+
+

समकक्षता प्रमाण पत्र माग्दा आस्थाले खेपेको खप्की

‘एउटा विद्यार्थीले राज्यबाट यति अभद्र व्यवहार सहनुपर्ने ?’

नुनुता राई नुनुता राई
२०८० असार १८ गते २१:०१

१८ असार, काठमाडौं । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट अपराध शास्त्रमा एमफिल, पीएचडी गरेकी आस्था दाहाल २०७८ सालमा नेपाल फर्किइन् ।

नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक (एलएलबी) गरेकी उनले पुरानो विद्यार्थी भएको नाताले ‘पार्टटाइम’ जागिर पाइन्छ कि भनेर कुरा गर्न गइन् । क्याम्पसले समकक्षता प्रमाण पत्र लिएर आउन भन्यो ।

विदेशी विश्वविद्यालय अध्ययन गर्नेहरुले नेपालमा उच्च शिक्षा पढ्न अथवा कुनै रोजगारीका लागि आवेदन दिन त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता प्रमाण पत्र लिनुपर्छ । उनले तत्काल आवेदन दिइन् ।

एमफिलको समकक्षताको लागि एक हजार रुपैयाँ (त्रिविको सूचीमा भएको विश्वविद्यालयबाट पढेको अवस्थामा तोकिए अनुसार) र पीएचडीको लागि ४ हजार रुपैयाँ बुझाएर आवेदन दिएकी उनले त्रिभुवन विश्वविद्यालयका कर्मचारीको धेरै हप्की खाइन्, तर आजसम्म समकक्षताको प्रमाणपत्र पाउन सकेकी छैनन् ।

अस्थाका अनुसार आवेदनका साथमा कागजात बुझाएपछि कर्मचारीबाट ‘खबर गर्छौं’ भन्ने जवाफ पाएकी थिइन् । तीन हप्तासम्म खबर नआएपछि आफैं बुझ्न गइन् । एक कर्मचारीले ‘तपाईंको ब्याचलर्सपछि एमफिल रहेछ मास्टर्स नै रहेनछ । मास्टर्स नभएपछि बोर्डमा राखेर निर्णय गर्नुपर्छ’ भन्ने जवाफ दिए ।

आस्थाले क्याम्ब्रिज विश्वविद्यालयमा स्नातकोत्तरलाई नै एमफिल भनिने जानकारी गराइन् । तर अर्का कर्मचारीले ‘सफ्टकपी बुझाउनुभएको रहेछ, हार्डकपी पनि बुझाउनुपर्छ’ भने । आस्थाले तत्काल एमफिल र पीएचडीको थेसिस प्रिन्ट गरेर लगिन् ।

तर कर्मचारीले हराउँछ भनेर बुझ्न नमानेको आस्थाले सुनाइन् । ‘अहिले बुझाएर त हुँदैन, यहाँ हराउँछ । हरायो भने तपाईं जिम्मा लिनुहुन्छ ?’ भनेर झन् झपारे ।

काम नभएपछि आस्थाले ‘मेरो पैसा फिर्ता दिनुहोस्, समकक्षता प्रमाण पत्र (इक्वीभ्यालेन्ट) लिन्नँ’ भनिन् ।

कर्मचारीले पैसा फिर्ता हुँदैन भन्ने जवाफ दिए ।

त्यसपछि उनी चुपचाप बसिन् । ‘अब मलाई चाहिन्न यिनीहरुको इक्वीभ्यालेन्ट, टियुले नगरेपनि अरु क्षेत्र छन् जसले क्याम्ब्रिज विश्वविद्यालयको डिग्रीलाई महत्व दिन्छ भनेर छोडेको थिएँ’ आस्थाले भनिन् ।

आस्थाले काठमाडौं विश्वविद्यालयमा अध्यापन गराउन थालिन् । र दुई हप्ताअघि एक आफन्तले चिनेको कर्मचारीमार्फत फाइल अगाडि बढाउन सजिलो हुने सुझाव दिए । त्यसपछि काम हुने आशामा उनी फेरि त्रिविको पाठ्यक्रम विकास केन्द्र पुगिन् ।

आस्थाले यसअघि बुझाएको कागजात हेर्दै त्यहाँका एक कर्मचारीले भने, ‘खै त तपाईंले त केही बुझाउनुभएको रहेनछ ? थेसिस पनि छैन, यहाँ त पेनड्राइप चाहिन्छ, प्लेजरिजम (वौद्धिक चोरी) चेक गर्नुपर्छ ।’

आस्थाले यसअघिका कर्मचारीले थेसिस हराउँछ भनेर बुझ्न नमानेको र प्लेजरिज्म जाँचबारे जानकारी नै नगराएको बताइन् । ती कर्मचारीले एमफिल र पीएचडीका थेसिस फरक–फरक पेनड्राइभमा लिएर आउन सुझाए । आस्थाले त्यसै गरिन् । वौद्धिक चोरी जाँचका लागि मागे अनुसार एमफिल र पीएचडीका थेसिसको २५००/२५०० रुपैयाँ बुझाएको पनि उनी बताउँछिन् ।

त्यसपछि राहदानी माग गरे । पासपोर्टमा एमफिल गर्न नेपाल छोडेको र बेलायत प्रवेश गरेको अनि नेपाल फर्केको र पीएचडीको लागि नेपाल छोडेको, बेलायत प्रवेश गरेको र फेरि नेपाल फर्केको मितिमा स्ट्याम्प चाहिन्छ भनियो ।

पहिले नै बेलायतको प्रवेशाज्ञा (भिसा) को फोटोकपी बुझाएकी उनले राहदानीको पनि फोटोकपी बुझाइन् । कागजात नेपाल ल क्याम्पसमा पठाउने जानकारी पाइन् ।

आइतबार त्रिविका कर्मचारीले फोन गरेर एमफिलको समकक्षताका लागि चार हजार रुपैयाँ चाहिनेमा एक हजार रुपैयाँ मात्र बुझाएको भने । ‘तपाईंले त एमफिलको लागि एक हजार मात्रै तिर्नुभएको रहेछ चार हजार तिर्नुपर्दैन ? भन्नुभयो’ उनले भनिन् ।

आस्थाले त्रिविमा सूचीकृत विश्वविद्यालयका लागि एक हजार रुपैयाँ मात्र लाग्ने भनिएको बताइन् । तर कर्मचारीले चार हजार नै तिर्नुपर्ने बताए । आस्थाले पहिले नै एक हजार तिरिसकेकाले अब तीन हजार तिर्ने भन्दा पनि चार हजार नै चाहिन्छ भनेको बताइन् ।

त्यसपछि कर्मचारीले ‘डाइरेक्टरसँग कुरा गर्नुहोस्’ भनेर फोन राखेको उनले बताइन् ।

दुई वर्षसम्म झुलाएको त्रिविका कर्मचारीले हप्कीदप्की गरेपछि आस्थाले आइतबार फेसबुकमा बह पोखिन् ।

त्यसमा कमेन्ट गर्दै अरुले पनि यस्तै दुःख पाएको सुनाएका छन्, त्रिवि पदाधिकारी र कर्मचारीको आलोचना गरे । सोमबार विहान त्रिवि पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा. डा. पारसनाथ यादवका स्वकीय सचिवले आस्थालाई फोन गरेर प्रमुखलाई नभेटेर सामाजिक सञ्जालमा लेखेकामा गुनासो गरे ।

तर आस्थाको प्रतिप्रश्न छ, ‘मैले प्रक्रियागत पाउनुपर्ने कागजातको लागि किन प्रमुख कहाँ जाने हो र ?’

देश फर्किएर काम गर्न मन भएर फर्किएको आफूले यो दहको दुःख पाउँदा साह्रै चित्त दुखेको उनले सुनाइन् । उनले अघि भनिन्, ‘मैले पढेको विश्वविद्यालयको विश्वसनीयता छैन र ? एउटा विद्यार्थीले दुःख गरेर पाएको प्रमाणपत्र प्रमाणीकरण गरिदिनु भन्दा राज्यबाट यति असभ्य, अभद्र व्यवहार सहनुपर्ने ?’

त्रिवि पाठ्यक्रम विकास केन्द्रका प्रमुख डा. यादवले आस्थाको समस्याबारे आफूले सुनेको, तर कागजात हेर्न नपाएको बताए । ‘कुरा आएको छ , भिसी सरले पनि मेसेज पठाउनुभएको छ, तर आज जरुरी बैठकहरुको कारण बुझ्न पाएको छैन’ उनले अनलाइनखबरसँग भने, सकेसम्म आजै फाइल हेर्छु । यसबारे के भएको रहेछ भन्ने चाहिँ विस्तृतमा बुझेर भोलि मात्रै भन्न सक्छु ।’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?