+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले सेयरको अवैध कारोबार गरेको ठहर, कारबाही गर्ने बोर्डको निर्णय

विजय पराजुली विजय पराजुली
२०७९ पुष १ गते ११:५३

१ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका सञ्चालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गरेको छ । बोर्डको सञ्चालक समितिले न्यौपाने र प्रधान दुवैलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ ।

आफू सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेकोबारे बोर्डले गरेको अध्ययनमा न्यौपाने र प्रधान दोषी भेटिएका हुन् । दुवैले कानुन विपरीत सेयर कारोबार गरेको भन्दै बोर्डको विभागीय स्तरबाट हदैसम्मको कारवाही गर्ने सिफारिस भएपछि बोर्डको सञ्चालक समितिले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कानुन विपरीत सेयर कारोबार गरेकोबारे न्यौपाने र प्रधानले चित्तबुझ्दो स्पष्टीकरण नदिए कानुन अनुसार कारबाही हुने बोर्ड स्रोतले बतायो । ‘बजारमा मनलाग्दी गर्नेमाथि पनि बोर्डले कारबाही गर्दैन भन्ने अवस्था अब नरहने भयो,’ बोर्डका एक अधिकारीले भने, ‘कारबाही प्रक्रिया पूरा गरेर बोर्डबाट कुन हदसम्मको सजाय हुने भन्ने तय हुनेछ ।’

सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । तर, आफू सञ्चालक समिति अध्यक्ष वा सञ्चालक समिति सदस्य हुँदाहुँदै र पद छाड्नासाथ सेयर कारोबार गरेको भेटिएको बोर्डको अनुसन्धानबाट देखिएको छ ।

प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियम विपरीत श्रीमती, छोरा र छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेका थिए । रिडी पावरका अध्यक्ष रहँदा न्यौपानेले १९ चैत २०७७ देखि ४ भदौ २०७८ सम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेका थिए ।

बोर्डले न्यौपाने आफैंले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानून विपरीत बेचेको भन्दै ६ पुस २०७८मा नै कारबाही सिफारिस प्रतिवेदन बुझाएको थियो ।

धितोपत्र दर्ता निष्कासन नियमावली अनुसार ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था’ छ ।

प्रधान र न्यौपानेलाई धितोपत्र ऐनको दफा १०१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ । स्पष्टीकरण लिएपछि धितोपत्र ऐनअनुसार कानुन विपरीतको कारोबार गरेको आधारमा जरिवाना हुनेछ ।

‘त्यति मात्रै हैन, उहाँहरुले धितोपत्रको भित्री कारोबार (इन्साडर ट्रेडिङ) गरे/नगरेको विषयमा पनि बोर्डले अनुसन्धान अघि बढाएको छ, त्यसका लागि तहकिकात अधिकृत समेत तोकेर ४५ दिनभित्रै प्रतिवेदन दिन भनिएको छ,’ बोर्ड स्रोतले भन्यो, ‘सूचना चुहाएर कारोबार गरेको पुष्टि भएमा उहाँहरुलाई कैद सजायसम्म हुनसक्छ भने १० वर्षसम्म पब्लिक सञ्चालक बन्न नपाउनेसम्मको कारबाही हुन सक्छ ।’

लेखक
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?