+
+

रामदेव मरिकको ऋण जनप्रतिनिधिले तिरिदिने, छोरालाई पालिकामा जागिर दिने

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ माघ १४ गते १९:०७

१४ माघ, जनकपुरधाम । गत हप्ता आत्मकत्या गरेका सप्तरीका रामदेव मरिक डोमको ऋण गाउँपालिकाका जनप्रतिनिधिले तिरिदिने भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका जनप्रतिनिधिले आफ्नो तलब भत्ताबाट उनको परिवारले विभिन्न वित्तीय संस्था र व्यक्तिलाई तिर्नुुपर्ने साढे ३ लाख रुपैयाँ तिरिदिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।

छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिक १० पुसमा घर नजिकै झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले वित्तीय संस्थामा तिनुपर्ने ऋणको किस्ता तिर्न सकेका थिएनन् ।

शुक्रबार गाउँपालिकाका जनप्रतिनिधिहरुको छलफलले रामदेव परिवारको ऋण अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिको तलब भत्ताबाट तिरिदिने निर्णय गरेको हो ।

‘यस्तो दुःखद घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उनको विभिन्न वित्तीय संस्था र गाउँघरको लगाएर साढे ३ लाख रुपैयाँ ऋण रहेको हामीले थाहा पाएका छौं । हामी जनप्रतिनिधि बसेर आफ्नो तलबभत्ताबाट सबै ऋण तिरिदिने निर्णय गरका छौं’ अध्यक्ष चौधरीले अनलाइनखबरसंग भने ।

उनले एकलाख रुपैयाँ आफ्नोतर्फबाट दिने र बाँकी अरु जनप्रतिनिधिबाट संकलन गरिने बताए । रामदेवका जेठो छोरा राजकुमार मरिकलाई कार्यालय सहयोगीको जागिर दिने पनि अध्यक्ष चौधरीले बताए ।

जेठो छोरा राजकुमारको विवाहको लागि रामदेवले २०७८ मंसिरमा ग्लोबल आईएमई लघुवित्त वित्तीयबाट श्रीमती उर्मिला देवी मरिकको नाममा ९० हजार र महुली लघुवित्त वित्तीय संस्थाबाट ८५ हजार गरी रामदेवको परिवारले १ लाख ७५ हजार ऋण लिएको थियो ।

ग्लोबल आइएमई लघवित्तमा प्रत्येक महिना ५ हजार र माहुली वित्तीय संस्थाको ८ हजार ५ सय रुपैयाँ किस्ता तिरेर केही ऋण भने रामदेवले घटाइसकेका थिए । तर उनको वित्तीय संस्थामा मात्र नभई गाउँघरमा पनि धेरै ऋण रहेको पाइएको अध्यक्ष चौधरीले बताए ।

अध्यक्ष चौधरीले गाउँपालिकाभित्र काम गरिरहेका वित्तीय संस्थाका प्रतिनिधिहरुको आइतबार बैठक बोलाएका छन् । ‘हाम्रो पालिकामा गरिब विपन्न तथा दलितहरुको संख्या धेरै छ । वित्तीय संस्थाले कस्ता व्यक्तिलाई कति ऋण दिएको छ भनेर बुझ्न खोजेका छौं, कतै भोलि फेरि यस्तो अवस्था नआओस्’, उनले भने ।

दुई कठ्ठा जग्गा मात्र भएका रामदेवले ३५ वटा सुँगुरका पाठा पालेका थिए । हुर्केपछि बेच्ने योजना बनाइरहेका सुँगुर गत जेठमा मरेपछि रामदेव ऋण तिर्न नसक्ने अवस्थामा पुगेका थिए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?