+
+

लिगमा कमजोर देखिए नेपाली फरवार्ड, धेरै गोल गर्नेमा विदेशीको वर्चश्व

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० जेठ १८ गते १९:४०
मच्छिन्द्र फुटबल क्लबबाट खेलिरहेका नाइजेरियाली फरवार्ड ओलावाले अफिज

१८ जेठ, काठमाडौं । जारी शहीद स्मारक ए डिभिजन लिगमा धेरै गोल गर्नेको सूचीमा विदेशी खेलाडीहरुको वर्चश्व छ । डबल राउण्ड रोविन प्रणालीमा आयोजित लिगमा सर्वाधिक गोल गर्ने शीर्ष दशभित्र विदेशी खेलाडी हाबी हुनुले नेपाली खेलाडीको गोल गर्ने क्षमतामा प्रश्न उठेको छ ।

बुधबारसम्म मच्छिन्द्र फुटबल क्लबबाट खेलिरहेका नाइजेरियाली फरवार्ड ओलादिपो ओलावाले अफिजले २ ह्याट्रिकसहित १८ गोल गरेका छन् । जावलाखेल युथ क्लबबाट खेलिरहेका लेसोथोका फरवार्ड एनकोटो मासोबी र एफसी खुमलटारबाट खेलिरहेका क्यामरुनका मेसुके ओलोमोउले १६/१६ गोल गरी सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् ।

आफिजले खुमलटारविरुद्ध एकै खेलमा ५ गोल गरेका थिए भने बुधबार सातदोबाटो युथ क्लबविरुद्ध ह्याट्रिक पूरा गरे । आफिजसँगै यस सिजन लिगमा तीन खेलाडीले ह्याट्रिक गरेका छन् । खुमलटारबाट खेल्ने क्यामरुनी फरवार्ड स्टेफन विनोङ समिरले जावलाखेल युथ क्लबविरुद्ध ह्याट्रिक गरेका थिए । नेपालबाट भने अञ्जन विष्टले मात्र ह्याट्रिक गरेका छन् । यसै सिजन मनाङ मर्स्याङ्दी छाडेर चर्च ब्वाइजमा अनुबन्ध भएका अञ्जनले एनआरटीविरुद्ध ह्याट्रिक गरेका हुन् ।

नेपाली फरवार्डमध्ये सातदोबाटो युथ क्लबका दीपक राज सिंह ठकुरीले १२ गोल गरेका छन् । गत चैतमा नेपालमा आयोजना भएको प्रधानमन्त्री थ्री नेसन्स कपमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका दीपकले उक्त प्रतियोगितामा गोलसमेत गरेका थिए ।

त्यसपछि धेरै गोल गर्नेमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ छन् । नवयुग श्रेष्ठले ७ गोल गरेका छन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङले नेपाली खेलाडीको गोल संख्या थोरै भएको बताए । ‘पहिलोपल्ट डबल लिग हुँदा मैले २६ खेलमा ३२ गोल गरेको थिएँ । त्यतिबेला विदेशी खेलाडीहरुको स्तर अझ राम्रो थियो । तर, नेपाली खेलाडीले पनि गोल गर्थे’, चर्चित क्लबहरु मनाङ मर्स्याङ्दी, थ्रीस्टार र एनआरटीबाट खेलेका अनिलले अनलाइनखबरसँग भने ।

अहिले नेपाली खेलाडीबाट धेरै गोल नहुनुमा उनी दुई कारण देख्छन् । ‘पहिलो नेपालमा अहिले वास्तविक स्ट्राइकर नै देखिएको छैन । सुरुमा सातदोबाटोका दीपकले सम्भावना देखाएका थिए । उनले सुरुमा राम्रै प्रदर्शन गरेका थिए तर, अरु खासै देखिएन’, गत सिजन ब्रिगेड ब्वाइजबाट अन्तिम पटक लिग खेलेका अनिलले भने, ‘दोस्रो कारण भनेको व्यस्त खेलतालिका । जसले गर्दा खेलाडीले आराम पाएका छैनन् । रिकभरी समय नहुँदा चोटको जोखिम छ, त्यसले गर्दा गाह्रो हुन्छ ।’

अधिकांश टिममा विदेशी नै निर्णायक

यस सिजन लिगमा अधिकांश क्लबका लागि निर्णायक गोलकर्ता विदेशी खेलाडी नै छन् । नतिजामा पनि उनीहरुकै प्रदर्शनको प्रभाव छ । शीर्ष स्थानको चर्च ब्वाइज क्लब, एनआरटी र सातदोबाटो तथा विदेशी खेलाडी नखेलाउने एक मात्र टोली त्रिभुवन आर्मीबाहेक बाँकी १० क्लबको सर्वाधिक गोलकर्ता विदेशी खेलाडी छन् ।

लिग निर्देशक तथा फुटबल विज्ञ सन्जीव मिश्र विदेशी खेलाडीले धेरै गोल गर्नुमा मुख्य तीन कारण देख्छन् । ‘गोल गर्ने पोजिसनमा नेपालीभन्दा धेरै खेलाडी विदेशी नै छन् । फरवार्ड विदेशी हुनु र मुख्य खेलाडी विदेशी हुँदा गोल धेरै भएको हो’, उनले थपे, ‘फरवार्डमा खेल्ने केही नेपाली खेलाडीहरु विदेश पलायन भए । अहिले भएका मध्ये नवयुग, भरतहरु अब करिअरको उत्तरार्द्धमा छन् । विदेशी खेलाडीहरु तीव्र र शक्तिशाली छन् र उनीहरुसँग गोल गर्ने क्षमता राम्रो छ ।’

जारी लिगमा सर्वाधिक गोल गर्ने चार टोली जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, मच्छिन्द्र र एफसी खुमलटार हुन् । यी चारै टोलीका लागि धेरै गोल विदेशी खेलाडीले गरेका छन् । उपाधि होडमा रहेका दुई जावलाखेल र मच्छिन्द्र तथा रेलिगेसन क्षेत्रमा रहेका फ्रेण्ड्स र खुमलटारको विदेशी खेलाडी मुख्य गोलकर्ता छन् ।

जावलाखेल युथ क्लबका खेलाडीहरू । फोटो : एन्फा

लिगमा सर्वाधिक ३९ गोल गरेको जावलाखेलका लागिस मासोबीले सर्वाधिक १६ गोल गरेका छन् । त्यसपछि फोडे फोफानाले ८ गोल गरेका छन् भने नेपाली खेलाडी हिसुब थपलियाले जम्मा ४ गोल मात्र गरेका छन् ।

यस्तै ३६ गोल गरेको फ्रेण्ड्सका लागि रफिक अमिनुले १३ गोल गरेका छन् भने टोरिक जेब्रिनले ६ गोल गरेका छन् । अन्य विदेशी खेलाडी अख्रोरबेक उक्तामोभले २ र उत्तम राईले १ गोल गरेका छन् । नेपालीमध्ये कप्तान प्रकाश बुढाथोकीले ५ गोल गरेका छन् ।

यस्तै खुमलटारका लागि मेसुकेले १६ गोल गर्दा स्टेफन विनोङले ९ गोल गरेका छन् । खुमलटारले लिगमा गरेको ३१ गोलमध्ये २५ गोल यही दुई खेलाडीले गरेका छन् । नेपाली खेलाडीमा राजीव लोप्चनले २ गोल गर्दा चार खेलाडीले समान एक गोल गरेका छन् ।

