+

एक महिनामा फेरियो नेपाल क्रिकेट

२०७९ फागुन  २८ गते २१:१० २०७९ फागुन २८ गते २१:१०
एक महिनामा फेरियो नेपाल क्रिकेट

२८ फागुन, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार युएईमाथि १७७ रनको कीर्तिमानी जितसँगै नेपालले अर्को चार वर्षका लागि एकदिवशीय मान्यता सुरक्षित गरेको छ । पछिल्लो १० खेलमा नवौं जितपछि नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको शीर्ष पाँचभित्र रहने निश्चित भएको छ ।

सात टिम सम्मिलित लिग टू शृंखलामा बाँकी दुई खेल जिते नेपालले एकदिवशीय विश्वकपको ग्लोबल क्वालिफायर खेल्नेछ । यो प्रतियोगिता आउने जुलाइमा जिम्बाब्बेमा हुनेछ । एकदिवशीय विश्वकप आउने अक्टोबर–नोभेम्बरमा भारतमा हुनेछ ।

२ फागुनमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच त्रिकोणात्मक शृंखला सुरु हुनुअघिसम्म नेपाली क्रिकेटमा आशलाग्दो केही पनि थिएन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निर्धारण गरेको एकदिवशीय मान्यता प्राप्त सात देशबीच तीन वर्ष लामो शृंखलामा नेपाल कमजोर अवस्थामा पुगिसकेको थियो ।

लिग टू शृंखलाका क्रममा नेपालले पाँचजना प्रशिक्षकको परीक्षण गरेको थियो, कोरोना महामारीले नियमित शृंखलाहरु धकेलिएका थिए, तीनजना कप्तान फेरिएका थिए, टिमभित्रको वातावरण खलबलिएको थियो, टिम एकता बिग्रिएको थियो, कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल पुगेका थिए र नेपालले जित्न बिर्सिएको थियो । २ फागुनअघि नेपालले लिग टूमा पछिल्लो १० मध्ये २ खेलमात्र जितेको थियो । पछिल्लो शृंखलामा जितविहीन थियो ।

मनोज प्रभाकरले ४ महिनामै राजीनामा दिएपछि २३ माघमा नेपाली टिमको प्रशिक्षण जिम्मेवारी पाउनु १० दिनअघिदेखि नै मोन्टी देशाईले नेपालको प्रशिक्षण सम्हालेका थिए । जम्माजम्मी दुई साताको तयारीपछि नेपाल ३२ दिनमा १२ एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने गरी मैदानमा फर्कियो । तीमध्ये १० खेल खेल्दा नेपालले ९ जित निकाल्दै अविश्वसनीय रुपमा एकदिवशीय मान्यता जोगाउन सक्यो ।

नेपालले २–९ फागुनमा घरेलु भूमिमा लिग टू च्याम्पियन स्कटल्याण्ड र नामिबियामाथि क्लीनस्वीप जित निकाल्यो । १५–२२ फागुनमा दुबईमा युएई र पपुवा न्युगिनीविरुद्ध चारमध्ये ३ खेल जित्यो । २५ फागुनदेखि फेरि कीर्तिपुर मैदानमा पपुवा न्युगिनी र युएईमाथि जित निकाल्दै एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सक्यो । नेपालले लिग टूमा अब दुई खेल खेल्न बाँकी छ । भोलि (सोमबार) पपुवा न्युगिनी र विहीबार युएईलाई हराउन सके नेपाल लामो शृंखलामा शीर्ष तीनमा रहनेछ ।

अघिल्लो महिना नेपाली टिमको जिम्मा पाउँदा भारतीय नागरिक प्रशिक्षक मोन्टी देशाईलाई एकदिवशीय मान्यता जोगाउने ‘टास्क’ दिइएको थियो । एकदिवशीय मान्यता जोगिँदा राष्ट्रिय टिमलाई व्यस्त राख्न तथा घरेलु क्रिकेट गतिविधिका लागि आर्थिक संकट नहुने तथ्यबारे क्यान पूर्णतः जानकार थियो नै । त्यसैले त गम्भीर फौजदारी अभियोग लागेका टिमका पूर्वकप्तानलाई राष्ट्रिय टिममा समावेश गर्ने निर्णयको व्यापक विरोध भएपछि अध्यक्ष चतुरबहादुर चन्दले एकदिवशीय मान्यताका लागि यसो गर्नुपरेको तर्क गरेका थिए ।

