+
+
सहकारी संकट-५ :

तुलसी सहकारी घोटाला : सिटी सफारी चलाएर ८ वर्षमा कमाएको सबै पैसा सहकारीले खाइदियो

हरि अधिकारी हरि अधिकारी
२०८० असार १४ गते २१:२४

१४ असार, विराटनगर । विराटनगर महानगरपालिका–५ का पूर्णकुमार श्रेष्ठ ‘विराटनगर १ ह १५७’ नम्बरको सिटी सफारी चलाउँछन् । उनले सफारी चलाउन थालेको ८ वर्षजति भयो । त्यसअघि भने टेम्पो चलाउँथे ।

सिटी चलाउँदा राम्रै कमाइ भयो । दिनभरिको कमाइ २०७२ सालदेखि तुलसी बहुमुखी सहकारी संस्थामा बचत गर्न थाले । छोरा र उनको नाममा सहकारीमा १३ लाख ५० हजार जम्मा भइसकेको छ । यो रकम गाँस कटाएर गरेको दैनिक बचत हो । सहकारी डुबेपछि उनी तनावमा छन् । सात वर्षको कमाइ कसरी उठाउने भन्ने चिन्ता छ ।

‘सिटीबाट कमाएको पैसामध्ये दैनिक ४–५ पाँच सय घरका लागि राखेर बाँकी जम्मा सहकारीमा गरिदिन्थें, सिटी बिग्रँदा साथीभाइसँग सापटी लिएर पनि बचत गर्थें,’ श्रेष्ठले भने ।

सुरुमा सिटी सफारीमा राम्रो आम्दानी गरेका उनी बचतमा पाउने ब्याज र सुविधाको लोभमा सहकारीमा जोडिएका थिए । ‘सालीले छोराको नाममा खाता खोलेपछि मैले पनि खोलेँ, छोराको नाममा दैनिक बचत गरें,’ उनले भने, ‘सुरु सुरुमा त राम्रै भयो, अहिले मेरो ७–८ वर्षको कमाइ फस्यो ।’

मेहनतको पैसा डुबेका कारण उनी तनावमा छन् । ‘यो त मेरो मेहनतले कमाएको पैसा हो,’ उनले भने, ‘म जस्ता कति धेरै फसेका छन् ।’

उनले वैदेशिक रोजगारीमा साउदी अरेबिया र कतारमा कमाएको पैसाले विराटनगरमा घर बनाएका छन् । त्यसपछि केही समय टेप्पो चलाए । टेप्पो चल्न छाडेपछि सिटी सफारी चलाउन सुरु गरेका थिए ।

उनले दैनिक बचतबाहेक मुद्दती निक्षेपको खाता पनि खोलेका थिए । उनका अनुसार छोराको नाममा खोलेको खाता पाँच वर्ष पुगेपछि कर्मचारीले पुनः प्रलोभन देखाएपछि थप पाँच वर्ष थपेका थिए । तर, सहकारीका सञ्चालकहरु गत १ फागुनदेखि भागे । अफिस पनि सोही दिनदेखि बन्द छ । ‘भएभरको जति कमाएँ, सबै जम्मा गरें, मसँग अहिले फुटेको कौडी छैन,’ उनले भने, ‘अहिले १० हजारको केही काम गर्नु पर्‍यो भने ऋण खोज्नुपर्छ । यस्तो अवस्थामा पुर्‍याइदिएको छ सहकारीले ।’

विराटनगर महानगरपालिका– २ दुर्गाचोकका रुद्र अधिकारी पेशाले व्यवसायी हुन् । तुलसी बहुमुखी सहकारी संस्थामा उनको ४१ लाख रुपैयाँ फसेको छ । सहकारीमा मुद्दती निक्षेपमा पैसा राखेका उनी अहिले तनावमा छन् ।

सहकारीबाट पीडित व्यवसायी रूद्र अधिकारी ।

अधिकारीले सुरुमा ३ वर्षका लागि मुद्दतीमा रकम राखे, त्यो म्याचुअर्ड भएपछि थप एक वर्षका लागि राखे । त्यो पनि म्याचुअर्ड भएपछि सहकारीका कर्मचारीले पाँच वर्षका लागि राख्न आग्रह गरे । १५–१६ प्रतिशतसम्म ब्याजदर पाउने भएपछि उनले पाँच वर्षका लागि मुद्दतीमा पैसा राखेका थिए । ‘सुरुमा मलाई सहकारीप्रति विश्वास थिएन, कारोबार गर्दै गएपछि भयो,’ उनले भने, ‘सहकारी डुब्दै गर्दा बचत चाहिँ निकालें । मुद्दतीको पैसा पैसा अड्कियो ।’

सहकारीले अन्य व्यवसाय पनि गरिरहेका कारण नडुब्ने आशमा उनी थिए । अधिकारीले भने, ‘सहकारीको लगानी भएको बिजनेस सबै बैंकको लोनमा रहेछन् ।’

आफ्नो रकम फिर्ताका लागि पटकपटक आग्रह गरे पनि नपाएको उनी गुनासो गर्छन् । गत फागुनमा प्रहरीले संस्थाका उपाध्यक्ष, सचिव र व्यवस्थापकलाई पक्राउ गरेपछि बचतकर्ताले सुरुमा बचत फिर्ता हुन्छ भने, त्यसैले जाहेरी नदिने पक्षमा उभिएँ । तर, सहकारीका अध्यक्ष केदारनाथ शर्मा फारार थिए, पक्राउ परेका उपाध्यक्ष, सचिव र व्यवस्थापकले रकम फिर्ता दिन तयार भएनन् । त्यसपछि मुद्दा प्रक्रियामा गयो । ठगी मुद्दामा गत २४ चैतमा जिल्ला अदालत मोरङको आदेशपछि उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास पुर्पक्षका लागि थुनामा छन् ।

जागिरे जीवन सकिएपछि पाएको पेन्सनबापत एकमुष्ट पाएको ७५ लाख रुपैयाँ आचार्य थरका पुरुषले तुलसी बहुमुखी सहकारीमा मुद्दती निक्षेपमा राखेका थिए । सहकारीकी म्यानेजर सुनिधि पोखरलले घरमै गएर सहकारीमा पैसा राख्न आग्रह गर्दै सहकारी डुबे आफूले तिर्ने बचन दिएकी थिइन् । तर सहकारी नै डुबेपछि उनी पछि हटिन्, आचार्यको ७५ लाख रुपैयाँ कसरी आउने भन्ने चिन्ता छ । रकम डुबेका कारण उनी मानसिक तनावमा पनि छन् ।

विराटनगर नर्सिङहोम चोकमा दुग्ध पसल सञ्चालन गर्दा युवराज गौतमले सहकारीमा ३ लाख रुपैयाँ बचत गरेका थिए । दैनिक बचत गरेको उनको रकम पनि फर्ता आउने टुङ्गो छैन । सहकारीबाट पैसा फिर्ता पाउने झिनो आश मात्रै छ ।

०००

२०५२ सालमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्थाको सञ्चालनको जिम्मा २०७२ सालमा केदारनाथ शर्माले लिएका थिए । विराटनगरको विराट नर्सिङहोम चोकमा कार्यालय खोलेर सहकारी सुरु गरेका उनले सात वर्षको अन्तरालमा झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा शाखा कार्यालय विस्तार गरे ।

मुख्य कार्यालय विराटनगर र तीन वटा शाखा कार्यालयबाट सहकारीले २१ हजार १ सय ५४ जना बचतकर्ताको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत संकलन गरेको छ ।

तुलसीको विराटनगर कार्यालयले ६० करोड ४१ लाख ८ हजार, दमक शाखाले ६० करोड ७२ लाख ९३ हजार, गाइघाट शाखाले २३ करोड ६६ लाख ९६ हजार र गोलबजारशाखाबाट ९४ लाख ४६ हजार रुपैयाँ बचत संकलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

सहकारी डुबेपछि सर्वसाधारणको बचत जोखिममा परेको छ । सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालक शर्माले अनाधिकृत रुपमा आफ्नो कम्पनीमा ऋण प्रवाह गरेका थिए । ऋण प्रभाह गरेका कम्पनी पनि टाट पल्टिएका छन् ।

गत १ फागुनमा सहकारीको कार्यालय बन्द छ । ठगी मुद्दामा पक्राउ परेका सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवास जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि कारागारमा छन् । फरार रहेका अध्यक्ष केदारनाथ शर्मा पनि सोमबार भारतबाट पक्राउ परेका थिए ।

अनुसन्धानमा खटिएको प्रहरी स्रोतका अनुसार सर्वसाधारणको एक अर्ब ४५ करोड बचत मध्ये ४१ करोड भन्दा बढी रकम सहकारीका अध्यक्ष केदारनाथ शर्माले आफ्नो ६ वटा निजी कम्पनीमा लगानी गरेका छन् ।

शर्माको नाममा ४३ वटा कम्पनी छन् । शिखर अर्गनाइजेसन युनाइडेट मातहत रहेका ४३ मध्ये ६ वटा कम्पनीमा तुलसी सहकारीको ४१ करोड ६३ लाख ९५ हजार ३७८ रुपैयाँ ऋण लगानी गरेको देखिएको छ । यो लगानी सहकारी ऐनविपरीत माइन्युटको भरमा गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो ।

सहकारीको विराटनगर स्थित केन्द्रीय कार्यालयबाट तुलसी मोटर पम्प प्रालिमा २४ करोड ५ लाख, ५७ हजार रुपैयाँ लगानी भएको छ । सो कम्पनी अहिले बन्द छ । त्यस्तै, नटराज एग्रो प्रालिलाई ४ करोड २८ लाख ८० हजार रुपैयाँ, शिखर अर्गनाइजेसन प्रालिलाई ५ करोड ६७ लाख ५० हजार रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको दमक शाखाबाट गोर्खा टी एण्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार ७८७ रुपैयाँ, शिवशिखर अर्गनाइजेसन प्रालिलाई १ करोड ४२ लाख ८४ हजार १३८ रुपैयाँ ऋण लगानी गरेको छ । गाइघाट शाखाबाट तुलसी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार २०२ रुपैयाँ लगानी गरेको छ ।

केदारनाथ शर्मा ।

सहकारीको सेयर पूँजी र निक्षेप समेत गरेर कुल पूँजी १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २ सय ९१ रुपैयाँ छ । जसमध्ये एक अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ ऋण लगानी गरेको छ । ऋण लगानी सहकारीका अध्यक्ष शर्माले आफ्नो कम्पनीमा गरेको लगानीसहितको हो । सहकारीमा १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ खर्चको हिसाब नै नभेटिएको प्रहरीको दाबी छ ।

बचतकर्ताको पैसाबाट सहकारीले उदयपुरमा चारतले भवन बनाएको छ । जसमा गार्डेन मार्ट सञ्चालन गर्ने तयारी थियो । मोरङको लेटाङमा मार्ट सञ्चालनका लागि सहकारी मार्फत नै पाँच करोड लगानी गरेको छ ।

सिरहाको गोलबजारमा सहकारीको कार्यालय र गार्डेन मार्ट खोल्नका लागि चार करोड लगानी गरिएको छ । झापाको दमकमा गार्डेन मार्टमा २५ करोड लगानी गरेको छ । अध्यक्ष शर्माको नाममा विराटनगर– ३ मा एक करोड ८० लाखमा घरसहित १५ धुर जग्गा खरिद गरेको देखिएको थियो ।

सहकारीको केन्द्रीय कार्यालय विराटनगरमा १० हजार १ सय ७८ वटा निक्षेप खाता छन् । त्यस्तै दमक शाखामा ६ हजार ९६८, गाइघाट शाखामा ३ हजार ३ सय ३४, गोलबजार शाखामा ६७४ सहित २१ हजार १५४ वटा खाता थिए ।

सहकारी संकट-१

सहकारी संकट-२

सहकारी संकट-३

सहकारी संकट-४

सहकारी संकट
लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?