
६ पुस, काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले बिहीबार दिउँसो १ बजे शपथ लिंदैछन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार नेपाली बाहेकका भाषामा शपथ लिन चाहनेहरुका लागि बिहीबार बिहान ११ बजेसम्म निवेदन दिन भनिएको छ ।
बुधबार बेलुकीसम्म २६ जना सांसदले निवेदन दिएका छन् । उनीहरुले सन्थालीदेखि संस्कृतसम्मका भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।
नेकपा एमालेका राज अहमद फारुकीले उर्दू, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र मीना तामाङ, सूर्यमान तामाङले तामाङ भाषामा शपथ लिन चाहेको निवेदन दिएका छन् ।
यस्तै माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबाट संयुक्त रुपमा चुनाव लडेका महिन्द्र राय यादवले हिन्दी भाषामा र उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद किरण कुमार साहले संस्कृत भाषामा शपथ लिनेछन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले नेपाली भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । ईश्वरको ठाउँमा अल्लाह राख्ने गरी उनले शपथ लिने जनाइएको छ । रास्वपाकै सांसद लक्ष्मी तिवारीले अवधि, मनिष झाले मैथली, सुमना श्रेष्ठले नेपाल भाषामा शपथ लिनेछन् ।
थारु भाषामा शपथ लिने गरी ६ जनाले निवेदन दिएका छन् । राप्रपाका अशोक कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीका तीन जना रञ्जिता श्रेष्ठ, अरुणकुमार चौधरी र गंगाराम थारुले थारू भाषामा शपथ लिने गरी निवेदन दिएका छन् । स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामा शपथ लिनेछन् ।
यस्तै जनमत पार्टीका सोनु मुर्मु सन्थाली भाषामा, जनमत पार्टीकै चन्द्रकान्त राउत, बिनिता कुमारी सिंह र अनिता देवीले मधेशी भाषामा शपथ लिने बताएका छन् । मधेशी भाषा भन्नाले मशेधमा बोलिने भाषा मध्ये जुनसुकै हुने उनीहरुको तर्क छ ।
प्रतिक्रिया 4