।

जस्तो अभिनेत्री तथा टेलिभिजन प्रस्तोता रीमा विश्वकर्माको कुरा सुनौं ।

किनमेल भनेपछि उनको थाकेका तन्तु पनि तंग्रिन थाल्छन् । रीमा खासगरी लत्ताकपडा खरिद गर्न रुचाउँछिन् । ‘ब्रान्डेड वा यो त्यो भन्ने नै छैन,’ रीमा भन्छिन्, ‘झट्ट हेर्दा राम्रो देखेपछि किन्न मन लागिहाल्छ ।’

अभिनेत्री तथा सञ्चारकर्मी रीमा विश्वकर्मा । फाइल तस्वीर

तर उनी आफ्ना लागि मात्र नभएर परिवारका लागि पनि किनमेल गरिरहेकी हुन्छिन् । देशबाहिरबाट घर फर्कंदा उनले परिवारका सदस्यका लागि केही न केही बोकेकै हुन्छिन् । उनी एकपटक किनमेल गर्दा धेरैमा डेढ लाख रुपैयाँसम्म खर्च गर्छिन् ।

किनमेलले तनाव घट्छ

किनमेल गरिरहँदा महिलाहरुले कतिपय तनावसमेत भुल्ने र उमंगित हुने मनोविद् ढकाल बताउँछन् । उनको भनाइसँग अभिनेत्री पूजा शर्माको अनुभव मिल्दो छ । पूजा भन्छिन्, ‘किनमेल गर्नु त मेरो लागि औषधि जस्तै हो । आफूलाई मन परेको सरसामान किनिरहँदा आफूलाई निकै हल्का र फूर्तिलो अनुभव गर्छु ।’

किनमेल गर्नुअघि उनको खास योजना हुँदैन । बजारमा पुगेपछि मन परेको सामग्री उठाउँछिन् । घरायसी सरसामान किन्न उनी भाटभटेनी सुपरस्टोर पुग्ने गर्छिन् । नुनदेखि सुनसम्म पाइने भएकाले उनलाई भाटभटेनी सुपरस्टोर किनमेलका लागि सहज लाग्छ । उनी एक पटकमा ५० हजार रुपैयाँसम्मको किनमेल गर्ने गर्छिन् ।

जहाँ पुरुषहरु किनमेलका लागि झन्झट मानिरहेका हुन्छन्, महिलाहरु त्यसमा आनन्द मानिरहेका हुन्छन् । साथै यसले आत्मबल बढाउँछ । अभिनेत्री सुरक्षा पन्तको अनुभव पनि यस्तै छ । ‘तनाव भएको बेला किनमेलमा गइयो भने आनन्द आउँछ,’ सुरक्षा भन्छिन्, ‘यसले तनावरहित बनाउने र आत्मबल बढाउने काम गर्छ ।’

अभिनेत्री सुरक्षा पन्त । फाइल तस्वीर

उनी किनमेलका लागि एक्लै निस्किन्छिन् । प्रायःजसो पुस्तक, लुगाफाटो र जुत्ता खरिद गर्छिन् । उनका लागि किनमेलको कुनै विशेष ठाउँ छैन, फुटपाथदेखि ठूला सपिङ सेन्टरसम्म पुगिरहेकी हुन्छिन् ।

किनमेल गरिरहँदा पूर्व मिस नेपाल उषा खड्गीको मन प्रफुल्ल हुन्छ । खुसी भएको बेला खुसी साट्न वा दुःखी भएको बेला मन बहलाउन उनी किनमेल गर्न पुग्छिन् । हुन त उनको आफ्नै बुटिक छ, जहाँ भनेजस्तै लत्ताकपडा उपलब्ध हुन्छ । यद्यपि बाटोमा हिंड्दै गर्दा उनी मन लागेको सरसामान खरिद गर्न अल्छी मान्दिनन् ।

अहिले अनलाइन किनमेलको ट्रेन्ड छ । अनलाइनबाटै किनमेल गर्न सहज लाग्छ, उषालाई पनि ।

जति भए पनि पुग्दैन ?

भनिन्छ, जति लुगाफाटो भए पनि महिलालाई पुग्दैन । यसमा स्वीकारोक्ती छ, उषा खड्गीको पनि । ‘मेरो आफ्नै बुटिक छ । लुगाफाटोको भण्डार नै छ,’ उनी भन्छिन्, ‘तर कहिलेकाहीं बाहिर हिंडडुल गर्ने बेला के लगाउने भनेर सोच्नुपर्ने हुन्छ ।’

भगवानले नै नारीको स्वभाव यस्तो बनाइदिएको उनको बुझाइ छ । उषा भन्छिन्, ‘जति सौन्दर्य प्रसाधन, जति लुगाफाटो भए पनि हामीलाई जहिल्यै अभाव हुन्छ ।’

यद्यपि अहिलेका पुस्ता भने केही फरक भएको तर्क गर्छिन्, रीमा । ‘केटीहरुलाई जति किनमेल गर्दा पनि पुग्दैन भन्ने भनाइ छ,’ रीमा भन्छिन्, ‘तर अहिलेको परिस्थिति, बुझाइ, रहनसहन अलि फरक पाएको छु । अहिलेको पुस्ता हामीभन्दा पनि व्यावहारिक लाग्छ मलाई ।’ उनका अनुसार लुगाको थुप्रो मात्र लगाउने प्रवृत्ति कम भएको छ ।

पूर्वमिस नेपाल उषा खड्गी । फाइल तस्वीर

अभिनेत्री सुरक्षा पन्त पनि अहिले लुगाफाटो पहिलेजस्तो जथाभावी किन्न छाडेकी छिन् । उनी पुराना लुगाफाटो पनि सम्हालेर राख्छिन् । ‘मन परेको लुगा धेरै पटक लगाउँछु,’ सुरक्षा भन्छिन्, ‘सबै लुगा म जतन गरेरै राख्ने गर्छु ।’

मूल्यमा मोलमोलाइ गर्न सिपालु

महिलाहरु पुरुषको तुलनामा मूल्यमा मोलमोलाइ गर्न सिपालु हुन्छन् । कुनै पनि सामग्री खरिद गरेपछि त्यसको गुणस्तर अनुसार कति मूल्य उचित हुन्छ भन्ने कुराको उनीहरुलाई हेक्का हुन्छ ।

सुरक्षा भन्छिन्, ‘कुनै पनि वस्तुको सही मूल्य निर्क्यौल गर्न पनि बार्गेनिङ गर्नुपर्ने हुन्छ ।’ खासगरी ठूला सपिङ सेन्टरमा उनी आफूलाई मनपरेको सामग्रीमा मोलमोलाइ गर्छिन् । साना पसलमा भने मोलमोलाइ गर्न उनलाई मन लाग्दैन । कतिपय अवस्थामा मोलमोलाइ गर्दा सोचेभन्दा धेरै फरक मूल्यमा पनि सरसामान पाएको उनको अनुभव छ ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?