+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
एक क्विन्टल सुन तस्करी प्रकरण :

एक भन्सार अधिकृतसहित ३ कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० साउन ७ गते १७:१५
फाइल तस्वीर

७ साउन, काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।

आइतबार पक्राउ पर्नेमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् ।

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा पनि पक्राउ परेका छन् ।

‘तस्करीको सुन जाँचपासमा संलग्न एक अधिकृतसहित तीन जना कर्मचारी र तीन जना भन्सार एजेन्ट पक्राउ गरी म्याद थपको लागि पठाइएको छ’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘तस्करीमा संलग्न अन्यको खोजी र अनुसन्धान जारी छ ।’

यसअघि विभागले गत मंगलबार सुन तस्करीका बिचौलिया राजेन्द्र राई र ट्याक्सी चलक अशोक लामालाई भन्सार कार्गो गेटबाट सुनसहित पक्राउ गरेको थियो ।

सोही दिन राति सुन आयात गर्ने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल पक्राउ परेका थिए भने सुन तस्करीका लागि कम्पनी खोल्न सघाउने उनका मामा रामकुमार भुजेललाई पनि विभागले पक्राउ गरेको थियो । राई मामा भान्जाको सहयोगमा विभागले उनीहरुलाई कम्पनी खोल्न सहजीकरण गरेका हर्कराज राई र तिब्बतीयनमूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई पनि नियन्त्रणमा लिएको थियो ।

यस्तै सुन तस्करीमा संलग्न खोज्ने क्रममा विभागले बिहीबार नेपालमा सुन आयात गरेर वितरणमा संलग्न चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई पक्राउ परेको थियो । उनी सुन तस्करीका नेपालका नाइके रहेको अनुमान गरिएको छ ।

यस्तै सुन आयात गर्ने कम्पनीको सामान आयात गर्ने कार्गो कम्पनीका ३ जना सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्टलाई विभागले शुक्रबार नियन्त्रणमा लिएको थियो ।

मंगलबार र बुधबार पक्राउ परेकाहरुमाथि अदालतबाट १० दिन म्याद थप गरी विभागले अनुसन्धान गरिरहेको छ ।
आइतबार पक्राउ गरेकाहरुलाई पनि म्याद थप भइसकेको विभागले जनाएको छ ।

गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो । सो सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

 

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?