
३० भदौ, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश बनाइदिने प्रलोभन देखाएको बताएका छन् । पछिल्लो समय आफू न्यायाधीश हुने लाइनमा नरहेको भन्दै उनले न्याय परिषदमा दिएको बायोडेटा समेत फिर्ता लिएको बताए ।
बिहीबार महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा जबराले बारका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव पौडेलमाथि न्यायाधीश खोजेको आरोप लगाएका थिए । बिहीबार समितिमा उपस्थित भएका श्रेष्ठ र पौडेल दुबैले जबराले लगाएको आरोप अस्वीकार गरे । बरु जबराले आफूलाई पटक–पटक न्यायाधीश बनाउने प्रलोभन देखाएको पौडेलले बताए ।
उनका अनुसार २६ मंसिर २०७७ को न्याय परिषद् र नेपाल बारको संयुक्त बैठकमा तत्कालीन प्रधानन्यायाधीश जबराले १२ जना मुख्य न्यायाधीश बनाउने प्रस्ताव गरेको सुनाए । पौडेलले भने, ‘त्यो मिटिङमा चोलेन्द्रशमशेर राणाले अदालतमा न्यायाधीशको संख्या कम भयो । हाइकोर्टहरुमा १८९ गर्नुपर्यो, मुख्य न्यायाधीश ७ ले भएन, १२ गर्नुपर्यो भन्नुभयो । त्यसो हुँदा वकिलबाट पनि धेरै जना न्यायाधीश बनाउन सकिन्छ । १२ जना मुख्य न्यायाधीश भयो भने ७ जना अहिले छन् । ५ जना थपिँदा २ जना (कानुन व्यवसायीबाट) थप्न सकिन्छ ।’
कानुन व्यवसायीहरुलाई लोभ देखाएपछि आफूले संविधानप्रतिकुल प्रस्ताव राखेको भन्दै विरोध गरेको पौडेलले बताए । संविधानले ७ वटा उच्च अदालतलाई चिन्ने भन्दै उनले भने, ‘७ वटा उच्च अदालत हुन्छ भने मुख्य न्यायाधीश पनि ७ नै हुन्छ । ५ मुख्य न्यायाधीश कुन कानुनले राख्नुहुन्छ भनेर मैले प्रश्न गरेको छु ।’
न्याय परिषद् ऐनमा उच्च अदालतमा १६० जना न्यायाधीश हुन्छ भनेर किटान गरेकाले त्यो संशोधन नगरी न्यायाधीश पनि थप्न नसकिने आफूले बताएको पौडेलले सुनाए । ‘तपाईं त्यसो नभनिदिनुस्, मैले सम्माननीय प्रधानमन्त्रीजीसँग पनि कुरा गरेको छु, अर्थमन्त्रीजीसँग पनि कुरा गरेको छु । उहाँहरुले बजेट दिन्छु भन्नुभएको छ । उहाँहरुलाई नियुक्त गर्ने, न्याय परिषद्मा काजमा राख्ने भन्नुभयो’ पौडेलले भने, ‘ओपन सेक्रेट नै भए पनि म नाम लिन्नँ । उहाँलाई कसैलाई मुख्य न्यायाधीश बनाउनु थियो । त्यसका लागि नेपाल बारले मानिदिए कानुन, संविधानमा भाँडमा जाए, अर्थमन्त्रालयले तलब दियो, नियुक्त गर्यो । काम कहाँ लगाउने रे भन्दा काजमा राख्ने ।’
त्यसको ३ दिनपछि जबराले आफूलाई लिन गाडीमा पठाएको र त्यो बेला फकाउन खोजेको बताए । १२ जना मुख्य न्यायाधीश राख्दा थपिने ५ मध्ये ३ जना उच्च अदालतका वरिष्ठ न्यायाधीशबाट ल्याउने र बाँकी २ जनामध्ये एक आफूलाई बनाउने प्रस्ताव तत्कालीन प्रधानन्यायाधीश जबराले राखेको उनले सुनाए ।
‘श्रीमान, मैले नेपाल बारको चुनाव त्यसै जितेको छैन । निर्वाचनका दौरानमा कार्यकालभर नेपाल सरकारले अफर गर्ने कुनै नियुक्ति लिन्नँ भनेर आएको हुँ भनेको छु,’ बारका पूर्व महासचिव पौडेलले भने, ‘हजुर मलाई मुख्य न्यायाधीश बनादिनुस् भनेर मैले कसैलाई पनि भनेको छैन ।’
पौडेलले बार महासचिवको चुनाव लड्ने भएपछि न्याय परिषद्मा बुझाएको आफ्नो फाइल नै फिर्ता लिएको सुनाए ।
न्यायाधीश नियुक्तिबारे तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र आफूसँग भएको एउटा छलफलमा समावेशिता र समानुपातिक नभएको विषय उठाएको बताए । जनजातितर्फ महर्जन थर र तामाङ समुदायबाट उच्च अदालतमा न्यायाधीश नदेखेपछि आफूले समावेशी बनाउन सुझाव दिएको पौडेलले बताए । उनले अघि भने, ‘त्यसको २÷३ दिन पछाडि तपाईंले तामाङ, महर्जन भन्नुभयो को छन् ? भन्दा खोज्नुस् न, जति पनि हुनसक्छन् भनेको हुँ ।’
आफूसँग हिँड्ने गरेका कारण सञ्जीवकुमार लामाको बायोडेटा मागेपछि दिने बाहेक अरु काम नगरेको उनले बताए । आफूले भनेकै करण फुर्वा तामाङ उच्च र तारा महर्जन जिल्ला न्यायाधीश भएको पूर्व महासचिव पौडेलले बताए ।
प्रतिक्रिया 4