+
+

डेथ जोनबाट मलेसियन पर्वतारोही बचाएर गेल्जेले गरेको ‘चमत्कार’

केही दिनपछि उनको मोबाइलमा म्यासेज आयो, ‘मलाई बचाएकोमा थ्याङ्क यू ।’ त्यो म्यासेज उनै मलेसियाका नागरिकको थियो ।

विनोद घिमिरे विनोद घिमिरे
२०८० जेठ १८ गते २०:४३
मलेसियाका आरोहीलाई बोकेर क्याम्पसम्म पुर्याउँदै गेल्जे शेर्पा र उनका साथीहरू।

१८ जेठ, काठमाडौं । सोलुखुम्बुका ३० वर्षीय गेल्जे शेर्पा र उनका साथीहरूले सगरमाथाको ’डेथ जोन’ भनिने क्षेत्र नजिक अलपत्र परेका मलेसियाका एक पर्वतारोहीलाई सकुशल उद्धार गरेका छन् ।

शेर्पाहरूले १८ मेको दिन ’रवि’ भनेर चिनिने मलेसियाका पर्वतारोहीलाई साउथ पोल नजिकबाट उद्धार गरेका हुन् । सगरमाथामा यो क्षेत्रबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै मानिन्छ । मलेसियाका नागरिकलाई गरेको यो उद्धारलाई पर्यटन विभागका अधिकारीले ‘चमत्कार’ भनेका छन् ।

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० तात्तिङ घर भएका गेल्जे सेभेन समिट ट्रेक्सका गाइड हुन् । गेल्जे आफैंमा हिउँद महिनामा ‘किलर माउन्टेन’को रुपमा रहेको केटु चढेर सबैभन्दा कान्छो आरोहीको कीर्तिमान कायम गरिसकेका व्यक्ति हुन् । गत वर्ष निर्मल पूर्जासहित १० नेपाली सदस्य दलले जाडोयाममा गरेको प्रथम केटु हिमाल आरोहणमा कान्छो आरोहीको रुपमा जोडिने र केटु चुम्ने मौका  गेल्जेले पाएका थिए ।

गत मे १८ मा उनी चिनियाँ पर्वतारोहीलाई लिएर सगरमाथा उक्लिरहेका थिए । त्यहीबेला उनले मलेसियाका पर्वतारोहीलाई करिब ८ हजार ३०० मिटरको उचाइमा अलपत्र अवस्थामा एक्लै फेला पारे ।

‘बाटोमा एक जना मान्छे अलपत्र परेको देखें । ऊ हिउँमा जमेको र चिसोले काँपिरहेको अवस्थामा थियो, अरू कसैले पनि उसको वास्ता गरेका थिएनन्,’ गेल्जेले अनलाइनखबरसँग भने, ‘मैले उसलाई घिसारेर तलसम्म ल्याएँ । कालो रंगको स्लिपिङ म्याटले बेरेर, डोरीले बाँधे अनि नाम्लो लगाएजसरी पिठ्युँमा बोकेर क्याम्प फोरसम्म आफैं ल्याएँ, जहाँ अरू साथीहरू थिए ।’

गेल्जेका अनुसार ती आरोही मलेसियाका नागरिक थिए । उनलाई टोलीका सदस्यहरूले ‘रवि’ भनेर बोलाउँथे । उनी सगरमाथा चढिसकेर फर्किंदा अशक्त भएर अलपत्र परेका थिए । ‘उसलाई उद्धार गर्न मेरो आरोहण मैले रद्द गरेँ किनकि उसलाई जोगाउनु मेरो प्राथमिकता थियो । पैसा त पछि कमाउन पनि सकिन्छ,’  उनले ।