सन्दीपको पुनरागमनले नेपाल टिमको प्रशिक्षणमा प्रभाव पारेको सत्य हो । यो एक महिनाको बीचमा नेपालले खेलेको १० मध्ये ९ खेलमा बलिङ गरेका सन्दीपले २४ विकेट लिएका छन् । ब्याटिङबाट पनि महत्वपूर्ण समयमा योगदान दिएका छन् ।

फरक फरक खेलमा फरक फरक खेलाडीले निर्णायक प्रदर्शनबाट नेपालले लगातार जित निकालिरहेको छ । यसबीचमा कुशल भुर्तेल र आसिफ शेखले फरक खेलमा शतकीय पारी खेलेका छन् । रोहितकुमार पौडेल, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङमा निर्णायक योगदान गरेका छन् ।

बलिङमा सन्दीपसँगै करण केसी, दीपेन्द्र, कुशल मल्ल, ललितनारायण राजवंशीको ठोस भूमिका छ । आइतबार युएईलाई ७१ रनमा अलआउट गर्न ललित राजवंशीले ५ विकेट लिए । ७.५ ओभरमा २ मेडन राख्दै २० रन खर्चेर लिएको ५ विकेट उनको करिअरकै उत्कृष्ट प्रदर्शन हो ।

अघिल्लो एकदिवशीय मान्यता कायम राख्न नेपाललाई लिग २ का अन्तिम १२ खेलमा कम्तीमा ९ जित आवश्यक थियो । धेरैले यसलाई असम्भवजस्तै मानेका थिए । पछिल्लो लयलाई हेरेरै उनीहरुको अनुमान थियो । जित्न बिर्सेको नेपालको प्रदर्शन कसरी ३६० डिग्रीमा परिवर्तन भयो त ?

खेलाडीहरु यसको मुख्य श्रेय प्रशिक्षक मोन्टी देशाईलाई दिन्छन् । प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्नु धेरै वर्ष अघिदेखि मोन्टी नेपाल क्रिकेटसँग परिचित छन् । सन् २०१४ मा नेपालले टी–२० विश्वकप खेल्दा होस् या सन् २०१६ मा यू–१९ टिमले विश्वकप खेल्दा र त्यसपछि पनि विभिन्न कालखण्डमा मोन्टीले नेपाल क्रिकेटका लागि सल्लाहकारको भूमिका निभाएका छन् । नेपाली टिममा प्रत्यक्ष संग्लग्न भएसँगै उनले अपनाएको ‘ह्याप्पी ड्रेसिङ रुम’कै प्रभाव पछिल्लो समय नेपाल क्रिकेटको सफलतासँग जोडिएको भन्न सकिन्छ ।

‘मोन्टी सर आएदेखि सबै कुरा सजिलो भएको छ । टिमको वातावरणदेखि सबै कुरा उहाँले सम्हाल्नुभएको छ । सरले सबैकुरामा स्वतन्त्र छाडिदिनुभएको छ । कसैलाई दबाव दिनुभएको छैन । आफ्नो खेल खेल भनेर छाडिदिनुभएको छ’, कप्तान रोहितले आइतबारको खेलपछि भनेका छन्, ‘सँगसँगै खेलाडीहरुले पनि आवश्यक समयमा राम्रो योगदान गरे । विशेष गरी आसिफ, कुशल, सन्दीपले र अरु सबै जनाले आफ्नो जिम्मेवारी निभाइरहेका छन् ।’

वेष्ट इण्डिजको व्याटिङ प्रशिक्षकको कार्यकाल पूरा गरी काठमाडौं आएका मोन्टी देशाई नेपालको लगातार सफलताबाट दंग छन् । सफलताको श्रेय क्यानलाई दिँदै उनले यी जितहरुले आफूलाई लामो समयका लागि योजना बनाउन सहज भएको प्रतिक्रिया दिए ।

‘म यो अनजान गन्तव्यको जिम्मेवारी लिँदै गर्दा निकै उत्साहित थिएँ । केही खेलाडी त पहिलेदेखि नै चिन्थें । फेरि उनीहरुसँग काम गर्न उत्सुक पनि थिएँ । टिमको रुपमा मैले पहिले पनि भन्दै गरेको कुरा हो– ‘ह्याप्पी ड्रेसिङ रुम’ । यो कुरा २८ जनवरीबाट आजसम्म निकै राम्रो रह्यो’, आइतबारको विजयपछि प्रशिक्षक देशाईले भने ।

उनी सबैकुरा ठीक समयमा भएकाले नतिजा सकारात्मक आएको मान्छन् । खेलाडीले व्यक्तिगतभन्दा टिमको हितका लागि काम गर्नु नै जितको आधार भएको उनले प्रष्ट्याए ।

‘सबैलाई एक तरिकाले सबै कुराको लागि तयार गर्नुु नै मुख्य भूमिका हो ता कि चाहिएको बेलामा उनीहरुको क्षमता सही ठाउँमा प्रयोग गर्न सकुँ’, पत्रकार सम्मेलनमा मोन्टीले थपे, ‘टिममा यस्तो पनि वातावरण बनेको छ कि, सबै जनाले चुनौती लिएर खेल्न सक्ने क्षमता बढाएका छन् । नतिजा नआएको बेलामा पनि म उनीहरुले गरेको मेहनतको कदर गर्छु ।’

नेपालले एउटा ठोष लक्ष्य आइतबार पूरा गरेको छ । तर, खेल अझै बाँकी छ । बाँकी दुई खेल जित्न सके नेपालले भारतमा हुने विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायर खेल्नेछ । लिग टूमा स्कटल्याण्ड यसअघि नै च्याम्पियन भइसकेको छ भने ओमान दोस्रो हुने निश्चित भइसकेको छ । नेपाल र नामिबियाबीच तेस्रो हुने प्रतिस्पर्धा छ । लिगमा तेस्रो हुन नेपालले बाँकी दुवै खेल जित्नैपर्छ । त्यसो हुन नसके नामिबियाले त्यो स्थान लिनेछ ।

युएई र पपुवा न्युगिनी लिग टूमा अन्तिम दुई स्थानमा रहने निश्चित भइसकेको छ । उनीहरुलाई एकदिवशीय मान्यता जोगाउने अर्को एक अन्तिम अवसर रहनेछ ।

लिग टूका शीर्ष तीन टिमले जिम्बाब्बेमा आउने जुलाईमा हुने एकदिवशीय विश्वकप क्वालिफायरमा स्थान बनाउनेछन् भने पुछारका चार टिमले यही मार्च अन्तिममा नामिबियामा हुने ग्लोबल क्वालिफायर प्लेअफ खेल्नेछन् । उनीहरुले च्यालेन्ज लिग जितेर आएका क्यानडा र जर्सी सम्मिलित ६ टोलीबीच हुने प्रतियोगिता खेल्नेछन् ।

लिग टूबाट युएई, अमेरिका र पपुवा न्युगिनीले क्वालिफायर प्लेअफ खेल्ने निश्चित भइसकेको छ । चौथो टोली नामिबिया र नेपालमध्ये एक हुनेछ । जुन नेपालको आगामी दुई खेलले निर्धारण गर्नेछ । कप्तान रोहितले अबको लक्ष्य शीर्ष तीन हुने बताइसकेका छन् ।

नेपालले पछिल्लो तीन शृंखला खेल्ने तयारी गरिरहँदा हरेक खेल फाइनलसरह मानेको थियो । प्रशिक्षक मोन्टीले हरेक खेलका लागि छुट्टाछुट्टै तयारी गरेका थिए । बाँकी दुई खेलमा कस्तो अपेक्षा गर्ने ? मोन्टी भन्छन्, ‘हामीले अहिले भोलि (सोमबार)को खेलमा मात्र फोकस गरिरहेका छौं ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

नेपाल क्रिकेट लिग टु
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय