३१ जेठ, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सुरु भएको दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रदर्शन मिश्रित रह्यो ।
नेपाल च्याम्पिया फिडेमास्टर रुपेश जयसवालले बंगलादेशका २११३ रेटेट अब्दुल मलेक मोहम्मदलाई पराजित गरे । रुपेशले २८औं चालमा अब्दुललाई निराश पारेका हुन् ।
त्यस्तै १४ वर्षीय उदीयमान युवा खेलाडी १८३४ रेटेट पुरुषोत्तम सिलवालले भुटानका अनरेटेट डिक्चेन दोर्जीलाई सहज रुपमा ३४औं चालमा निराश पारे ।
पूर्व नेपाल च्याम्पियन २०३२ रेटेट सूरवीर लामा भने बंगलादेशका २२०६ रेटेट हसन पराग मेहदीसँग पराजित भए। सुरवीरले राम्रो खेले पनि अवसरको फाइदा लिन नसक्दा खेलको ५२औं चालमा आत्मसमर्पण गर्न बाध्य भए ।
राउण्ड रोबिन प्रणालीमा गोदावरीको होटेल भ्यू भृकुटीमा सञ्चालन भएको प्रतियोगितामा नेपालका २०२४ रेटेड फिडे मास्टर क्षितिज भण्डारी र पाकिस्तानका २०४६ रेटेड फिडे मास्टर अमिर करिमबीचको खेल प्रतिस्पर्धामक रहयो ।
रोचक रुपमा आक्रमण प्रत्याक्रम भएको खेलमा खेलको ७० औं चालमा पाकिस्तान खेलाडी अमिरले बाजी मारे ।
खुल्लातर्फ नेपाल, पाकिस्तान, बंगलादेश, भुटान र भारतका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा भारतका डिफेन्डिङ च्याम्पियन २४१५ रेटेट इन्टरनेशनल मास्टर नुबैर शाह शेखले भारतकै २५०८ रेटेड ग्राण्ड मास्टर सयान्तन दिनालाई पराजित गरे ।
निकै कठिन रोचक खेलमा नुबेरले आफू भन्दा उच्च रेटेड ग्राण्ड मास्टर सयन्तनलाई खेलको ५८औं चालमा सिकार बनाए ।
यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ र एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सिंह चौहानले संयुक्तरूपमा गरेका थिए । प्रतियोगिता ६ दिनसम्म चल्नेछ ।
प्रतिक्रिया 4