+

टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

२०७९ चैत  १२ गते १६:३९ २०७९ चैत १२ गते १६:३९
टेस्टट्युबबाट बच्चा जन्माउन कति खर्च लाग्छ ?

‘टेस्टट्युब बेबी’ को कुरा अहिले त्यति नयाँ त होइन । यद्यपि यसबारे अझैपनि धेरैलाई प्रष्ट जानकारी छैन ।

खासमा टेस्टट्युब बेबी उनीहरुका लागि बरदान हो, जुन दम्पतीले प्राकृतिक रुपमा सन्तान जन्माउन सकेका छैनन् । निःसन्तान दम्पतीले बच्चा जन्माउनका लागि अपनाउन सक्ने पछिल्लो प्रविधि हो यो ।

यो त भयो, आधारभूत जानकारी । तर यसलाई अझ मिहिन रुपमा पनि बुझ्नुपर्ने हुन्छ । टेस्टट्युबबाट कसरी बच्चा जन्माइन्छ ? यसको विधि एवं प्रक्रिया के हो ?

यसरी जन्माइन्छ टेस्टट्युब बेबी

सामान्य अवस्थामा दम्पतीको शारीरिक सम्बन्धपछि पुरुषको शुक्रकीट महिलाको डिम्बमा निषेचन भएर पाठेघरमा गर्भको विकास हुन्छ ।

यसैगरी टेस्टट्युब बेबी जन्माउँदा बाबुको शुक्रकीट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर निषेचन (फर्टिलाइज) गरिन्छ । यसरी निषेचन गर्दा बाबुको शुक्रकीट र आमाको डिम्ब भने मेल हुन जरुरी छ । शुक्रकीट र डिम्बलाई कुनै ल्याबमा निषेचन गराइसकेपछि पुनः आमाको पाठेघरमा राखिन्छ । अतः गर्भ पाठेघरमा नै हुर्काएर जन्माइन्छ ।

यस्तो प्रक्रियालाई अंग्रेजीमा ‘इन भिट्रो फर्टिलाइजेसन’ भनिन्छ । आमाको डिम्ब र बाबुको शुक्रकीटलाई ल्याबमा निकालिने भएकाले यसलाई टेस्टट्युब बेबी वा ‘आईभीएफ’ भनिएको हो ।

प्रसूति विधि कस्तो हुन्छ ?

विभिन्न समस्या भएका कारण नै टेस्टट्युब विधिलाई अपनाउने गरिन्छ । त्यसैले सामान्य अवस्थामा भन्दा टेस्टट्युब बेबी विधिबाट प्रसूति गराउँदा बढी हेरचाह गरिन्छ नै । यो विधिमा सामान्यतया सिजरियनबाटै प्रसूति गराइने भएपनि स्वास्थ्यमा खास समस्या छैन भने नर्मल डेलिभरी पनि गराउन सकिन्छ ।

एकभन्दा बढी बच्चा जन्मिने सम्भावना

सामान्य गर्भधारणभन्दा भने यो फरक हुन्छ । सामान्य गर्भधारण हुँदा एक वा दुईवटा अण्डाबाट हुन्छ । टेस्टट्युब बच्चाको लागि विभिन्न हार्मोन दिएर थुप्रै अण्डा बनाइन्छ र दुईभन्दा बढी अण्डालाई फर्टिलाइज गरिन्छ । एउटा मात्र गर्दा फर्टिलाइज नहुन सक्ने पनि भयो । त्यसैले टेस्टट्युब विधिमा दुई–तीन जना बच्चा जन्मिएको हामीले सुन्छौं ।

कति सजिलो ?

आईभीएफ सामान्यतया धेरै उमेर भएका महिला तथा पुरुषमा गरिन्छ । जसमा दुवैतिरको अण्डानलीहरू बन्द भएको वा अण्डाको स्टोर एकदमै कम भएको हुन्छ । जति औषधि दिंदा पनि अण्डा बनाउन सकिएन भने आईभीएफ गर्नुपर्छ । पुरुषमा शुक्रकीट एकदमै कम भएको अवस्था वा सामान्य भएपनि फर्टिलाइज नभएको अवस्थामा आईभीएफ गर्नुपर्छ ।
तीन चार पटकसम्म बच्चा बस्ने तर गर्भ खेर जाने भयो भने पनि आईभीएफ गर्नुपर्छ । पाठेघरको बनावट राम्रो छैन भने पनि गर्नुपर्छ । आमामा मधुमेह उच्च रक्तचाप अनियन्त्रित अवस्थामा छ भने चाहिं आईभीएफ नगर्नु राम्रो हुन्छ । आईभीएफ गर्दा हार्मोन दिइने हुँदा त्यसले झनै मधुमेह र उच्च रक्तचाप बढ्न सक्छ ।

टेस्टट्युब बेबी सबैखाले निःसन्तान दम्पतीको लागि आवश्यक पर्दैन । पहिले त हामी के कारण उहाँहरूको बच्चा भइरहेको छैन ? त्यो हेर्नुपर्छ । नली बिग्रिएको छ, अण्डाशयमा अण्डा बनेन, बने पनि बढेन, पाठेघरको नली बन्द भयो, श्रीमानकै वीर्य पुगेन वा विभिन्न रोगको कारण झिल्ली पातलो भएमा टेस्टट्युब बेबी एउटा राम्रो उपाय हुन सक्छ ।

विभिन्न कारणले सन्तान भइरहेको छैन । सन्तान प्राप्तिको लागि आमाबुबा टेस्ट ट्युब विधि अपनाउन तयार हुनुपर्‍यो । डाक्टरको सल्लाहअनुसार औषधिको सेवन र फलोअप गर्नुपर्छ । यो विधि अपनाउन आमाको पाठेघर स्वस्थ हुनुपर्छ ।

कति खर्च ?

नेपालमा टेस्टट्युब बच्चा जन्माउन तीनदेखि पाँच लाख खर्च लाग्छ । टेस्टट्युबको लागि विभिन्न औषधिको प्रयोग गर्नुपर्ने भएकाले त्यही अनुरूप खर्च घटबढ हुन सक्छ ।

टेस्टट्युबबाट बच्चा नजन्मिने अवस्था पनि हुन्छ ?

आमाको पाठेघरको परत एकदमै पातलो छ र औषधि दिंदा पनि परत बाक्लो हुन सकेन भने बच्चा नबस्ने सम्भावना हुन्छ । यस्तै आमाको स्वास्थ्य अवस्था खराब छ, मधुमेह र उच्च रक्तचाप नियन्त्रणभन्दा बाहिर छ भने पनि टेस्टट्युबबाट बच्चा नबस्ने हुन सक्छ ।

साथै पाठेघर एकदमै साँघुरो हुँदा पनि बच्चा बस्न नसक्ने अवस्था हुन्छ । तर अहिले टेस्टट्युब विधिमा नयाँ नयाँ प्रविधि भित्रिएको छ । पाठेघरमा खराबी छ भने त्यसको उपचार गरेर पनि यो विधि अपनाउन थालिएको छ ।

टेस्टट्युब डा. रुपा झा
लेखक
डा. रुपा झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय