
२९ भदौ, काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि जिरह गर्नु पाउनुपर्ने माग राखी प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निवेदन दिएका छन् ।
महाभियोगको बयानका क्रममा जबराले आफू लगायतलाई लाञ्छना लगाएर आरोपित गरेको भन्दै अर्यालले सत्यता जाँचको माग गरेका हुन् ।
उनले समितिमा पेश गरेको निवेदनमा भनेका छन्, ‘महाअभियोगको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सम्मानित समिति समक्ष बयान दिने क्रममा मलाई समेत लान्छना लगाई आरोपित गरेको हुँदा त्यसको सत्यताको जाँच गर्नको लागि सम्मानित समिति समक्ष उपस्थित भइ निजलाई जिरह गर्न पाऊँ ।’
अभियुक्तलाई अर्को पक्षले केरकार र प्रश्न गर्नुलाई अदालती भाषामा जिरह गर्नु भनिन्छ । न्याय सम्पादनका क्रममा गरिने जिरह प्रमाण परीक्षणको महत्वपूर्ण पाटो हो ।
जबराले समितिको कठघरामा विना रोकटोक अरुलाई आरोप लगाउन पाउने, तर उनले लाञ्छना लगाएको पक्षले सफाइको मौका नपाउने अवस्था हुन नहुने भन्दै समितिको ध्यानाकर्षण गराएका हुन् । समितिले माग सम्बोधन गरिदियो भने अधिवक्ता अर्यालले जबरालाई समितिको बैठक कक्षमै गएर आफूमाथि आरोप लगाउनुको कारण, त्यसको आधार र प्रमाण माग गर्न पाउँछन् ।
महाभियोगको बयानका क्रममा केही दिनअघि जबराले अर्यालको चरित्रमाथि प्रश्न उठाएका थिए । उनले भनेका थिए, ‘अर्यालको क्यारेक्टर एकदमै गम्भिर छ, नोट होस् ।’ उनले असान्दर्भिक विषय समेत जोडेर ‘अर्याल काठमाडौं महानगरपालिकाको मेयर बालेनको कानूनी सल्लाहकारमा नियुक्त भएकोबारे आफूले पत्रिकामा पढेको’ प्रतिक्रिया दिएका थिए ।
बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि न्यायाधीश पद मागेको आरोप लगाएका जबराले पछि भने उनीमाथि दुईचोटी न्यायाधीशको नाम सिफारिस गरेको आरोप लगाएका थिए । आफूमाथि यस्ता आरोप लगाइएको भन्दै अधिवक्ता अर्यालले जबरामाथि जिरह गर्न पाउनुपर्ने माग गरेका हुन् ।
प्रधानन्यायाधीश जबरा समेत संलग्न संवैधानिक परिषदले सिफारिस गरेको ५२ संवैधानिक पदाधिकारी विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दर्ता गराएको रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ । अर्यालले त्यो निवेदनको सुनुवाइका क्रममा ‘भागबण्डा भएको’ भनी प्रश्न उठाएपछि गत वर्ष नै इजलासबाट प्रधानन्यायाधीश जबराले आपत्ति जनाएका थिए । जबरा र उनका भाइ प्रभुशम्सेरले गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विभिन्न प्रमाण सहित अर्यालको सहयोगमा डा. गोविन्द केसीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् ।
निलम्बित प्रधानन्यायाधीश जबरासँग एकसरो बयान लिएको महाअभियोग सिफारिस समितिले अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने तयारी गरेको छ ।
प्रतिक्रिया 4