+
+

रास्वपाले तोक्यो उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १४:१३
कविन्द्र बुर्लाकोटी, डीपी अर्याल र गणेश कार्की ।

११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि निर्वाचन परिचालन संयोजक तोकेको छ ।

वैशाख १० मा हुने तीन क्षेत्रको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरुलाई क्षेत्रको निर्वाचनमा संयोजनको जिम्मेवारी दिइएको छ ।

उपसभापति डोलप्रसाद अर्याललाई चितवन–२, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई तनहुँ–१ र केन्द्रीय सदस्य गणेश कार्कीलाई बारा–२ मा तोकिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

चितवन–२ मा सभापति रवि लामिछाने नै उम्मेदवार हुनेछन् । अन्य दुई क्षेत्रको उम्मेदवार चयन भने भइसकेको छैन । आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा गराएर उम्मेदवार चयन गरिने रास्वपाले जानकारी गराएको छ ।

बारा–२ मा उम्मेदवारी चयन तथा अन्य तयारीका लागि सांसद मनिष झा समेत खटिने भएका छन् । बारा–२ मा हुने उपनिर्वाचनमा पार्टीको आन्तरिक तयारीका लागि आइतबार क्षेत्रमा सांसद झा जान लागेको केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

उक्त क्षेत्रबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त रहेको छ । कांग्रेस, माओवादी लगायतका सत्ताधारी दलले यस क्षेत्रमा जनता समाजवादी पार्टीलाई सघाउने संकेत गरेका छन् ।

तनहुँ १ मा निर्वाचन तयारी गर्नका लागि रास्वपाका सहमहामन्त्री क्षेत्रमा खटिइसकेका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि त्यहाँ पुन निर्वाचन हुन लागेको छ । कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने चर्चा छ । कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार सोमबार तय गर्ने निर्णय गरेको छ ।

तनहुँ १ मा रास्वपाबाट मंसिरमा पराजित विकास सिग्देल, नमस्तेलाल भूमि श्रेष्ठ लगायत आकांक्षी छन् । बन्दिपुरका श्रेष्ठ सामाजिक कार्यमा क्रियाशील व्यक्ति हुन् ।

‘आकांक्षीहरु विचमा प्रतिस्पर्धा गरिन्छ । १६ गतेसम्म पार्टीभित्र उम्मेदवारी दर्ता गर्ने समय छ,’ गण्डकी प्रदेशका रास्वपा इन्चार्ज झबिलाल डुम्रेले भने, ‘अनलाइन मार्फत भएको भोटिङमा जसले बढी मत ल्याउनहुन्छ, उहाँ नै उम्मेदवार हुनुहुन्छ ।’

१९ गते साँझ ७ बजे उम्मेदवार निश्चित हुने डुम्रेले जानकारी दिए । आकांक्षी उम्मेवार छान्नका लागि क्षेत्रका क्रियाशील पार्टी सदस्यले मत दिन पाउने छन् । रास्वपाले उपनिर्वाचन हुने क्षेत्रमा तालमेल नगर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?