+
+

ओलीले प्रचण्ड सचिवालयको ‘प्रेस नोट’ पढेपछि भाँडियो सहमति

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असार २४ गते २०:४६
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले केपी शर्मा ओलीबीचको भेटवार्ता ।

२४ असार, काठमाडौं । प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिने र प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध हटाउने सहमति भाँडिएको छ । त्यहीकारण आइतबार संसद बैठक समेत सूचना टाँसेर स्थगित गरिएको छ ।

संसद बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।

१८ असारमा एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक दिल्ली गएको’ भनेकोमा आपत्ति जनाउँदै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री आफ्नो अभिव्यक्ति सच्याउन तयार भएपछि एमाले अध्यक्ष ओली पनि राजीनामाको माग छाड्न सहमत भए ।

‘प्रधानमन्त्रीले आफूले दिएको एउटा अभिव्यक्ति विवादास्पद भएको उल्लेख गर्दै आत्मालोचना गर्ने बताउनुभयो’ एमालेका एक सांसद भन्छन्, ‘आत्मालोचना गर्न तयार हो भने ठीक छ भनेर हाम्रो अध्यक्षले पनि समर्थन जनाउनुभयो ।’

त्यसपछि नेताहरु छुट्टिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुलाई ‘भरे हेर्नुहोला’ भन्दै एमाले अध्यक्ष संसदीय दलको कार्यालयमा पुगे । ओलीले ‘प्रधानमन्त्रीले आत्मालोचना गर्छु, माफी माग्छु भनेपछि त्यो सुन्ने कुरा भएको छ’ भन्दै संसदको अवरोध हटाउन निर्देशन दिए । लगत्तै एमाले प्रमुख सचेतक पदम गिरीले भनेका थिए, ‘प्रधानमन्त्रीले आत्मालोचना सहित संसदलाई आश्वस्त पार्नुभयो भने सदन खुल्छ ।’

संसद बैठकको समय भएपछि एमाले अध्यक्ष ओली संसद भवन, बानेश्वरतर्फ गए । एमाले सांसद सुनिता बराल पनि उनकै गाडीमा थिइन् । स्रोतका अनुसार बानेश्वर जाने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको गाडी ओलीको गाडीलाई उछिनेर अगाडि बढ्यो ।

त्यही क्रममा एमाले सांसद बरालले अध्यक्ष ओलीलाई उपप्रधानमन्त्री श्रेष्ठले २१ असारमा गरेको ट्वीटको प्रसंग सुनाइन् । श्रेष्ठले संसद अवरुद्ध हुँदा मिटरब्याज पीडितहरुको पक्षमा ल्याएको अध्यादेश रोकिएको भन्दै लेखेका थिए, ‘यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने प्रष्ट भएको छ ।’

ओलीले यसबारे अनभिज्ञता प्रकट गरेपछि प्रधानमन्त्रीको निजी सचिवालयले जारी गरेको ‘प्रेस नोट’बारे कुरा भयो । ‘उहाँले त्यो शृंखला याद गर्नुभएको रहेनछ’ ओलीको निजी सचिवालयका एक अधिकारीले भने, ‘सुरुमा त उहाँले बोलेको मात्र होला, लेखेकै छ र भन्नुभयो । हामीले देखाएपछि आफैं पढ्नुभयो ।’

नयाँबानेश्वर पुगेपछि उनले प्रधानमन्त्री प्रचण्डलाई फोन गरे । उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठको ट्वीटसँगै प्रधानमन्त्रीको निजी सचिवालयको विज्ञप्तिप्रति असन्तुष्टि जनाए । एमालेमाथि गम्भीर आरोप लगाइएको भन्दै उनले आत्मालोचना गरेर यसलाई पनि फिर्ता लिनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने निजी सचिवालयले निकालेको वक्तव्यबारे अनभिज्ञता प्रकट गरे ।

त्यसपछि ओलीले ‘नारायणकाजीको विषयमा कुरा पछि गरौंला । वक्तव्य तपाईंको सचिवालयबाट आएको हो । तपाईंलाई थाहै छैन भने निकाल्नेलाई कारबाही गर्नुस् नभए आरोप पुष्टि गर्नुस्’ भनेका थिए । प्रधानमन्त्रीले वक्तव्यको जिम्मा नलिएपछि ओलीले ‘संसद खोल्ने सहमति छैन है’ भन्दै फोन राखेका थिए ।

यससँगै संसदको अवरोध हटाउने सहमति उल्टियो । सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको अनौपचारिक बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको जवाफ सुनेपछि मात्र अवरोध हट्ने नहट्ने प्रष्ट हुने बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘उधारो सम्झौता’ नहुने जवाफ दिए । ‘शीर्ष नेताका बीचमा स्पष्टीकरण सुनेर सदनको अवरोध खुलाउने सहमति भएको हो । स्पष्टीकरण सुनेपछि पनि अवरोध गर्ने जस्तो उधारो कुरा गरेर हुँदैन’ उनले भने ।

माओवादी केन्द्र मुख्य सचेतक हितराज पाण्डेले शीर्ष तहमा भएको सहमति जे हो त्यही कार्यान्वयन गर्नुपर्ने बताए । ‘शीर्ष तहमा एउटा कुरा सदनमा अर्को कुरा गर्दा शीर्ष तहको छलफलको औचित्यमाथि नै प्रश्न उठ्छ’, उनले भने ।

तर एमालेले संसदको अवरोध हटाउने प्रष्ट जवाफ नदिएपछि प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गरेर ‘शीर्ष तहमा भएको सहमति कार्यान्वयनमा केही बुझाइ फरक पर्न गएको’, जानकारी गराएका थिए । जवाफमा सभामुख घिमिरेले ‘अवरोधका बीच सदन चलाउने आफ्नो चाहना नरहेको’ बताए । यही संवादका आधारमा सभामुखको निर्देशनमा आइतबार दिउँसो ३ बजेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी सोमबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बैठक स्थगित भएपछि संसद भवनबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले एमालेप्रति लगाइएको आरोपहरु फिर्ता लिनुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डकै कारण संसद चल्न नसकेको भदै उनले भने, ‘उहाँ (प्रधानमन्त्री) ले हामीमाथि गम्भीर आरोप लगाउनुभएको छ । त्यो फिर्ता लिनुभएको छैन । त्यो गम्भीर आरोप कायम राखेर हामीले सहमति गर्ने कुरा भएन ।’

के थियो आरोप भन्ने पत्रकारहरुकाे प्रश्नमा ओलीले ‘२१ गतेको स्टेटमेन्ट पढ्न’ सुझाए ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद अवरुद्ध गरेपछि असार २१ गते प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस नोट जारी गरेका थिए, जसमा प्रचण्डले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको दाबी गरिएको छ ।

संसदमा प्रष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्रीको भनाइको एकपक्षीय ढंगले प्रचारप्रसार गरिएको उल्लेख गर्दै प्रेस नाेटमा लेखिएको छ, ‘…प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’

एमालेले नियोजित रुपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निष्क्रिय भएको र मिटरब्याज पीडित किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको बताएका थिए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?