+

दैनिक थकान लाग्छ ? फाइब्रोम्याल्जिया पनि हुन सक्छ 

२०८० वैशाख  २९ गते १८:३७ २०८० वैशाख २९ गते १८:३७
दैनिक थकान लाग्छ ? फाइब्रोम्याल्जिया पनि हुन सक्छ 

काम वा व्यायाम गर्दा थकान महसुस हुनु स्वभाविक नै हो । थकानले शरीर कडा हुनु, दुखाइ हुनु, मुड खराब हुनु सामान्य हो । तर यी समस्या दिनहुँजसो अनुभव हुन्छ भने चाहिं समस्या हुन्छ । यो फाइब्रोम्याल्जियाको लक्षण पनि हुन सक्छ ।

फाइब्रोम्याल्जिया बाथरोगको एक प्रकार हो । शरीरमा एक हड्डीले अर्को हड्डीलाई जोड्ने लिगामेन्ट, हड्डीलाई मासुसँग जोड्ने लिगामेन्टमा समस्या आएमा फाइब्रोम्यालजिया भएको बुझिन्छ । यो यस्तो समस्या हो, जसलाई सही समयमा उपचार हुँदा ठीक हुन पनि सक्छ तर पहिचान नहुँदा समस्या बढ्दै जान्छ । यसले कामदेखि दैनिक गतिविधिलाई नै असर गर्न सक्छ ।

फाइब्रोम्यालजिया हुनुको कारण

फाइब्रोम्याल्जिया प्राइमरी र सेकेण्डरी गरी दुई किसिमका हुन्छन् । सामान्य बाथरोग भएमा त्यसलाई प्राइमरी कारण मानिन्छ । यो कडा खालको नहुन पनि सक्छ । यस्तो अवस्थामा मोटोपन, भिटामिन डीको कमी, थाइराइड अनियन्त्रित भएमा आउन सक्छ ।

कुनै कारणवश दुर्घटनाले पोस्टट्रमाटिक डिसअर्डर भएर पनि फाइब्रोम्यालजिया हुन सक्छ । त्यस्तै, कडा खालको बाथरोग पहिलेदेखि भएकालाई समस्या देखिएमा सेकेण्डरी फाइब्रोम्यालजिया भनिन्छ । जसमा कडा बाथरोग अनियन्त्रित भएर हुन सक्छ ।

बाथरोग भएकाहरु यसको जोखिममा हुने भएकाले अस्वस्थकर जीवनशैली पनि एक कारक मानिन्छ । बाथरोग प्रायः महिला नै हुन सक्छ, त्यसैले फाइब्रोम्यालजिया पनि बढी महिलामा देखिन्छ ।

लक्षण

फाइब्रोम्याल्जियाको समस्या जुनसुकै उमेरमा हुन सक्छ । बिरामीलाई शारीरिक समस्यासँगै मानसिक समस्या पनि हुन्छ ।

-शरीरको कुनै पनि भागमा कडा दुखाइ ।

-शरीर भारी हुने, बिहान उठ्दा शरीर फूर्तिलो नहुने ।

-अनुहारको मांसपेशी र वरपरका तन्तुमा दुखाइ र थकान हुने ।

-बिहान जोर्नी र मांसपेशी कक्रक्क हुने ।

– मुड स्विंगा हुने ।

-टाउको दुख्ने ।

-निद्रामा समस्या हुने ।

-इरिटेबल बोवेल सिन्ड्रोम देखा पर्ने ।

-हात र खुट्टामा झनझन गर्ने र सुन्निने ।

-स्मरण र एकाग्रता समस्या हुने ।

-तनाव वा डिप्रेसनको समस्या हुने ।

-थकान महसुस भइराख्ने ।

-कडारोगको बाथरोगको लक्षणको रुपमा पनि देखिन सक्ने ।

पहिचान तथा उपचार

यसको पहिचानका लागि छुट्टै परीक्षण हुँदैन । त्यसैले पहिला नै बाथरोग छ कि छैन भनेर हेरिन्छ । लक्षणको आधारमा यकिन गरिन्छ । अन्य रोग छ कि छैन पहिचान गर्न रगत परीक्षण र इमेजिङ गर्न सकिन्छ ।

यसको सबैभन्दा महत्वपूर्ण उपचार चिकित्सकीय परामर्शमा फिजियोथेरापी हो । लक्षण अनुसारको उपचारलाई प्राथमिकता दिइन्छ । कुनै दीर्घरोग छैन भने फिजियोथेरापी गर्ने, शरीरमा लचकता बढाउने शारीरिक अभ्यासमा विशेष ध्यान दिनुपर्छ । ध्यान, योग गर्दा आफैं हराएर जान पनि सक्छ । केहीमा भने लक्षण बढ्दै गएर उपचार पनि भइरहेको छ भने मानसिक उपचारको पनि आवश्यक पर्न सक्छ ।

त्यस्तै दीर्घरोगसँगै फाइब्रोम्याल्जिया पनि देखिएको छ भने दीर्घरोगकै उपचार हुन आवश्यक हुन्छ । थाइराइडको जटिलता देखिए त्यसको उपचार गर्ने रोगको प्रकृतिअनुसार औषधि दिइन्छ । त्यसको मात्रा हेरेर डोज थपिन सक्छ । स्वस्थ आहार, औषधि उपचार गर्नुपर्छ । औषधि रोग अनुसार डोज बढाइन्छ ।

फाइब्रोम्याल्जिया पनि एक खालको बाथ भएकाले दाल, गेडागुडी, माछा मासु बार्ने चलन छ ।

जटिलता

नेपालमा यो रोगको पहिचान गर्ने जनशक्ति विकास कम भएको कारण यतिमा देखिन्छ भन्ने जस्ता तथ्यांक छैन । पहिचान हुन नसकेका तर थुप्रैमा रोग लागेको हुन सक्ने अनुमान गर्न सकिन्छ । उपचार नहुँदा लक्षण बढ्दै मानसिक समस्या हुन सक्छ । व्यक्ति स्फूर्ति छैन, निन्द्रा पनि छैन र उपचार नहुँदा जटिल खालको मानसिक समस्यातर्फ जान सक्छ । कसैमा दीर्घ रोगको उपचार नै नगराई फाइब्रोम्याल्जियाको मात्र उपचार गराउँदा पनि जटिलता बढ्न सक्छ ।

गलत उपचारले जटिलता बढ्दै

जोर्नी दुख्ने बित्तिकै बाथरोग भन्ने बुझिन्छ तर यो जोर्नी नदुख्दा पनि आउन सक्छ ।  लक्षणलाई ठम्याउन नसकेर र अस्पताल नपुग्दा धेरै गलत उपचार भइरहेका छन् । जस्तै, निद्रा नलागेमा जथाभावी औषधि किनेर खाने, शरीर दुख्दा फ्लेक्जन खाने, परीक्षण बिना नै आयुर्वेदिक औषधि खाइदिने गर्दा पैसासँगै रोग पनि बढ्दै जाने गर्छ । त्यसैले यस्ता लक्षण देखिए तुरुन्त बाथ रोग विशेषज्ञलाई देखाउन आवश्यक छ ।

रोकथाम

-धुम्रपान र मदिरापान नगर्ने ।

-आहारमा धेरैभन्दा धेरै फलफूल र तरकारीहरू समावेश गर्ने ।

-दिनमा ८ देखि १० गिलास पानी पिउने ।

-जंकफुड सकेसम्म नखाने ।

-नियमित व्यायाम गर्ने ।

-वजन नियन्त्रण गर्ने ।

-दीर्घरोग नियन्त्रणतर्फ लाग्ने ।

(वरिष्ठ बाथरोग विशेषज्ञ डा. लोहनी विर्तामोडको कन्काई अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

थकान फाइब्रोम्याल्जिया
लेखक
डा. लवराज लोहनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?