मलेसियाका आरोहीलाई म्याटले बेरेर उद्धार गरिँदै ।

ती आरोहीलाई पिठ्युँमा बोकेर हिँडिरहेको भिडियो सामाजिक सन्जालमा देखिन्छ । क्याम्प थ्रीबाट हेलिकोप्टरमार्फत मलेसियन पर्वतारोहीलाई काठमाडौं ल्याएर उपचार गरिएको थियो । उद्धारका लागि ङिमाटासी शेर्पाले गेल्जेलाई सघाएका थिए ।

सामान्यतया सगरमाथा चढिरहेका गाइडहरूले आफ्नो टोलीलाई छोडेर अर्को टोलीको सदस्यको वास्ता गर्दैनन् । तर गेल्जेले शिखर उक्लिरहेको चिनियाँ टोलीलाई बीचमै छाडेर अर्कै टोलीका सदस्यको उद्धार गरेका थिए ।

गेल्जेले मलेसियाका ती नागरिकको उद्धारमा जान्छु भन्दा चिनियाँ टोलीले मानेको थिएन । ‘म उद्धारमा फर्किन्छु भन्दा चिनियाँहरू मसँग रिसाए,’ गेल्जे भन्छन्, ‘पछि उनीहरूले पनि कुरा बुझे ।’

गेल्जेका अनुसार ती मलेसियन नागरिकको अवस्था कस्तो होला भनेर उनलाई खुल्दुली भइरह्यो । पछि साथीहरूले मलेसियाका ती आरोहीलाई हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौं लगिएको जानकारी गराए । केही दिनपछि उनको मोबाइलमा म्यासेज आयो, ‘मलाई बचाएकोमा थ्याङ्क यू ।’

त्यो म्यासेज उनै मलेसियाका नागरिकको थियो । ‘ऊ बाँच्यो भन्ने थाहा पाएपछि मलाई एकदमै खुशी लाग्यो । काठमाडौंमा उपचारपछि ऊ आफ्नो देश फर्किसकेको छ,’ गेल्जेले भने ।

सोलुखुम्बुका ३० वर्षीय गेल्जे शेर्पा ।

त्यतिबेला गेल्जेलाई ठूलो पुण्यको काम गरेजस्तो अनुभव भयो । बौद्ध धर्मका अनुयायी गेल्जेले अनलाइनखबरसँग खुसी साटे, ‘कुनै मन्दिर, गुम्बामा पूजापाठ गर्नुभन्दा कसैको जीवन जोगाउनु कयौं धेरै पुण्य हुन्छ ।’

‘यस्तो उद्धार मिराकल नै हो’

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइराला ‘क्याम्प टु’भन्दा माथिबाट कसैलाई उद्धार गर्नु असम्भव जस्तै हुने बताउँछन् ।

‘क्याम्प टुभन्दा माथिबाट कसैलाई उद्धार गर्नु भनेको धेरै दुर्लभ हो । यसलाई मिराकल नै भन्न सकिन्छ,’ कोइरालाले भने, ‘जेहोस् गल्जेले ठूलै आँट गरेका हुन् । हामीलाई नै अचम्म लागिरहेको छ ।’

कोइरालाका अनुसार गेल्जेले साउथ कोलबाट उनको उद्धार गरेका थिए । उनका अनुसार साउथ पोल भने सगरमाथाको ७ हजार ९ सय मिटर उचाइको क्षेत्र हो । त्योभन्दा माथिको ८ हजार ४ सय मिटर माथि हिलारी स्टेपसम्मको क्षेत्रलाई साउथ समिट बाल्कोनी भनिन्छ । यो क्षेत्र अझ बढी खतरनाक मानिन्छ । धेरैजसो आरोहीहरूको यही क्षेत्रमा ज्यान जाने गरेको छ ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत कोइरालाका अनुसार सगरमाथा आरोहणको क्रममा यही सिजनमा १२ जना आरोहीको मृत्यु भइसकेको छ भने पाँच जना बेपत्ता छन् । सगरमाथाको चुचुरोमा पुगेकाहरूको संख्या भने करिब ६ सय छ ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?