+

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

२०८० वैशाख  १४ गते १३:१३ २०८० वैशाख १४ गते १३:१३
Shares
गर्मीमा छालाको हेरचाह कसरी गर्ने ?

गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्‍याइरहेको हुन्छ ।

पसिना धेरै आउने भएकाले गर्मीयाममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ । यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय अपनाउनुपर्ने हुन्छ ।

१. बडी लोसन

नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन । यसले घामबाट हुने एलर्जी, छालामा हुने सुख्खापनबमाट जोगाउँछ र छालालाई मुलायम बनाइराख्छ ।

२. फेसवासको प्रयोग गर्ने

हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ ।

सादा पानीले मात्र मुख धुँदा मुखमा जमेका फोहोर नपाल्न सक्छ । जसकारण मुखमा डन्डीफोर, एलर्जी जस्ता समस्या निम्त्याउन सक्छ ।

३. मोइस्चराइजर

छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ । यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम हुने गर्छ । यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ । यो क्रिमलाई अनुहार बाहेक घाँटी, हात तथा खुट्टामा समेत लगाउन सकिन्छ ।

४. सनस्क्रिन क्रिम लगाउने

घरबाट बाहिर निस्कनुभन्दा १५-२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ । यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ ।

सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ । विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ । सनस्क्रिन घरबाहिर हिंड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु राम्रो हुन्छ ।

५. पाउडर

गर्मीमा पसिना आउनु त सामान्य नै हो । पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ । धेरै पसिना आउने ठाउँ जस्तै, काखी, घुँडामा पाउडर लगाउनुपर्छ । पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।

६. धेरै पानी पिउने

गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्छ । यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी चीज) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।

७. खानपान र व्यायाम

छालाको लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ भएर पनि छाला स्वस्थ बनाउन सकिन्छ । जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेंडा, कागती, अण्डा, दूध, दही, हरियो सागपात, एभोकार्डो खानामा समावेश गर्नुपर्छ । साथै हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो (ग्लो) दिन्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. केयल ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

गर्मी छाला
डा. उमा केयल
लेखक
डा. उमा केयल
छाला तथा यौनरोग विशेषज्ञ

डा. केयल हाल ललितपुरस्थित डर्म डायनायमिक स्किन, हेयर एण्ड लेजर क्लिनिकमा कार्यरत छिन्। डर्माटोलोजीमा एमडी र पीएचडी समेत गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९८६७ रहेको छ। उनको बोटक्स र लेजर उपचारमा पनि विशेषज्ञता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय