
२० असोज, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिकामा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउन वडाध्यक्ष आफैं डोजर लिएर पुगेका छन् ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि गजुरी गाउँपालिका वडा नं ६ का अध्यक्ष भक्तबहादुर तामाङ आफैंले डोजर चलाएर सडक खुलाएका छन् ।
डोजर चालकहरू दशैं मनाउन गाउँ गएकाले आफैं डोजर चलाउन कस्सिएको वडाध्यक्ष तामाङले अनलाइखबलाई बताए । उनले भने, ‘माथिबाट लेदो बगेर आएपछि पृथ्वी राजमार्ग अवरुद्ध भयो । डोजर अपरेटरहरू सबैजना दशैं मनाउन गएकाले म आफैं डोजर लिएर बाटो खुलाउन गएको हुँ ।’
गजुरी गाउँपालिका वडा नं ६ को जर्खेतमा पर्ने पृथ्वी राजमार्गको करिब १५ मिटर सडकखण्ड पहिरोले अवरुद्ध भएको थियो । पहिरो हटाएपछि राजमार्ग संचालन भएको वडा अध्यक्ष तामाङले बताए ।
माओवादी केन्द्रबाट वडाध्यक्ष जितेका तामाङ वडाध्यक्ष निर्वाचित हुनुअघि पनि डोजर चलाउँथे । यो डोजर वडाध्यक्ष तामाङकै हो । गजुरी गाउँपालिकाकी पूर्वउपाध्यक्ष डा. सीता ढुंगानाका अनुसार संकटमा जनप्रतिनिधि आफैं खटिएर काम गर्ने अभ्यासले नागरिकको हौसला बढ्छ ।
तस्वीर साभार : सीता ढुंगाना ।
प्रतिक्रिया 4