+
+

राजारामका ७ किस्सा : शिवहरिलाई बियर र बँदेलको बाहुन भोज, राता मकैलाई काउकुती

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते ६:५०

सिनेमामा जति रोचक लाग्छन् राजाराम पौडेल, वास्तविक जीवनमा पनि कम छैनन् । खासगरी आफ्ना सहकर्मीलाई सताउने र मजाक गर्ने उनको प्रवृत्ति छ ।

रंगमञ्चमा होस् वा चलचित्र छायांकनमा, राजारामको फेला नपरेका सहकर्मी सायदै छन् । उनी आफ्ना सहकर्मीलाई कुनै न कुनै रुपमा सताउने गर्छन् र हाँसोको पात्र बनाइदिन्छन् । यस्ता अनेक किस्सा छन् राजारामका ।

सहकर्मीका के कुरा, उनले आफ्ना हजुरबुवा र काकालाई समेत छाडेका रहेनछन् ।

१. हजुरबाको जनै

एकदिन हजुरबाले भनेछन्, ‘ए, यहाँ आएर ढाँड मिचिदे ।’ त्यसबेला राजाराम फुच्चे । उनलाई हजुरबाको सामुन्ने डर लाग्थ्यो । उनीमात्र होइन, घरका अरु सदस्य पनि हजुबुवा भनेपछि थुरथुर हुने ।

हजुरबाले बोलाएपछि राजाराम आज्ञाकारी भएर ढाँड मिच्न गए । ढाँड मिच्दै गर्दा हजुरबा भुसुक्कै निदाए । हजुरबा यसरी चुपचाप निदाएपछि राजाराम किन पो शान्त बस्थे र ? उनको मनमा उटपट्याङ विचार आयो ।

हजुरबुवाको जनै तुर्लुङ्ग झुन्डिएको देखे । उनले त्यही जनै बार्दलीको डन्डीमा बाँधिदिए । अब बाजेको निद्रा खुलेर जुरुक्क उठ्दा कस्तो भयो होला ?

पक्कै पनि हजुरबुवाको पारो तातिएको हुनुपर्छ । तीन दिनसम्म राजाराम हजुरबुवाको अगाडि परेनन् ।

२. काकाको कोटको खल्तीमा झिंगा

काकालाई पनि उनले छाडेनन् । त्यसबेला उनको परिवार पुर्ख्यौली घरमा बस्थ्यो । घर पुरानो थियो र बिजुलीको तारहरु यत्रतत्र लत्रिएको थियो ।

तारमा झिंगा लस्करै बसेको देखेपछि उनको मनमा काउकुती लागिहाल्यो । के गरौं, कसो गरौं । उनले झिंगालाई सरर हातमा तानेर एउटा प्लाष्टिकमा पोको पारे । काकाको कोठामा कोट झुन्ड्याइएको थियो । उनले झिँंगाको पोको त्यही कोटको खल्तीमा हालिदिए ।

भोलिपल्ट काका अफिस जान तयार हुँदै रहेछन्, गोजीमा भुँनुनु आवाज आयो । यसो खल्ती छामेर हेर्दा प्लाष्टिकको पोको भेटियो । निकालेर हेर्दा झिंगा नै झिंगा । यस्तो हर्कत राजारामले गर्छ भन्नेमा शंका भएन । राति काकाले राजारामको सातो लिए ।

३. शिवहरिलाई बियरसहितको बाहुन भोज

एउटा नाटकको रिहर्सल चल्दै थियो । १२ बजेतिर रिहर्सल सकियो । अब कहाँ जाने ? राजारामले शिवहरि पौडेललाई भने, ‘लौ हिँड जाउँ मेरोमा । भाउजुले बँदेलको मासु राखेकी छिन् । त्यहाँ पुगेर बियर पनि खाउँला । जाउँ हिँड ।’

ढिंपी गरेपछि राजारामको पछि लागे शिवहरि । नभन्दै फ्रिजमा बँदेलको मासु पनि रहेछ । राजारामकी श्रीमतीले बँदेलको मासु राम्ररी फ्राइ गरिन् । बियर पनि तयार गरिन् । मस्तसँग दुवैले बियर र मासु खाए । केही समयपछि फेरि भात खाए । भात खाएर हात पनि राम्ररी चुठेका थिएनन्, राजारामले हरिवंश आचार्यलाई फोन गरे । यसो भन्दै, ‘ए हरि तिमीले आज के के गर्‍यौं त । आज ग्रहण लाग्ने दिन । एउटा बाहुनको बच्चालाई खुवाउनुपर्ने दिन । मैले त शिवहरिलाई ल्याएर खुवाएँ ।’

४. राता मकैलाई हैरान

त्यस्ता सहकर्मी सायदै होलान्, जसलाई राजारामले नसताएको होस् । त्यसमा पनि किरण केसी ‘राता मकै’ त उनको सिकार नै भए । एक पटक होइन, पटक-पटक किरण केसीलाई राजारामले हैरान बनाएका किस्सा सर्वत्र छ ।

एकपटक मदनकृष्ण श्रेष्ठको घरमा कुनै कार्यक्रम चलिरहेको थियो । मह संचारमा आवद्ध कलाकारहरुको जमघट हुने नै भयो । सबैजना लस्करै बसिरहेका थिए । भित्तामा एउटा पोस्टर रहेछ । त्यही हेर्ने निहुँले राजाराम जुरुक्कै उठे । अनि सरासर गएर किरण केसीको फिलामा कचक्कै कुल्चिएर फोटो हेर्न उक्लिए । आफ्नै धुनमा बसिरहेका किरण केसी ‘ए मार्‍यो ..मार्‍यो ’ भन्दै चिच्याए ।

५. सरोज खनालसँग भद्दा मजाक

सरोज खनालसँग जोडिएको एउटा किस्सा फिल्मवृत्तमा एकदमै चर्चित छ । कुरा, तीन दशक अघिको हो । त्यसबेला सरोज खनाल चल्तापूर्जा अभिनेतामा गनिन्थे ।

‘सान्नानी’ नामक फिल्म दृश्यांकनका लागि उनीहरु बन्दीपुर गएका थिए । त्यहाँ होटलहरु नभएकाले घर–घरमा बस्नका लागि व्यवस्था गरिएको थियो । सरोज खनाल र राजाराम एउटै कोठामा बसेका थिए ।

त्यही बसेर खाना खाइरहेको बेला एकजना व्यापारी आएछन्, झोलाभरि सामान बोकेर । झोलामा कन्डोमको माला पनि झुन्डिएको रहेछ । राजारामले व्यापारीलाई उक्त कन्डोम मागेछन् ।

कोठामा पुगेर लुगा फेर्दै गर्दा कन्डोम हातमै थियो । यो कन्डोम के गर्ने ? उनले यताउता हेरे । भित्तामा सरोज खनालको जिन्सको हाफ पाइन्ट झुन्ड्याइएको रहेछ । उनले कन्डोम त्यही खल्तीमा हालिदिए ।

पछि उनीहरु सुटिङ सकेर काठमाडौं आए । एकदिन सरोज खनालको फोन आयो, ‘दाइ तपाईंले मेरो खल्तीमा केही हालिदिनुभएको थियो ?’

‘खै मैले त भुलें । के भयो र ?’ राजारामले अनभिज्ञता प्रकट गरे ।

सरोजले भने, ‘कन्डोम हालिदिनुभएको थियो खल्तीमा ?’

‘ए, हो हो ।’

‘हत्तेरी दाइ’ सरोज झोक्किए, ‘कस्तो बर्बाद भो दाइ ।’ के भएछ भने बिहान उठेर उहाँकी श्रीमती सूर्यमाला वाथरुममा लुगा धुन गएकी, सुक्क-सुक्क रुन थालिछन् । सरोजले  भनेछ, ‘के भो भन न ?’

सूर्यमालाले फुत्त कन्डोम फ्यालिछिन् । सरोज खनाल छक्क । सरोज खनालले थाहा पाइहाले, यस्तो उटपट्याङ गर्ने राजाराम नै हो । उनले तुरुन्त राजारामलाई फोन लगाए र आफ्नी श्रीमतीलाई ‘आफूले ठट्टा गरेको हो’ भनी सम्झाइबुझाइ गर्न लगाए । अनि सरोज खनालले श्रीमती सूर्यमालालाई फोन दिए ।

सूर्यमाला झोंक्किएर बोलिन्, ‘के हो दाइ यस्तो ?’

राजारामले आगोमा घिउ थपिदिएँ, ‘त्यही त मैले सरोजजीलाई भनेको यस्तोमा लाग्नुहुन्न भनेर । उहाँ मान्दै मान्नुभएन । छाड्दिनुहोस् जे भो, भैगो ।’

सूर्यमालाले रिसाएरै फोन राखिदिइन् । त्यही निहुँमा उनीहरुको झन्डै सम्बन्धविच्छेद भएको कुरा पछि मात्र राजारामले थाहा पाए ।

६. नाटकमा जब किरण केसीलाई काउकुती लगाए

मह संचारले सुरुवाती दिनहरुमा निरन्तरजसो नाटक मन्चन गरिरहन्थ्यो । यस्तो नाटकमा हरिवंश, मदनकृष्णका साथै किरण केसी, राजाराम पौडेल अभिन्न रुपमा जोडिएका हुन्थे ।

एउटा नाटकमा किरण केसी र राजारामको दृश्य एकसाथ थियो । नाटक भइरहेको थियो । राजारामको संवाद सकिएपछि लुसुक्क किरण केसीको पछाडि गए । अनि दर्शकले भेउ नपाउनेगरी उनलाई काउकुती लगाउन थाले । त्यसबेला न किरण केसी हाँस्न सक्थे, न केही चल्न नै । उनलाई त्यसबेला निकै गाह्रो भएको थियो ।

किरण केसीसँग जोडिएका अरु किस्सा पनि कम्ता रोचक छैन ।

एकपटक छायांकनको क्रममा किरण केसी बिरामी परेछन् । काम गर्नै नसक्ने भएपछि उनले आफूलाई अस्पतालसम्म पुर्‍याउन भनेछन् । राजाराम पौडेल कलाकारितामा आउनुअघि स्वास्थ्यकर्मी पनि भएकाले सुटिङको क्रममा कसैलाई दुःख बिराम भएमा सामान्य औषधि उपचार गरिदिन्थे । त्यसदिन किरण केसीलाई पनि उनले औषधि दिए ।

केही समयसम्म पनि औषधिले खासै प्रभाव नपारेपछि किरणले फेरि अस्पताल जान जिद्दी गरे । मदनकृष्णले पनि राजारामलाई भने, ‘एक पटक अस्पताल लगेर ल्याउनु नि त ।’

राजारामले किरणलाई अस्पताल पुर्‍याएछन् । तर, त्यो अस्पताल भद्रगोल एवं बाहिरबाट फोहोर नै फोहोर । त्यहाँका चिकित्सकसँग राजारामको पहिलेदेखि नै चिनजान रहेछ । जब किरणलाई उनको सामुन्ने पुर्‍याए, तब पो भेद खुल्यो राजारामले त उनलाई पशु अस्पतालमा ल्याएछन् ।

७. धिरेन शाक्यको बडीगार्डले कसो मारेन

त्यसदिन एउटा फिल्मको छायांकनमा अभिनेता धिरेन शाक्यको बडीगार्ड कुर्सीमा मस्त निदाइरहेका रहेछन् । उनको शरीर ठूलो एवं गठिलो थियो । राजाराम पौडेललाई चकचक फुरिहाल्यो । उनले कतैबाट रंग ल्याएर उनको अनुहारभरि लगाइदिए ।

केही समयपछि उनको निद्रा खुल्यो । जसै उनी उठेर यताउता गर्न थाले मान्छेहरु हाँस्न थाले । अरु हाँसेको देखेर उनी पनि हाँस्न थाले । कसो कसो गर्दा उनको हात अनुहारमा पुगेछ र त्यसमा रंग लतपतिएछ । उनी रिसाउँदै कराउन थाले, ‘यो कसले लगाइदियो ?’

राजारामले उनलाई हातको इशाराले बोलाए । अनि दीपकराज गिरीतर्फ संकेत गर्दै उनैले कालो लगाइदिएको भने । सुटिङ अवधिभर उक्त बडीगार्डले दीपकराजलाई घुरेर हेरिरहे । दीपकराजलाई भित्री कुरा केही थाहा भए पो ?

बडीगार्ड किन रिसाए ? किन आफूलाई घुरेर हेरिरहन्छ ? उनले थाहा पत्तो पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?