मछिन्द्रका लागि ओलावालेले १८ गोल गरिसकेका छन् । क्लबको कूल ३४ गोलमध्ये २४ गोल विदेशीको नाममा छ । नुरेन मरिकले ३ गोल गरेका छन् भने आन्द्रे निया, चेन्चो ग्याल्सेन र युता सुजुकीले समान १–१ गोल गरेका छन् । नेपाली खेलाडीमध्ये विमल घर्ती मगरले ४ गोल गरेका छन् ।

गत सिजनदेखि विदेशी खेलाडी खेलाउन थालेको विभागीय टोली एपीएफका लागि सर्वाधिक गोल गर्नेमा विदेशी नै छन् । अर्मान्ड बेउडमले एपीएफका लागि सर्वाधिक ८ गोल गरेका छन् ।

नेपाली खेलाडीमध्ये सर्वाधिक गोल गर्ने दीपक राजको टोली सातदोबाटोमा दोस्रो धेरै गोल गर्नेमा विदेशी विलियम ओपोकु असिडु छन् । उनले ७ गोल गरेका छन् ।

मनाङ मर्स्याङ्दी क्लबका खेलाडी । फोटो : एन्फा ।

यसबाहेक मनाङ मर्स्याङ्दीका लागि कोपी टिमोथी कोउडोले सर्वाधिक ९ गोल गरेका छन् । जारी लिगमा सबैभन्दा कम १६ गोल गरेको थ्री स्टारका लागि धेरै गोल गर्नेमा अजयी मार्टिन्स छन् । उनले ७ गोल गरेका छन् । त्यसपछि लाकेन लिम्बुले ३ गोल गरेका छन् ।

हिमालयन शेर्पाका लागि अबायोमी ओलुवासेउन फाकुन्लेले ६ गोल गरेका छन् । संकटाका लागि धेरै गोल गर्नेमा ओनगुना जुनियर र युसुफ एट्रिस छन् दुवैले समान ५ गोल गरेका छन् । नेपाली खेलाडीमध्ये मनिष डाँगीले ४ गोल गरेका छन् ।

पूर्व कप्तान अनिल गुरुङ अहिलेको समयमा नेपाली भन्दा विदेशी खेलाडीको प्रदर्शन राम्रो देखिएको बताउँछन् । ‘यसपल्ट विदेशी खेलाडी राम्रो भएको टिमले राम्रो प्रदर्शन गरिरहेको छ । टिम जस्तो भएपनि उनीहरुको स्कोरिङ क्षमता राम्रो छ । जावलाखेलका मासोबी उत्कृष्ट गोलकर्ता देखिएका छन् । मेसुके र स्टेफनको जोडीले पनि गोल गरिरहेका छन्’, उनले थपे ।

लिग निर्देशक तथा फुटबल विज्ञ सन्जीव मिश्र

लिग निर्देशक मिश्रले लगातार खेल्दा रिकभरीको लागि समय नपुग्ने कुरा स्वीकार गर्दै विदेशी र नेपालीलाई उही समय हुँदा नेपाली खेलाडीहरुले आफूलाई पनि सन्तुलनमा राख्नुपर्ने बताए । ‘लगातार खेलेर मात्र रिकभरी हुन समय लाग्ने होइन । सुत्ने, उठ्ने समय र के खाने, कसरी खाने भन्ने कुराहरुमा समेत ध्यान दिनुपर्छ । नेपालीको तुलनामा विदेशीहरु यसबारे बढी चनाखो हुन्छन्’, मिश्रले भन्छन् ।

चार क्लबमा नेपाली खेलाडी सर्वाधिक गोलकर्ता

शीर्ष स्थानको चर्च ब्वाइजमा मात्र धेरै गोल गर्नेमा तीन नेपाली खेलाडी अगाडि छन् । चर्च ब्वाइजका लागि अन्जन विष्टले सर्वाधिक ६ गोल गर्दा आशिष चौधरीले ५ र कप्तान डिफेण्डर अनन्त तामाङले ४ गोल गरेका छन् । अर्का फरवार्ड आशिष चापागाईंले ३ गोल गरेका छन् ।

