+
+

माओवादीको प्रतिबद्धता : सामूहिक उद्यम गर्ने युवालाई लगानीको ५० प्रतिशतसम्म अनुदान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १६:५६

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले औद्योगिक विकास र युवालाई उद्यममा परिचालन गर्न आकर्षक घोषणा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

माओवादीले सोमबार सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा स्वदेशी र विदेशी लगानीमा उद्यम विकास, रोजगार सिर्जना, उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापनका लागि उद्यम गर्नेलाई सहुलियत र सहयोग उपलब्ध गराउने उल्लेख छ ।

सामूहिक उद्यमशीलताको विकास गर्न १० जनाभन्दा बढी युवा मिलेर उद्यम स्थापना गरे कुल लगानीको ५० प्रतिशतसम्म लगानी सहभागिता वा अनुदानको व्यवस्था, वैदेशिक रोजगारीबाट फर्केका युवाको सञ्जाल निर्माण गरी उनीहरूलाई सामूहिक तथा निजी उद्यम स्थापना गर्न उद्योग–व्यवसायलाई बिउ पूँजी, ब्याज अनुदान, बीमा प्रिमियममा छुट तथा प्राविधिक सहयोग उपलब्ध गराइने प्रतिबद्धतापत्रमा समावेश गरिएको छ ।

यस्तै उद्योग स्थापना गर्न सार्वजनिक जग्गा सहज रूपमा लिजमा उपलब्ध गराइने, ठूला औद्योगिक प्रतिष्ठान स्थापना गर्न स्थान छनोट र त्यस्ता स्थानमा आवश्यक औद्योगिक सडक, ढल निकास र विद्युत् जस्ता पूर्वाधारको व्यवस्था गर्न सरकारले सहयोग गर्ने, वार्षिक १ करोड रुपैयाँ भन्दा माथिको विद्युत् उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने, शत प्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगलाई विद्युत् महसुलमा छुट दिइने कार्यक्रम पनि प्रतिबद्धता पत्रमा पत्रमा उल्लेख छ ।

यस्तै नेपालमै बसेर विदेशी कम्पनीहरूका लागि सफ्टवेयर, प्रोग्राम, एप्लिकेसन आदि निर्माण गर्ने प्राविधिक क्षमता भएका युवा प्राविधिकहरूको सञ्जाल निर्माण गरी टेक्नोलोजी विकास र निर्यात गर्ने कार्यक्रम बनाइने पनि उल्लेख छ ।

उद्योगका लागि कच्चा पदार्थ आयातमा भन्सार सहुलियत प्रदान गरिने, नेपालमै आधुनिक कपडा उद्योग स्थापना गरिने, निजामती, सुरक्षा अङ्ग, विद्यालय, सङ्गठित संस्थाहरूमा नेपालमा उत्पादित कपडा प्रयोग गर्ने वातावरण बनाइने जस्ता लोकप्रिय नारा पनि प्रतिबद्धतापत्रमा छ ।

पहाडी क्षेत्रका सम्भाव्य स्थानहरूमा स्वदेशी तथा विदेशी लगानीमा मार्बल तथा ग्रेनाइट उद्योग स्थापना गरिने, नदीजन्य निर्माण सामग्रीहरूको उत्पादन र आपूर्तिको कार्यलाई पर्यावरणमैत्री हुनेगरी व्यवस्थित तुल्याइने, तीव्र औद्योगिक विकास तथा विस्तारका लागि ठूलो परिमाणमा स्वदेशी तथा विदेशी लगानी जुटाउन विशेष कार्यक्रम लागु गरिने कार्यक्रम पनि मोओवादीले समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?