+
+

टेलिकमको सेवा समस्याग्रस्त, नेतृत्वलाई उन्मुक्ति

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ चैत १२ गते २२:५७

१२ चैत, काठमाडौं । ‘दूरसञ्चार सेवा अवरुद्ध भएको जस्तो विषयमा टेलिकमको उच्च व्यवस्थापन तह त्यति जिम्मेवार र संवेदनशील देखिएन’— सरकारी स्वामित्वको नेपाल टेलिकमको सेवा ३ माघमा करिब ३ घण्टा अवरुद्ध भएको बारे छानबिन गर्न बनेको समितिले बुझाएको प्रतिवेदनमा उल्लिखित वाक्य हो, यो ।

सञ्चार मन्त्रालयका सहसचिव गौरब गिरीको नेतृत्वमा बनेको समितिले दिएको प्रतिवेदनको सुझाव खण्डमा भनिएको छ— ‘यस्तो बेलाबखत भइरहेको भनी घटनालाई सामान्यीकरण गर्ने जस्तो देखिएकाले संस्थानको उच्च व्यवस्थापन जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने ।’

तर, प्रतिवेदनको सुझाव कार्यान्वयनमा गएन, बरु नेपाल टेलिकमको सेवामा समस्या झन् बढ्दै गए । तर, न टेलिकमको व्यवस्थापन सुध्रियो न त सुधार नगर्नेमाथि कारबाही गर्न नियामक निकाय अघि सर्‍यो ।

बेलाबेला नेटवर्क नै हराएर फोन नलाग्ने, लागे पनि कुरा नबुझिने, बीचमै सम्पर्क विच्छेद हुने, विना कारण ब्यालेन्स काटिने, पोस्पेड फोन वान–वे हुने लगायत समस्या माघ लागेयता बारम्बार आइरहेका छन् ।

अझ फोरजी परियोजनाको काम नै नसकिंदै ‘भोइस ओभर एलटीई’ (भोल्टे) मा समेत समस्या देखिन थालेको छ । ३ माघयता सेवामा समस्या चर्किन थालेको थियो ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले शपथ लिने दिन करिब ३ घण्टा अवरुद्ध भएको टेलिकमको सेवा त्यसयता समस्याग्रस्त बन्दै गएको छ । २ करोड २१ लाख टेलिफोन र इन्टरनेट सेवाग्राही रहेको टेलिकमको सेवा आंशिक रूपमा प्रभावित रहेकै अवस्थामा ३ फागुनमा पनि देशभर फेरि उस्तै समस्या देखिएको थियो । त्यसपछि पनि कहिले देशभर त कहिले विभिन्न ठाउँमा पटक–पटक विभिन्न सेवा अवरुद्ध भए ।

एचडी भ्वाइस तथा भिडियो कल गर्न सकिने गरी ल्याइएको भोल्टे सेवामा नै चैत ८ गते समस्या आयो । ३ जेठ २०७९ बाट सुरु भएको सेवा अवरुद्ध हुँदा लाखौं सेवाग्राही प्रभावित हुनपुगे ।
टेलिकमले आफ्ना कमजोरी छोप्न बिजुली, ढल, सडकको काम गर्दा पूर्वाधारमा क्षति पुर्‍याइएकाले यस्तो समस्या आएको तर्क गर्दै आएको छ । गत २० फागुनमा नागार्जुनमा यस्तै समस्या परेबाहेक अन्यत्र कहाँ, कसले टेलिकमको पूर्वाधारमा क्षति पुर्‍यायो भन्ने कसैको जानकारीमा छैन ।

सेवामा पटक–पटक समस्या आएको स्वीकार गरेको नेपाल टेलिकमलाई जिम्मेवार बनाउन सरकारले एउटा निर्देशन समेत दिन सकेको छैन । अत्यावश्यकीय सेवा पटक–पटक प्रभावित हुँदा पनि सञ्चार मन्त्रालयले टेलिकमको नेतृत्वलाई सेवा सुधार्न भनेको वा सामान्य स्पष्टीकरण पनि सोधेको छैन । जबकि, टेलिकमको समस्याका कारण सरकारले करोडौं राजस्व गुमाइरहेको छ भने निजी सेवा प्रदायकहरूले यसबाट लाभ उठाइरहेका छन् ।

शक्तिकेन्द्र नजिक रहन रुचाउने टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल सेवामा पटक–पटक अनेक समस्या दोहोरिरहँदा पनि चिन्तित छैनन् । टेलिकमको इतिहासमै सबभन्दा धेरै समस्या देखिरहँदा नेतृत्व ‘कानमा तेल हालेर सुतेको’ टिप्पणी टेलिकमकै प्राविधिक अधिकारीहरू गर्न थालेका छन् ।

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका संशोधन गराएर राष्ट्रिय सूचनाप्रविधि केन्द्रबाट टेलिकम छिरेका पौडेल समस्याप्रति गम्भीर नदेखिएको निष्कर्ष संचार मन्त्रालय र दूरसञ्चार प्राधिकरणका प्राविधिक अधिकारीहरूले ननिकालेका हैनन् । तर, सञ्चार सचिव वैकुण्ठ अर्यालसँग विशेष सम्बन्धका आडमा पौडेलले अक्षमतामा पनि संरक्षण पाइरहेका छन् । यस्तो गम्भीर मामिलामा सञ्चारमन्त्री शर्मा पनि मौन नै देखिएकी छन् ।

सूचनाप्रविधि सम्बद्ध आयोजनाहरूमा एजेन्ट रहने र सेक्युरिटी प्रिन्टिङ प्रेस अनियमितता प्रकरणमा मुछिएका सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल निकट मानिने नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विगत पनि विवादको घेराभन्दा बाहिर थिएन । यो कारण पनि उनको भूमिकामाथि आशंका गर्नेहरू टेलिकमभित्रै प्रशस्त छन् ।

‘सेवालाई समस्याग्रस्त बनाएर बसेको नेतृत्वमाथि नियामक निकाय र तालुक मन्त्रालयले खै किन हो, एक्सन लिएको छैन’ टेलिकमका एक प्राविधिक अधिकारी भन्छन्, ‘यति धेरै समस्या पर्दा पनि न एक्सन छ, न त जनतालाई परेको समस्या हेरेर थोरै रियाक्सन ! कुन शक्तिको आडमा यस्तो भइरहेको भन्ने बुझ्न गाह्रो छ ।’

केही दिनयता नेपाल टेलिकमको मोबाइलमा ब्यालेन्स हराउने समस्या चर्किएको छ । त्यसबारे टेलिकमको कल सेन्टरले नै अनभिज्ञता जनाउने गरेको भन्दै सामाजिक सञ्जालमा थुप्रै पीडितले गुनासो गरेका छन् ।

गुनासासँगै टेलिकमको कार्यशैलीको आलोचना पनि भएको छ, तर सेवाग्राहीका समस्याले टेलिकम नेतृत्वलाई त छोएको छैन नै, मन्त्रालय र दूरसञ्चार प्राधिकरण पनि नसुने झैं गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल नेपालको टेलिकमको सेवामा बारम्बार समस्या देखिंदा आफूहरु पनि अचम्मित भएको बताउँछन् । ‘यो क्षम्य छैन, यति पुरानो र सचिवज्यूले नै अध्यक्षता गरेको संस्थाको व्यवस्थापन जिम्मेवार नभएको हो कि ?,’ अध्यक्ष खनाल भन्छन्, ‘यो गम्भीर हुनुपर्ने विषय हो, नेपाल टेलिकमले त यो समस्याबारे उपभोक्तालाई जानकारी दिन श्वेतपत्र नै जारी गर्नुपर्छ ।’

अध्यक्ष खनालका अनुसार प्रणालीका जिम्मा लिएका ‘भेन्डर’लाई टेलिकमले सेवा अवरुद्ध हुँदा क्षतिपूर्ति दिनुपर्ने गरी जिम्मेवार बनाएको छैन । निजी सेवा प्रदायकसहित विदेशी टेलिकम कम्पनीमा यस्तो छुट नपाइने भन्दै भेन्डरलाई जिम्मेवार बनाउन टेलिकम चुकेको बताए ।

यस्तो अवस्था रहिरहे टेलिकम टाट पल्टिन सक्ने र उपभोक्ताले पनि सास्ती खेप्नु पर्ने भन्दै उनले अब सेवा अवरुद्ध भए उपभोक्तालाई कम्पनीले क्षतिपूर्ति दिने व्यवस्था नै लागू गर्नुपर्ने देखिएको बताए ।

यसमा टेलिकम र सञ्चार मन्त्रालय दुवै जिम्मेवार हुनुपर्ने भन्दै प्राधिकरणले टेलिकम भित्र ‘म्याक्रो म्यानेजमेन्ट’ गर्न नसक्ने बताए । ‘संस्थाको हिसावले त्यहाँ के–के समस्या छन् भन्ने मन्त्रालयलाई पनि थाहा छ,’ उनी भन्छन्,‘सुधारका लागि टेलिकमको व्यवस्थापन गम्भीर हुनैपर्छ ।’

टेलिकमले सेवामा देखिएको समस्यामा सधैं ‘प्राविधिक कारण’ भन्दै आएको छ । कस्तो प्राविधिक समस्या किन दोहोरिरहेको छ भन्नेबारे टेलिकम मौन छ । सेवामा समस्या हुँदा समयमै सूचित गराउन समेत टेलिकमले इच्छा देखाएको छैन ।

३ माघको घटना छानबिन गर्न गठित समितिले टेलिकमले परिणामको आकलन नगरी अनुपयुक्त समयमा मर्मतका काम गर्दा फोन सेवा अवरुद्ध भएको फेला पारेको थियो । समितिको प्रतिवेदनमा टेलिकमको हालको मेन्टिनेन्स प्रोसिड्योर पुनरावलोकन गर्न, मर्मत योजना तयार गर्न र बिलिङ सिस्टमको रिकभरी सेन्टर आधारभूत मूल्यमान्यताका आधारमा सञ्चालन गर्नुपर्ने अवस्था देखिएको उल्लेख छ ।

बिलिङ सिस्टममा मर्मतको काम गर्दा ‘स्ट्यान्डर्ड प्रोटोकल’ पालना गर्न, भेन्डरले नेपाल टेलिकमकै अधिकारीहरूलाई सहभागी गराएर मात्र मर्मतको काम गर्न र यसअघि दूरसञ्चार प्राधिकरणले दिएका निर्देशन पालना गर्न प्रतिवेदनले सुझाएको छ ।

प्रतिवेदनले नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदा समेत संवेदनशील नदेखिएको ठहर गर्दै सञ्चार सचिव वैकुण्ठ अर्यालको अध्यक्षतामा रहेको सञ्चालक समितिलाई त्यसतर्फ ध्यान दिन संकेत गरेको छ ।

टेलिकमको कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टम मर्मतका लागि एशियन इन्फोले भेन्डरका रूपमा काम गर्दैछ । पछिल्लो पटक ठेक्का भेरिएसन गरेर ३ अर्ब १५ करोडमा एशियन इन्फोलाई काम दिइएको छ । तर, प्रणाली पुरानो भएकाले बिलिङमा समस्या देखिंदा सेवा नै प्रभावित भइरहेको छ ।

समस्याबारे जानकार हुँदाहुँदै पनि किन समयमै उचित कदम चालेर समाधान खोजिएको छैन भन्ने अस्पष्ट छ । अविश्वसनीय भइसकेको बिलिङ सिस्टममा पुरानै प्रणाली र भेन्डरलाई जोगाइराख्ने नेतृत्वको नियतका कारण समस्या बढेको टेलिकमकै अधिकारीहरूको आरोप छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल हरेक पटकको समस्या फरक–फरक प्राविधिक कारणहरुले आउने गरेको बताउँछन् । सेवामा देखिएका समस्या प्राविधिक कारणले हुने भन्दै उनले यसलाई संस्थाको नेतृत्वको परिवर्तनसँग जोड्नु उचित नहुने बताए ।

‘हामी विश्वसनीय सेवा दिन चाहन्छौं र त्यसैअनुसार काम गरिरहेका छौं,’ उनले भने, ‘सेवाको समस्या ‘केस बाइ केस’ हेर्नुपर्छ, सबैलाई सोलोडोलो रुपमा हेर्न–बुझ्न हुन्न ।’

मार भने सोझै उपभोक्तामाथि परेको छ । पछिल्लो दशकमा मोबाइलमा उपभोक्ताको निर्भरता बढेको छ । सञ्चार सम्पर्क विच्छेद हुँदा सर्वसाधारणको जीवनयापनमै ठूलो प्रभाव पर्न थालेको छ । देशभर सेवा प्रभावित हुँदा टेलिकमको अकर्मण्यता छताछुल्ल हुने गरे पनि स्थान विशेषमा आउने समस्या त कसैको हिसाबमै छैन ।

खास क्षेत्र, खास नेटवर्क र खास अवस्थामा पटक–पटक टेलिफोन सेवा अवरुद्ध हुने समस्या छँदैछ । सुलभ र विश्वसनीय सेवा उपलब्ध गराउने नेपाल टेलिकमको नारा मात्र बाँकी छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता तथा सहसचिव नेत्रप्रसाद सुवेदी नेपाल टेलिकमको सेवामा समस्या चर्किंदै गएको स्वीकार्छन् । यसमा टेलिकम नेतृत्वलाई सञ्चार सचिव र टेलिकम हेर्ने सहसचिवले पटक–पटक सचेत गराउँदै निर्देशन दिंदै आए पनि सुधार नदेखिएको उनले बताए ।

समस्या समाधानका लागि मन्त्रालयको टोली टेलिकम गएर निरीक्षण र छलफल गरेको बताउँदै प्रवक्ता सुवेदीले सुखद नतिजा आउने विश्वास पनि व्यक्त गरे ।

‘यसबारे म आफैंले पनि टेलिकममा कुरा गरेको थिएँ’ उनले भने, ‘समस्या समाधान नभए नेतृत्वमाथि प्रश्न उठ्छ नै ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?