+
+

बाख्रापालनमा जम्दै निर्माण व्यवसायी, बाख्राफार्ममा ५ करोड लगानी

रासस रासस
२०८० साउन २० गते १६:१४

२० साउन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् ।

ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन धेरैलाई आकर्षित गर्ने किसिमको छ । १५० वटा उन्नत जातका बाख्रा रहेको उनको फार्ममा पाँच करोड लगानी भइसकेको छ ।

भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए । उनको फार्ममा सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत छ, जसको तौल १८० किलो छ ।

‘पाँच/छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो’, उनले भने ।

बाख्रा पाल्नकै लागि चार तलाको पक्की घर बनाएका उनले गत वर्ष स्थानीय खरी जातको बाख्रापालन सुरु गरेका थिए । अहिले सिरोही, तोतापरीलगायतमन उन्नत जातका समेत गरी उनको फार्ममा १५० वटा बाख्रा छन् ।

उनको फार्ममा ६ जनाले रोजगारी पाएका छन् । ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौं’, उनले भने ।

बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए । पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ छ ।

‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ’, चन्दले भने । बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना उनले बताएका छन् ।

बुवाबाजेको पालादेखिको जमिन खाली हुन थालेपछि त्यसलाई संरक्षण गरी चरनका लागि उपयोग गरिरहेको चन्दले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?