+
+

६ महिनामा १० वटा एक सिंगे गैंडा मरे

रासस रासस
२०७९ माघ ७ गते ६:४९

७ माघ, कावासोती । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा १० वटा एक सिङ्गे गैँडा मरेका छन् ।

चालू आवको पहिलो छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

शुक्रबार पूर्वी नवलपरासीमा तस्करले विद्युतीय धरापमा पारेर मारेका दुईसहित मरेका गैंडाको सङ्ख्या १० पुगेको हो । सूचना अधिकारी तिवारीकाअनुसार शुक्रबार पूर्वी नवलपरासीको मध्यविन्दु–२ स्थित नारायणी नदी किनारमा मृत भेटिएका दुवै गैँडा तस्करले थापेको विद्युतीय धरापमा परेर मरेका हुन् ।

मृत फेला परेका दुईमध्ये अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको हो । अर्को अन्दाजी चार वर्षको बच्चा गैंडाको भने खाग सुरक्षित रहेको तिवारीले जानकारी दिए ।

तस्करले माउ गैंडालाई थापेको धरापमा परेर बच्चा गैंडा पनि मरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको तिवारीले बताए ।

खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेपछि अनुसन्धान अगाडि बढाइएको निकुञ्ज प्रशासनले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?