+

आयुर्वेदिक उपचारबाट निको हुन्छ एनल फिसर ?

२०७९ चैत  १२ गते १४:३९ २०७९ चैत १२ गते १४:३९
आयुर्वेदिक उपचारबाट निको हुन्छ एनल फिसर ?

मलद्वारसँग सम्बन्धित रोग एनल फिसरको लक्षण पायल्ससँग मिल्दोजुल्दो हुन्छ । फिसर भएपछि मलद्वार वरपरको स–सानो तन्तु च्यातिने वा चिरिन सक्छ, जसकारण दिसा गर्ने क्रममा दुख्ने मात्र नभई त्यो दुखाइ घन्टौंसम्म पनि रहन सक्छ । साह्रो दिसा आउने, मलद्वार वरपर चिलाउने, रगत बग्ने, छालामा गाँठो आउने जस्ता समस्या एनल फिसरमा देखिन्छ ।

ऐनल फिसर हुनुको मुख्य कारण कब्जियत नै हो । अस्तव्यस्त जीवनशैली, लामो समय शौचालयमा बसेर दिसा गर्न बल गर्दा पनि विस्तारै यो समस्या देखिन सक्छ । त्यस्तै, मसालेदार खानेकुरा, अदुवा मरिच, मासु र मैदाजन्य जस्ता खानेकुरा बढी खानु, प्रशोधित र जंकफुड, पर्याप्त पानी नपिउने, सुख्खा परिकार खाने र मदिरा पिउने बानी पनि यसको प्रमुख कारक हुन् ।

शारीरिक व्यायाम कम गर्ने व्यक्ति र गर्भावस्थामा फिसर हुने सम्भावना बढी हुन्छ । फिसरको समस्याको सही समयमा उपचार भएन भने जटिलता झनै बढ्न सक्छ ।

उपचार

सबैभन्दा पहिले फिसरको कारण पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ । खानपिनमा परिवर्तन गर्न लगाउने, झोलिलो र फाइबरयुक्त खानेकुरा बढी खाने, दिसा गर्न सजिलो बनाउने औषधि दिने गरिन्छ । फिसर सामान्यतया औषधिबाट नै निको हुन्छ तर बिना परीक्षण र पहिचान  जथाभावी औषधि खान भने हुँदैन ।

आयुर्वेदमा बिरामीको अवस्था अनुसार त्रिफला गुग्गुल, सप्तविम्शति गुग्गुल, आरोग्यवर्धिनी वटी, चित्रकादी वटी, अभयरिस्ट, त्रिफलाचूर्ण, पञ्चसकर चूर्ण, हरिताकी चूर्ण लगायत औषधि प्रयोग गरिन्छ ।

लामो समय क्रोनिक वा पुरानो फिसर, मासु पलाएको अवस्था, पिप बग्ने, संक्रमण भइसकेको अवस्थामा भने औषधिले काम गर्न सक्दैन । त्यसका लागि आयुर्वेदिक चिकित्सकद्वारा शल्यक्रिया गरेर निको हुन्छ ।

सामान्य अवस्थामा रहेको फिसर औषधिको प्रयोगपछि एक सातासम्म निको हुन्छ । त्यस्तै, शल्यक्रियापछि भने १० देखि १५ दिनको अवधिमा निको हुन्छ ।

क्षारसूत्र विधि

क्षारसूत्र धागोको माध्यमबाट उपचार गर्ने विधि हो । यसमा मलद्वार साँघुरो भएपछि त्यसलाई खुलाउन धागोको प्रयोग गरेर उपचार गरिन्छ । यसबाट फिसर, पायल्सबाहेक पुरानो घाउमा पनि यो विधि प्रयोग गरिन्छ ।

एनल फिसरबाट कसरी बच्ने ?

एनल फिसरको मूल कारण कब्जियत हो । तसर्थ, यसबाट बच्न हामीले आफ्नो खानपानमा केही परिवर्तन गर्नुपर्छ, जसकारण पेट सफा रहोस् र कब्जियत नहोस् ।

कब्जियत हुन नदिन फलफूल, सलाद र तरकारीको नियमित सेवन गर्ने, प्रशस्त पानी र तरल पदार्थ पिउने, हल्का व्यायाम, सरसफाइमा ध्यान दिने, शारीरिक परिश्रम, बिहानको हिंड्ने गर्नुपर्छ ।

मोही, दहीको नियमित सेवन गर्ने र अत्यधिक खुर्सानी, मसलेदार खानेकुरा, जंकफुड कम खाँदा एनल फिसरबाट जोखिन सकिन्छ । दिसा आएपछि तुरुन्त नजाने वा गएपछि दिसा गर्न धेरै बल गर्दा मलद्वारको नलीमा दबाब पर्न सक्छ । यस्तोमा दिसा गर्न असहज भइरहेको छ भने परीक्षण गर्नुपर्छ ।

(डा. भण्डारीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

आयुर्वेदिक उपचार
डा. अमृत भण्डारी
लेखक
डा. अमृत भण्डारी
आयुर्वेदिक चिकित्सक

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिल दर्ता नम्बर : ४९८ अध्ययन : बीएमएमसी (आईओएम) हाल काठमाडौं गोंगबुस्थित सहारा आयुर्वेद एण्ड थेरापी सेन्टर प्रालिमा निर्देशकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय