
१७ माघ, काठमाडौं । प्रदेश नम्बर १ लाई नेपालकै आकर्षक पर्यटकीय गन्तव्य बनाउने विषयमा ‘डेस्टिनेसन मार्केटिङ कन्क्लेभ–२०२३’ आयोजना गरिएको छ । कार्यक्रम प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपालले आयोजना गरेको हो । २७–३० जनवरीसम्म चलेको यस्तो कार्यक्रम प्रदेश नम्बर १ मा पहिलो पटक आयोजना भएको पाटा नेपालले जनाएको छ ।
आन्तरिक र सीमापार पर्यटन सबलीकरणको नाराका साथ भएको कन्क्लेभमा नेपाल, भारत, बंगलादेश र अमेरिकाका पर्यटन गन्तव्यका विज्ञ, पर्यटन उद्योगका विज्ञ, टुट अपरेटरसमेत २ सयभन्दा बढी सहभागी भएको पाटाले बताएको छ ।
चार दिने कार्यक्रममा भेडेटार, धनकुटा, धरान, बराहक्षेत्रको स्थलगत गन्तव्य अवलोकन भ्रमण तथा पर्यटकीय गतिविधि आयोजना गरिएको थियो । ३० जनवरीमा मोरङमा कन्क्लेभ सम्पन्न भएको छ । यस दौरान सहभागीले सामुदायिक पर्यटन अनुभव, अन्तरक्रियात्मक भेटवार्ता गरेका थिए ।
कन्क्लेभको औपचाारिक उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले गरेका हुन् । कार्कीले यस खालका कार्यक्रम प्रदेश १ लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न कोषेढुंगा सावित हुने बताए । कार्यक्रममा आएका विषयलाई प्रदेश सरकारले स्वामित्व लिने र आगामी बजेटमा विज्ञका सल्लाहलाई समेटेर लैजाने उनले बताए ।
पाटा नेपालका अध्यक्ष विभुतीचन्द ठकुरीले पाटा पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनमा प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4