२२ फागुन, काठमाडौं । यूएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृखंलामा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन ।
यूएईसँग दुबई इन्टरनेशनल मैदानमा उत्रँदा नेपालको लक्ष्य लिग टु मा यूएईलाई पहिलो पटक पराजित गर्नु हुनेछ ।
शृखंलाको अघिल्लो खेलमा नेपालले यूएईलाई २०७ रनमा रोके पनि पूरै ओभर ब्याटिङ गर्न नसक्दा ६८ रनले पराजित भएको थियो ।
आजको खेलका लागि लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि पनि महत्वपूर्ण छ ।
लिग टु को शीर्ष तीनमा रहने टिमले जिम्बावेमा हुने १० टिम सम्मिलित विश्वकप क्वालिफायर खेल्न पाउनेछ । स्कटल्याण्ड र ओमानले शीर्ष दुईमा रहेर विश्वकप छनोटमा स्थान पक्का गरिसकेको छ । तेस्रो हुनका लागि नेपाल र यूएईसहित नामिबिया होडमा छन् ।
३६ खेल खेलिसकेको नामिबिया ३९ अंकसहित हाल तेस्रो स्थानमा छ र नेपालले नामिबियालाई पछि पार्न बाँकी रहेका पाँचै खेल जित्नुपर्नेछ ।
यदि नेपालले आज यूएईलाई पराजित गरेमा नेपालको त्यो सम्भावना कायम रहनेछ । पराजित भएमा भने नेपालको शीर्ष तीनको सम्भावना सकिनेछ र शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउनेमा ध्यान केन्द्रित हुनेछ । नेपालले बाँकी तीन खेल जिते पनि शीर्ष पाँचमा स्थान पक्का हुनेछ ।
यूएईका लागि पनि नामिबालाई पछि पार्दै तेस्रो स्थानमा पुग्न नेपालविरुद्ध खेल जित्नै पर्ने अवस्था छ ।
घरेलु मैदानमा भइरहेको शृखंलाको दुवै खेलमा पपुवा न्युगिनीविरुद्ध पराजित भएपछि यूएईमाथि पनि दबाब बढेको छ ।
यूएई ३१ खेलबाट ३१ अंकसहित पाँचौ स्थानमा छ । समान खेलबाट नेपाल ३० अंकसहित छैटौं स्थानमा छ । ३६ खेल खेलिसकेको अमेरिका ३५ अंकसहित चौथो स्थानमा छ ।
शृखंलाको अघिल्लो खेलमा यूएईलाई नेपाललाई हराएर नेपालको लागातार पाँच खेलको जित यात्रालाई समेत ब्रेक लागएको थियो । त्यसैले पनि नेपाल यूएईविरुद्ध जितसहित बदला लिने लक्ष्यमा छ ।
पपुवा न्युगिनीविरुद्ध आइतबार भएको खेलमा जम्मा ९७ रनमा अलआउट हुँदै पाँच विकेटले पराजित भएको यूएई पनि नेपालविरुद्ध पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।
नेपालले पछिल्लो पटक गत नोभेम्बरमा नेपालमै भएको ओडीआई सिरिजमा यूएईलाई पराजित गरेको थियो । तीन खेलको ओडीआई शृखंला नेपालले २-१ ले जितेको थियो ।
यूएईविरुद्धको खेलमा कुशल भुर्तेल खेल्ने छैनन् । ग्रोइन इन्जुरीका कारण उनी टिमबाट बाहिरिएका छन् । उनको स्थानको अन्तिम १४ टोलीमा सन्दिप जोरा समावेश छन् । कुशल भुर्तेल नहुँदा आसिफ शेखको ओपनिङ जोडीमा नयाँ खेलाडी आउनेछन् । यसअघि ओपनिङ गरिसकेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्न सक्नेछन् । वा प्रशिक्षक मोन्टी देसाइले अर्को विकल्प समेत खोज्न सक्नेछन् ।
यस्तै पहिलो खेलमा उपलब्ध नभएका लेग स्पीनर सन्दीप लामिछानेले त्यसपछिका दुवै खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । यसअघि यूएईविरुद्धको खेल उनले खेलेका थिए ।
उता यूएईका टिममा यू-१९ टिमका कप्तान आयान खान फर्किएका छन् ।
नेपाल-यूएईको हेड टु हेड
खेल : १०
नेपाल विजयी : ४
यूएई विजयी : ६
नेपाल युएई खेलको नतिजा
एसिया कप छनोट २०१८ अगस्ट : यूएई ७८ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : यूएई ३ विकेटले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल १४५ रनले विजयी
नेपाल टुर टु यूएई २०१९ जनवरी : नेपाल ४ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ४८ रनले विजयी
क्रिकेट विश्वकप लिग टु २०२२ मार्च : यूएई ९९ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : यूएई ८४ रनले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ३ विकेटले विजयी
यूएई टुर टु नेपाल २०२२ नोभेम्बर : नेपाल ६ विकेटले विजयी
क्रिकेट विश्वकप लिग टु २०२३ मार्च : नेपाल ६८ रनले पराजित
प्रतिक्रिया 4