+
+

नवलपुरको दुम्कौलीमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’, अनारमनीमा बढी वर्षा

गत चौबिस घण्टामा नवलपुरको दुम्कौलीको अधिकतम तापक्रमले रेकर्ड ब्रेक गर्दा झापाको अनारमनीमा सबैभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १५:५०

२६ जेठ, काठमाडौं । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको छ ।

यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । चार दिनदेखिकाे त्यो रेकर्ड तोडिएर ४४ डिग्री सेल्सियस पुगेको हो

विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएको बताए । यद्यपि विभागले साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने भएकाले त्यतिबेलासम्म थप–घट पनि हुनसक्ने बताए ।

विभागका अनुसार यस वर्ष दुम्कौलीसँगै सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगाको अधिकतम तापक्रम हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

वरिष्ठ मौसमविद पौडेलका अनुसार पूर्व, मध्य र पश्चिमका तराई–मधेशका जिल्लाहरुमा गर्मी अत्यधिक छ । केही जिल्लामा तातो हावा चल्ने र लु लाग्ने सम्भावना भएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि मौसमविदले सुझाव दिएका छन् ।

यस वर्षको मनसुन भारत आइपुगेको र त्यो नेपाल आइपुग्न केही दिन लाग्ने भएकाले केही दिन गर्मीको अवस्था कायम रहने मौसमविदहरुको प्रक्षेपण छ ।

झापाको अनारमनीमा सबैभन्दा बढी वर्षा

पहाडका केही क्षेत्रहरुमा भने वर्षा पनि भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा ४० वटा केन्द्रहरुमा वर्षा मापन भएको छ ।

तीमध्ये सबैभन्दा बढी ६३.२ मिलिमिटर वर्षा झापाको अनारमनी विर्ता केन्द्रमा भएको छ । विभागले मानव सञ्चालित ७६ र स्वचालित १९६ केन्द्रहरुमा वर्षा मापन गर्दछ ।

तीमध्ये ७ वटा केन्द्रहरुमा १० मि.मि.भन्दा बढी, ४ वटा केन्द्रहरुमा २५ मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?