
काठमाडौं । वीर अस्पतालले राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सञ्चालनमा आएको छ । बिहीबार ब्रेन ट्युमर दिवसको अवसर पारेर अस्पतालका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भुपेन्द्रकुमार बस्नेतले केन्द्रको उद्घान गरे । ब्रेन ट्युमर केन्द्रमा एक सातासम्म निःशुल्क सर्र्जरी गरिने जानकारी दिइयो ।
कार्यक्रममा बोल्दै वीर अस्पताल न्युरो सर्जरी विभागका प्रमुख प्रा. डा. राजीव झाले ब्रेन ट्युमरका बिरामीलाई उत्कृष्ट सेवा दिने, यसबारे अनुसन्धान र न्युरो सर्जनको जनशक्ति बढाउने उद्देश्यले ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको बताए ।
‘अहिलेसम्म अन्तर्राष्टिय अनुसन्धानलाई मात्र आधार मानिरहेका छौं । अब स्वदेशमै ब्रेन ट्युमर केन्द्रबाटै बिरामीको अनुसन्धान गर्न सक्छौं । अनुसन्धान गर्न सके बिरामीको प्रकृतिअनुसारको नयाँ खोज र उपचार गर्न नेपालमै सम्भव हुन्छ,’ उनले भने । वीर अस्पतालमा ब्रेन ट्युमरको मात्रै ७०० भन्दा बढी शल्यक्रिया भइरहेको डा. झाले बताए ।
अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले ब्रेन ट्युमर केन्द्रसँगै अन्य विशिष्ट सेवा पनि थप्दै लैजाने बताए ।
कार्यक्रममा प्याथोलोजी विभागकी प्रमुख डा. प्रतिभा विष्टले गत वर्ष परीक्षण गरिएका साढे ६ हजार ५०० बायोस्पीको नमुनामध्ये सबैभन्दा बढी ग्लाइमाको ट्युमर २८.९ प्रतिशत देखिएको जानकारी दिइन् ।
हाल वीर अस्पतालमा ६ जना न्युरो सर्जन छन् । वीर अस्पतालले नयाँभवनमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र सञ्चालनमा ल्याएको हो ।
तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4