जारी लिगमा विदेशी खेलाडी नखेलाउने एक मात्र टोली त्रिभुवन आर्मी हो । आर्मीका लागि फरवार्ड नवयुग श्रेष्ठले ७ र जिलेस्पी जंग कार्कीले ६ गोल गरेका छन् ।

एनआरटीका लागि सञ्जीव विष्टले सर्वाधिक ६ गोल गर्दा त्यसपछि धेरै गोल गर्नेमा विदेशी नै छन् । निकोलस सङले ५ र लालनुन्जुमाले ४ गोल गरेका छन् । यही चार क्लबबाहेक अन्य क्लबमा विदेशी खेलाडी हावी छन् । सातदोबाटोका लागि दीपकले सर्बाधिक १२ गोल गरेका छन् ।

अञ्जन विष्ट

दीपक, नवयुग, अञ्जन, जिलेस्पी, आशिष चौधरी र सञ्जीव विष्ट नेपाली खेलाडीहरुमध्ये धेरै गोल गर्नेमा अगाडि छन् । तर, नेपाली खेलाडीहरुको एकनासको प्रदर्शन नभएको मिश्रले बताए । ‘दीपकले सुरुमा राम्रो खेलेका थिए । आर्मीको जिलेस्पीले पनि गोल गरिरहेका छन् । तर, नेपाली खेलाडीहरुमा नियमितता छैन ।’

पुलिसको पुनरागमनमा विदेशीको प्रदर्शन निर्णायक

कुनै समय घरेलु फुटबलमा एकछत्र राज गरेको नेपाल पुलिस क्लब यस सिजन लिगमाको सुरुवातमा निकै कमजोर देखिएको थियो । पहिलो चरणमा जितका लागि निकै संघर्ष गर्नुपरेको पुलिसले दोस्रो चरणमा विदेशी खेलाडी भित्र्याएपछि खेलमा सुधार गर्‍यो । गोल गर्न थाल्यो, खेल जित्न थाल्यो । त्यसो हुनुको कारण विदेशी खेलाडीको प्रदर्शन नै थियो ।

पुलिस हाल २२ खेलबाट ३१ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । पुलिसका लागि धेरै गोल गर्ने दुई खेलाडीमा विदेशी नै छन् । लेवनानी फरवार्ड अहमद हिजाजीले पुलिसका लागि सर्वाधिक ६ र घानाका मोसेस ट्वमले ५ गोल गरेका छन् । त्यसपछि भारतका मुहम्मद आशिक र नेपालका अञ्जन राईले समान ३ गोल गरेका छन् ।

पुलिसले गरेको २४ गोलमा विदेशी खेलाडीको नाममा १५ गोल छ । जो आइडोले १ गोल गरेका छन् ।

पुलिसको प्रदर्शन फरक हुनुमा विदेशी खेलाडी नै निर्णायक भएको मिश्र बताउँछन् । ‘सुरुमा रेलिगेसन क्षेत्रमा रहेको पुलिस अहिले शीर्ष चार छ । विदेशीले पुलिसलाई उद्दार नै गरेको हो । नभए पुलिसको यो स्तरको प्रदर्शन हुन्थेन’, उनले थपे ।

लिगमा सर्वाधिक गोलकर्ता

आफिज ओलावाले – १८ गोल
एनकोटो मासोबी – १६ गोल
मेसुके ओलोमोउ – १६ गोल
रफिक अमिनु – १३ गोल
दीपकराज सिंह ठकुरी – १२ गोल
कोफी टिमोथी कोउडो – ९ गोल
फोडे फोफाना – ८ गोल
स्टेफन विनोङ समिर – ८ गोल
अजयी मार्टिन्स – ७ गोल
अर्मान्ड बेडोम – ७ गोल
नवयुग श्रेष्ठ – ७ गोल
विलियम ओपोकु – ७ गोल

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?