+
+

लाइभ बैठकका निर्णय लेख्न कांग्रेसमा गलफती, पदाधिकारी अनिर्णित

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाँणको निलम्बन मुद्दालाई पार्टीले अनिवार्य निर्णय गराइछाड्नुपर्ने, अनि मात्रै कांग्रेसले विधिको शासनमाथि राख्दै आएको प्रतिबद्धताको परिपालना हुने अडान लिए ।

बसन्त बस्नेत लिलु डुम्रे बसन्त बस्नेत, लिलु डुम्रे
२०८० साउन ९ गते २१:४७
फाइल तस्वीर : नेपाली कांग्रेसका पदाधिकारीहरु ।

९ साउन, काठमाडौं । सानेपा मूख्यालयमा ६ दिनसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय लेख्न सभापति शेरबहादुर देउवाले पदाधिकारीहरुलाई मंगलबार साँझ धुम्बाराही निवास डाके ।

सुरुमा देउवाले संक्षिप्त बोले, ‘ल साथीहरु बैठक सुरु भयो । सबैले आफ्ना कुरा पालैपालो राखौं ।’ महामन्त्री विश्वप्रकाश शर्माले पाइन्टको देब्रे खल्तीबाट मोबाइल फोन झिकेर देउवातिर तेर्स्याउँदै जिस्क्याए, ‘आज पनि लाइभ गर्ने कि सभापतिज्यू ?’

सबै पदाधिकारीहरु हाँसे । हँस्यौलीमा देउवा पनि मिसिए । उनले शर्मातिर हेर्दै जवाफ दिए, ‘यो त कहाँ लाइभ हुन्छ यार ? अनौपचारिक पो त ।’

देउवाको तर्फबाट बोल्दै कार्यवाहक प्रधानमन्त्री तथा उपसभापति पूर्णबहादुर खड्काले बैठकका छलफललाई ‘फाइन–ट्युन’ गर्ने, आवश्यक ठाउँमा परिमार्जन गर्ने कामको तयारी गर्नुपर्ने बताए । ‘सबै छलफललाई जस्ताको तस्तै लेख्न सम्भव नभए पनि मूख्य कुराहरु नछुटुन्, सबैको भावना आओस्, त्यसरी निर्णयहरु लेख्नुपर्छ साथीहरु,’ उनले भने ।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाँणको निलम्बन मुद्दालाई पार्टीले अनिवार्य निर्णय गराइछाड्नुपर्ने, अनि मात्रै कांग्रेसले विधिको शासनमाथि राख्दै आएको प्रतिबद्धताको परिपालना हुने अडान लिए ।

एक नेताले अनलाइनखबरसँग भने, ‘आज खाँणकै विषयमा निकैबेर गलफत्ती भयो, तीन घण्टाको बैठकमा निकै समय यही विषयले खायो ।’

थापाले सभापतिलाई आग्रह गर्दै भने, ‘मान्छेहरुले हामीलाई यो निर्णयका आधारमा मूल्यांकन गर्नेछन्, त्यसैले को व्यक्ति भन्ने मुख्य होइन, हामीले के गर्‍यौं भन्ने मुख्य हो । निर्णय लेख्न खुट्टा नकमाऔं ।’

देउवा पक्षका केही पदाधिकारीले भने अहिले खाँण निलम्बनबारे निर्णय लेख्न हतार नगरे पनि हुने तर्क गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय कार्यसमितिकै तर्क दोहोर्‍याउँदै खाँण लगायत कांग्रेसका प्रभावशालीविरुद्ध नियोजित रुपमा राज्यका केही मान्छे लागेको भन्दै नेतृत्वले समयमै बुझ्नुपर्ने उल्लेख गरे । एक नेताले अनलाइनखबरसँग भने, ‘आज खाँणकै विषयमा निकैबेर गलफत्ती भयो, तीन घण्टाको बैठकमा निकै समय यही विषयले खायो ।’

त्यसपछि बैठक भोलि ११ बजे फेरि बस्ने गरी विना निष्कर्ष टुंगिएको छ । भोलिको बैठकस्थल भने किटान गरिएको छैन । बैठकका समग्र निर्णयको मस्यौदा गर्ने जिम्मा महामन्त्री शर्मालाई दिइएको एक सहभागीले बताए । शर्माले भने आफूले मात्रै निर्णयको मस्यौदा नगर्ने दाबी गरे ।

यद्यपि खाँण निलम्बनबारे कुनै निर्णय नगरी बैठक सकिने सम्भावना बढ्ता रहेको केही पदाधिकारीले संकेत गरे ।

बुधबार बस्ने पदाधिकारी बैठकले नीति महाधिवेशनको मिति तोक्ने भएको छ । महामन्त्री शर्माले अनलाइनखबरलाई दिएको जानकारी अनुसार भोलि बुधबार पदाधिकारी बैठक सुरु हुनुअघि सभापति देउवा र दुई महामन्त्री छुट्टै छलफलमा जुट्नेछन् । त्यही छलफलले नीति महाधिवेशनको मितिलाई अन्तिम टुंगो दिने छ ।

आजको बैठकमा सबै पदाधिकारीका अतिरिक्त प्रवक्ता प्रकाशशरण महत, प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।

१० दिनपछि संसदीय दल बैठक बस्ने, त्यसलाई समेत लाइभ गर्ने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए । ‘रणनीतिक छलफल हुने केन्द्रीय कार्यसमिति बैठक त लाइभ गराएर सन्देश दियौं, संसदीय दलमा लुकाउनुपर्ने के हुन्छ र ?’ उनले भने, ‘केही गोप्य तयारीका विषय भए छुट्टै कुरा । नत्र यस्ता बैठक लाइभ नै गर्ने हो ।’

बागी र अन्तर्घातीलाई के गर्ने ?

पोहोर मंसिरको आम चुनावमा अन्तर्घात गर्ने, बागी उठ्ने आधिकारिक उम्मेदवार हराउन लाग्नेलाई के कसरी उन्मुक्ति दिने भन्ने निर्णय लेख्नमा आजको बैठकमा लामै मतान्तर भएको छ ।

जारी केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाले अनुशासन उल्लंघनकर्ताको सूची पेश गर्दै तिनलाई कसरी फेरि पार्टी काममा फर्काउने भन्नेबारेमा प्रस्ताव राखेका थिए ।

बागी, अन्तर्घाती र अनुशासन उल्लंघनकर्ताको पहिचान गर्नेमा नै पदाधिकारी बाँडिएका छन् । देउवा निकट पदाधिकारीले उनीहरुलाई विधान कुल्चेर अनुशासन तोडे पनि सहजै कारबाही फुकुवा गरिएको सन्देश जान नहुने अडान लिएका छन् । उनीहरुले गरेको गल्तीको पहिचान हुनेगरी नै निर्णयमा लेखिनुपर्ने तर्क गरेका छन् । तत्कालीन कांग्रेस, माओवादी लगायतको गठबन्धनको विपक्षमा उभिनेहरुलाई अनुशासन तोडेको स्वीकारोक्ति गराउनुपर्ने उनीहरुको मत छ ।

देउवा इतर समूहका पदाधिकारीले भने फरक तर्क पेश गरेका छन् । कारबाही सिफारिस भएकाहरुले हामी रुखबाहेक अरु चिह्नमा भोट हाल्दैनौं भन्नु पार्टी अनुशासनको उल्लंघन नभएको उनीहरुको भनाइ छ ।

‘म पार्टीका पक्षमा छु, त्यसैले पार्टीको निर्णय मान्दिनँ भनेका हुन्, खासमा ती पार्टीका असाध्यै प्रतिबद्ध साथीहरु हुन्’, देउवा इतर पक्षका पदाधिकारीले धुम्बाराही बैठकमा राखे, ‘उनीहरुलाई सहज भावमा पार्टीमा स्वागत गर्नुपर्छ । प्रतिकुल भावना आउन नदिई काममा जिम्मेवारी दिनुपर्छ ।’

यो गलफत्ती बढ्दै जाँदा बैठक निष्कर्षमा पुग्न सकेन ।

बुधबारको बैठकले सरकारलाई पछिल्ला राष्ट्रिय सरोकारबारे गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ । शिक्षा ऐन, निजामती कर्मचारी ऐन, लम्पी स्किनका पीडित, भ्रष्टाचार र सुशासन लगायत विषयमा कांग्रेसले गम्भीर दिशानिर्देश गर्ने पदाधिकारीहरुले अनलाइनखबरलाई बताए ।

पदाधिकारी बैठक सकिएपछि भोलि अपराह्न चार बजे सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । अन्तिम दिनमा निर्णय पारित गर्ने र सभापति देउवाले बोल्ने कार्यक्रम छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?