
२६ असोज, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकाको खरङ्गामा मामाघर आएका रुबेन थापालाई माइजूले एक गिलास चिसो पेय पदार्थ दिइन् । पोर्चुगल बसेर ३ वर्षपछि नेपाल आएका रुबेनले दशैंमा मामाघर जाँदा दही, मोही खान पाइने अपेक्षा गरेका थिए, तर उनले अपेक्षा विपरीत गाउँमा दही, मोही भन्दा धेरै चिसो पेय पदार्थ पाए ।
हेटौंडा घर भएका थापाले बजारको डेरीमा पाइने दही मोहीले नै चित्त बुझाए । उनी भन्छन, ‘पहिले पहिले मामाघर जाँदा ३–४ वटा दुहुना हुन्थे । दूध, दही, मोही त टन्न खाइन्थ्यो तर अहिले मामाघरमा मामा र माइजू मात्रै हुनुहुन्छ । मामाका छोरा छोरी सबै बजारमा बस्छन । घरमा कोही नहुँदा गाई भैंसी पाल्न छोडेछन् ।’
उनले मामाघर मात्रै नभई खरङ्गा गाउँमा पनि दूधका परिकार डेरीमा मात्रै पाउने अवस्था आएको वताए ।
गाउँका अगुवा पछिल्लो समय गाउँघरमा चिसो पेय पदार्थ मात्र नभई खाजा पनि परिवर्तन हुँदै गएको बताउँछन् । ‘गाउँघरमा पहिले, पहिले रोटी, पुवा, मकै, भटमास, दही, मोहीको खाजा हुन्थ्यो, तर अहिले चाउचाउ, चाउमिन, रेडिमेट खाजाहरु चलनमा छन्’, भीमफेदी गाउँपालिका वडा नम्बर ९ का ६८ वर्षीय रामशरण हटुवाल भन्छन् ।
गाउँघरमा चाडपर्वमा त झन कार्टुनका कार्टुन चिसो पेय पदार्थ, चाउचाउ जाने गरेको स्थानीय व्यापारीहरु बताउँछन् । त्रिभुवन राजपथमा दुई दशकदेखि किराना पसल चलाइरहेका सुदर्शन शर्मा भन्छन्, ‘पहिले पहिले सबैभन्दा धेरै बिक्री हुने भनेको चिउरा थियो । दशैं र असारमा चिउराको गोदाम नै रित्तिन्थ्यो । अहिले धेरै जाने भनेको चिसो र चाउचाउ हो । दशैंमा त एउटै परिवारलाई दुई कार्टुनसम्म चिसो बिक्री गरेको छु ।’
त्रिभुवन राजपथ अन्तर्गतकै धादिङको थाक्रे गाउँपालिकाका सुनिल लामाको पसलबाट यो दशैंमा सबैभन्दा धेरै बिकेको बियर हो । ‘गाउँघरमा अहिले चामल धेरै जसो डिलरबाट बोराका बोरा ल्याउँछन् । चिउरा त धेरै लगे १० किलो हो । अरु मसलाहरु खुद्रा पसलहरुबाट पनि बिक्री हुन्छ । अहिले घरमा पाउना आउने बित्तिकै चिसो खुवाउने चलन बढेकोले पनि बियर धेरै जान्छ । चाउचाउ पनि उस्तै जाने गरेको छ,’ लामाले भने ।
यस्तो अवस्था अहिले सबैजसो गाउँमा देखिँदै आएको छ । गाउँका साना बजारमा सबैभन्दा धेरै बिक्री हुने पदार्थमा चिसो पेय पदार्थहरु, ‘जंक फुड’हरु नै हुन । असारको रोपाईंमा होस वा मंसिरको धान भित्र्याउने अवसरमा अहिले गाउँदेखि शहरसम्म रैथाने खाजा हराउँदै गएको छ ।
‘रैथाने खानेकुरालाई गौरवका साथ हेर्नुपर्छ’
पर्यटन व्यवसायी राजन सिम्खडाले नेपालीहरुले आफ्नो खाजामा गौरव गर्न नसकेको बताए । ‘हामीले आफ्नो चिजमा गौरव नै गर्न सकेनौं, त्यसकारण विदेशीको अनुकरण नै हामीलाई ठुलो लाग्ने गरेको छ’, सिम्खडाले भने, ‘अहिले गाउँमा छ्याङको सट्टा बियर, दहि मोहीको साटो चिसो पेय पदार्थ, रैथाने खाजाको सट्टा चाउचाउ, चाउमिन, प्याकेटका खाजा प्रयोग हुन थालेको छ ।’
उनले जंक फुडले एकातिर स्वास्थ्यमा असर गरिरहने र अर्कोतिर स्थानीय उत्पादन र खानाको संस्कृति नासिँदै गएको टिप्पणी गरे । सिम्खडाका भनाइमा यो अवस्था बदल्न पहिला फुड टुरिज्ममा जोड दिनुपर्छ ।
‘विदेशी वा स्वदेशी पर्यटकहरु आउँदा मात्रै नभई घरमा पाहुना आउँदा पनि कोदोको ढिँडो, फापरको रोटीहरुलाई सम्मानको साथ पस्कनुपर्छ,’ उनी भन्छन् ।
रैथाने खानालाई हेयको दृष्टिकोण नभई संस्कारको दृष्टिकोणले हेर्दा सुधार हुन सक्ने भन्दै उनले भने ‘शिक्षा र चेतनाको पनि आवश्यकता हो । शहरदेखि गाउँसम्म हाम्रो खानाको विशेषता र यसको महत्वको बारेमा बुझाउन नसक्दा विदेशी खाना र जंक फुडले ठाउँ पाइरहेका छन् ।’
अतिप्रशोधित खानेकुराले जोखिम बढाउँदैछ : पोषणविद्
पछिल्लो समय अतिप्रशोधित खानेकुराको उपयोग बढ्दा स्वास्थ्य क्षेत्रमा पनि जोखिम बढ्दै गएको पोषणविद् केपी लम्साल बताउँछन् ।
‘अहिले रैथानै खाजाको सट्टामा अतिप्रशोधित खानेकुराको प्रयोग गर्ने विकृति बढिरहेको छ । यसले फाइदा त गर्दै गर्दैन । स्वास्थ्यको हिसाबले जोखिम पनि बढाउँछ,’ लम्साल भन्छन, ‘अहिले हाम्रा स्थानीय पेय पदार्थ मोही, दही, सर्वतको साटो कोल्ड ड्रिंक्सहरु प्रयोग भइरहेका छन् । यसले मधुमेहका रोगी बढाइरहेको छ भने पाचन प्रणालीमा गम्भीर असर पारिरहेको छ ।’
लम्सालका अनुसार अतिप्रशोधित खानेकुराको असरबारे सचेतनाको अभाव नेपाली समाजमा प्रष्ट देखिएको छ । विज्ञापनको प्रभाव शहरदेखि गाउँसम्म पुग्दा पनि अतिप्रशोधित खानेकुराहरुले रैथाने खानेकुरालाई विस्थापित गराइरहेको लम्सालले बताए ।
प्रतिक्रिया 4