+

प्रहरी भन्छ : नेपाल टी–२० लिगमा म्याच फिक्सिङकै प्रयास देखियो

२०७९ माघ  ८ गते १४:२६ २०७९ माघ ८ गते १४:२६
प्रहरी भन्छ : नेपाल टी–२० लिगमा म्याच फिक्सिङकै प्रयास देखियो

८ माघ, काठमाडौं । विवादास्पद नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ भएको पुष्टि भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ देखि २७  पुससम्म भएको लिगको सुरुवाती चरणका केही खेलमा ‘स्पट फिक्सिङ’ भएको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ ।

सीआईबीका निर्देशक उत्तमराज सुवेदी भन्छन्, ‘खेलका निश्चित गतिविधिमा केही नेपाली र भारतीय खेलाडीसँग लेनदेन गरेको अनुसन्धानबाट देखिएको छ ।’

उनका अनुसार सट्टेबाजी (बेटिङ) बाट असूली गर्ने उद्देश्यले ‘म्याच फिक्सिङ’ गराउने प्रयास भएको थियो । ‘क्रिकेटमा खेल नै फिक्सिङ गर्न गाह्रो विषय हो, यद्यपि म्याच नै फिक्सिङ गर्ने प्रयास समेत भएको देखियो’, उनले भने ।

फिक्सिङका लागि आफ्ना खेलाडीहरुलाई अफर आएको भन्दै काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको थियो । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

लगत्तै सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान थालेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार हालसम्मको अनुसन्धानले आयोजक नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्कै संलग्नतामा स्पट फिक्सिङ भएको देखिएको छ ।

‘खेलकै गतिविधिमा प्रभाव पार्ने उद्देश्य भएपनि हल्लाखल्ला भएर सम्भव भएन’, उनले भने । खेल जारी रहेकै बेला सीआईबी अनुसन्धान सुरु भएपछि कम्पनीका सञ्चालक भारतीय नागरिक जतिन अहवलालिया भागेर भारत गएका थिए ।

क्यानले ८ वर्षका लागि विवादास्पद सेभेन थ्री स्पोर्टस््लाई टी–२० लिग आयोजनाको जिम्मा दिएको थियो । यो कम्पनीको प्रबन्ध पत्रमै ‘सेट्टेबाजी गराउने र जुवा घरहरु सञ्चालन गर्ने’ उल्लेख छ । प्रतियोगिताभर खेल मैदानमा ‘वान एक्स ब्याट’को मात्रै विज्ञापन थियो । यसलाई अनलाइन पोर्टल भनिए यसको नाम सट्टेबाजीका लागि चर्चित वेवसाइट ‘वान एक्स वेट’सँग मिल्दोजुल्दो छ ।

‘वान एक्स वेट प्रतिबन्धित भएकाले वान एक्स ब्याटका नामबाट प्रचार गरिएको हो’, प्रहरी अधिकृतहरु भन्छन्, ‘सुरुवाती दिनमा वान एक्स ब्याट क्लिक गर्दा पनि वान एक्स बेटमा जाने बनाइएको थियो ।’

खेलमा सबै टिमबाट गरेर ५६ नेपाली र ३४ जना विदेशी खेलाडी सहभागी थिए । तीमध्ये चार जना विदेशी र तीन जना नेपाली खेलाडीलाई शंकाको मुख्य घेरामा प्रहरीले राखेको थियो ।

हाल आईसीसी क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिट (एसीयू) ले पनि आफ्नो रिपोर्ट प्रहरीलाई बुझाइसकेको छ । त्यसमा खेलहरुको प्राविधिक विश्लेषण गरिएको छ ।

क्रिकेट नेपाल टी-२० लिग म्याच फिक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय