+
+
Shares
वसन्त ऋतु :

सुन्दर तराईको अद्भुत वसन्तलाई नियाल्दा

आमोद खतिवडा आमोद खतिवडा
२०७९ चैत २० गते १७:०१
फाइल तस्वीर

तराई एकदमै प्रिय छ। उत्तिकै प्रिय छ यहाँ सुरु हुन लागेको वसन्त ऋतु। जाडोलाई भर्खरै विदा गरेका कुसुमका पालुवाहरू वसन्तलाई स्वागत गर्न आतुर छन्। हरिया पातलाई नेपथ्यमा छोडेर कलिला कोपिलाहरूले आँपका रुखहरूलाई गम्लङ्ग लुकाएका छन्- ठ्याक्कै नवविवाहित वधुले मुहार लुकाएको जस्तै।

तिहारको समयमा चमकधमक गर्ने झिलीमिली बत्ती जस्तै आँपका कोपिलामा मौरी, भमरा, अरिंगाल र बारुलाहरू ताहुरमाहुर गरिरहेका छन्। उता जाडो छल्न जमिनमुनि पसेका राता कमिलालाई वसन्त आएसॅंगै लिचीको रुखतिर बसाइँ सर्न भ्याई-नभ्याई छ। दुई महिनापछि स्वादिष्ट फल जो चाख्नु छ।

वसन्तले चराचुरुङ्गीहरूको उत्साह पनि एकाएक बढाएको छ। शिरीषको टुप्पोमा बसेको बीउ कुहियो चरा आफ्नै सुरमा उसको मौलिक ‘बीउ कुहियो’ भाका गुन्गुनाइरहेको छ। कदमको हाँगा भने कोइलीको भागमा परेको छ। उसलाई जो देख्यो, त्यही नौलो लाग्छ। कसैको जवाफ सुन्ने फुर्सद त उसँग छैन। र पनि देखेको जति सबैलाई ‘को हो? को हो?’ भन्दै एकोहोरो प्रश्न गरिरहेको छ।

ढुकुरका जोडी पनि प्रफुल्लित छन्। एकआपसमा मन्त्रमुग्ध छन्। कहिले बकाइनाको बोटमा बसेर मस्किन्छन्। कहिले तित्रीको झ्यागंमा पसेर नाच्छन्। तर भोकले आकुल भएका भ्याकुराको हूललाई भने नाचगान गर्ने फुर्सद नै कहाँ छ र! बिचरा हूल बाँधेर तोरी सुकाएका आँगन र मकै राखिएका बगान खोज्नमा व्यस्त छन्।

हेमन्त भन्दा फरक छ वसन्त। धेरैजसो खेत वसन्तमा बाँझै बस्छन्। नबसुन् पनि किन? संसारको पेट भर्न वर्षभरि अन्न उब्जाउने यी उर्वर जमिनलाई आराम पनि त चाहिएला। हेर्दा त्यस्तै लाग्छ। खेतहरू तात्दै गरेको घाममा लमतन्न परेर आराम गर्दैछन्। वा अर्को झमट अन्न फलाउनको लागि सूक्ष्म तयारीमा छन्।

वसन्त आएसॅंगै सर्पहरू पनि जमिनमाथि रमाउन थालेका छन्। घाम रापिलो भएर होला, उनीहरूलाई अब दुलोभित्रको ताप चाहिएको छैन। बरु भोकको रापले भने सताउन थालेको छ। त्यसैले त धामन आफ्नो लम्बेतान शरीरको टुप्पोमा एक जोडी आँखा टिलिक्क टल्काउँदै रुपीका गुँड चहार्दैछ। बिचरा रुपीका जोडीको पीडा पनि कति विकराल ? आकाशमा उड्ने चीलदेखि लिएर जमिनमा डुल्ने सर्पलाई पनि भोक मेटाउन उनीहरूकै बच्चा चाहिने। आफ्ना सन्तानलाई अरूको आहार हुनबाट बचाउन सङ्घर्षशील छन्। कहिलेसम्म सफल हुन्छन्, उनीहरू आफैं अनभिज्ञ छन्। तर श्वास रहुन्जेलसम्म आश त रहने नै भयो। खैर! जीवन जति नै कठिन किन नहोस् ? उनीहरू तराईका रैथाने पो हुन्। आफ्ना कष्टसँग सङ्घर्ष गरेर बस्छन्, छोडेर हिंड्दैनन्। दुरुस्त तराईका स्थानीय समुदायहरू जस्तै। जो वर्षौंदेखि अशिक्षा, असुरक्षा र अभावसँग लडिरहेका छन्। तर तराईमै रमाइरहेका छन्। तराई छोडेर जाँदैनन्।

आमोद खतिवडा

वसन्तले गोठमा बाँधिएका गाईवस्तुको ओठमा पनि मुस्कान ल्याएको छ। सुख्खा परालको भरमा जाडो काटेका उनीहरू परपरका मैदानमा फर्किंदै गरेको हरियो रंग देखेर पुलकित छन्। अब केवल आफू बाँधिएको दाम्लोबाट आजादीको इन्तजार मात्र छ। आखिर वसन्त उनीहरूको लागि मानिसको शरद जस्तै त हो- मिठो खाने र आजाद हुने ऋतु।

अन्न भण्डार तराई र यहाँको वसन्तलाई सम्झँदा थान पूजा बिर्सन कहाँ सकिन्छ र! विशेषतः तराई क्षेत्रमा बसोबास गर्ने जातजाति एवम् किसानहरू आफैंमा प्रकृतिका पुजारी हुन्छन्। अनि वसन्त तराईको लागि थान पूजाको ऋतु। खेतको बीचमा बनाइएका देवीथानहरूमा गाउॅं नै भेला भएर प्रकृतिको पूजा गरिन्छ।

पूजामा खडेरीको अन्त्य होस्, मनग्य वर्षा होस्, खेतीमा रोग नलागोस् र अन्नबाली सप्रिएर आउन् जस्ता वरदान मागिन्छ। थाहा छैन कि यी पूजाहरू कत्तिको वैज्ञानिक छन् वा कत्तिको शक्तिशाली छन्। तर तराईवासीहरूले वर्षौंदेखि विश्वासको साथमा यी पूजा गर्दै आएका छन्। र वर्षौंदेखि पूजापश्चात वर्षात् हुने लगायतका परिणाम समेत देखिने गरेका छन्।

वाह! वसन्त पो आयो त। अब त खेतका बीचमा बनाइएका थानहरूमा थान पूजाको रमझम सुरु हुन्छ। पूजा पश्चात मगमगाउने अगरबत्ती। अनि बतासले उडाएर ल्याउने विभिन्न फूलहरूको सुवास र अगरबत्तीको अत्तरसॅंग ती फूलहरूको सुवासको सम्मिश्रण। यिनले त सुन जस्तो तराईमा सुगन्ध नै भरिदिन्छन्।

झन् थान पूजाको दिन लाग्ने जबदी मेला तथा मेलामा पाक्ने जलेवी, प्याजी र आलुचपको स्वाद खेतको आलीमा बसेर लिनुको मज्जा कुनै तारे होटलको टेबलमा कहाँ मिल्ला र! जिब्रोमा झुन्डिरहने यस्ता स्वादहरूसॅंग साक्षात्कार नगराई वसन्त विदा हुन पनि त पाउॅंदैन।

धानका वाला लहलह गर्ने हेमन्त ऋतुमा त तराई त्यसै पनि सुनको टुक्राझैं देखिन्छ। हेमन्त भन्दा फरक छ वसन्त। धेरैजसो खेत वसन्तमा बाँझै बस्छन्। नबसुन् पनि किन? संसारको पेट भर्न वर्षभरि अन्न उब्जाउने यी उर्वर जमिनलाई आराम पनि त चाहिएला। हेर्दा त्यस्तै लाग्छ। खेतहरू तात्दै गरेको घाममा लमतन्न परेर आराम गर्दैछन्। वा अर्को झमट अन्न फलाउनको लागि सूक्ष्म तयारीमा छन्।

ठ्याक्कै शिकारमा निस्किनु अगाडि पारिलो घाममा घुरिरहेकी सिंहिनी जस्तै। वा मुसा मार्न जानु अगाडि बयरको बोटमा नंग्रा तिखार्दै गरेकी बिराली जस्तै।

जे होस्! खेतका गह्रा खाली भए पनि वसन्तमा तराईलाई चराचुरुङ्गी, जीवजन्तु र थान पूजाले चलायमान बनाएका छन्। आखिर तराईमा रमझमको कमि नै कहिले हुन्छ र! अझ वसन्तमा? किमार्थ हुन सक्दैन।

तराईमा अशिक्षा छ। गरिबी छ। बेरोजगारी छ। उल्लेख्य विकास पनि छैन। तर पनि तराई सुन्दर छ र यहाँको वसन्त अद्भुत छ। तराई प्रकृतिले दिएको अदम्य साहस र अनुपम वरदान हो। त्यसैले पनि होला, तराई असाध्यै प्रिय छ।

-ग्रामथान, झोराहाट, मोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?