२९ साउन,काठमाडौं । लामो समयदेखि बन्द गरिएको राजधानीको खुलामञ्च अब सर्वसाधारणका लागि खुला हुने भएको छ । दुई वर्षदेखि पूर्ण रुपमा बन्द गरिएको खुलामञ्च एक महिनाभित्रै पुनः खुला हुने भएको हो ।
काठमाडौं महानगरपालिकाले १५ वैशाख २०७८ देखि खुलामञ्चमा सर्वसाधारण तथा सवारीसाधन प्रवेशमा रोक लगाएको थियो । तर, महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गत जेठमा खुलामञ्चको खोल्ने र त्यसको व्यवस्थापन गर्ने जिम्मा महानगरका २७ र २८ वडालाई दिने निर्णय गरेका थिए ।
वडाको जिम्मेवारीमा आएपछि खुलामञ्च सबैको लागि र सधैँका लागि खुला गर्ने तयारी गरेको काठमाडौं २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए ।
खुलामञ्चमा पहिले जसरी नै राजनीतिक कार्यक्रम, युवा, बालबालिका खेल्ने ठाउँ बनाउने उनले बताए । ‘अब खुलामञ्चमा कुनै सभा समारोह गर्न अवरोध हुँदैन, बिहान बेलुका फुटबल, भलिबल, क्रिेकट जे खेले पनि पाइन्छ । हामीले वृक्षारोपण गरेर चौरमा दुबो रोप्ने काम गरिरहेका छौ,’ खड्गीले अनलाइनखबरसँग भने ।
यसअघि चौरमा निर्माण भएको कंक्रिट ढलान, केही ठाउँको पीच अहिले महानगरको डोजर लगाएर हटाइरहेको उनले बताए ।
खुलामञ्च सञ्चालनको कार्यविधि बनाएर मर्निङ वाक, क्लबहरुको तालिम, विद्यार्थीको कार्यक्रम, राजनीतिक कार्यक्रम, खेलकौशल अन्य प्रयोजनका लागि खुला गर्ने बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले बताए ।
पुरानो बसपार्कमा टावर बनाउन थालेपछि त्यहाँको बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । २२ वैशाख २०७३ मा खुलामञ्चलाई अतिक्रमण गरी अस्थायी बसपार्कमा परिणत गरिएको थियो । ०७७ फागुनमा महानगरले खुलामञ्चबाट अस्थायी बसपार्क हटाउने निर्णय भएको थियो । त्यसलगत्तै १५ वैशाख ०७८ देखि महानगरले ताल्चा नै लगाएर खुलामञ्चलाई बन्द गरेको थियो ।
बालेन्द्र शाह काठमाडौंको मेयर बनेपछि गएको दशैं-तिहार अवधिभर चार पाङ्ग्रे सवारी पार्किङ गर्न केही समयका लागि खुलामञ्च खोलिएको थियो ।
बेसेमेन्ट पार्किङबाट ब्याक भयो महानगर
काठमाडौं महानगरपालिकाको गत आर्थिक वर्ष २०७९/०८० को बजेटमा वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो । त्यहीअनुसार काठमाडौंले ५ हजार सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययन सुरु गरेको थियो ।
खुलामञ्चको चउरको संरचना नबिग्रने गरी बेसमेन्ट पार्किङको संरचना बनाउने घोषणा गरेको थियो । चउरमा पानी रिचार्ज गर्ने पोखरी निर्माण गरेर खुलामञ्चमा आकाशबाट आउने पानी बग्न नदिने योजना पनि महानगरले बनाएको थियो ।
तर, खुलामञ्चमुनि संरचना बनाउने कुराको चर्को आलोचना भएको थियो । खुलामञ्च खुला हुनुपर्छ भन्दै अभियान्ताहरुले दैनिक आन्दोलन र प्रदर्शन गरेका थिए ।
१८ पुस २०७९ मा भूमिगत पार्किङ बनाउने निर्णयको विरोधमा रहेको स्थानीय बासिन्दा र सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकाको कार्यालय बाहिर विरोध प्रदर्शनसमेत गरेका थिए । विरोधपछि मेयर बालेनले जनतासँग छलफल गरेर मात्रै निर्णय गर्ने बताएका थिए ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडा नम्बर २७ र २८ का वडाध्यक्षहरु समेत भूमिगत पार्किङ बनाउने निर्णयको विरोधमा थिए । त्यसपछि मेयर बालेन भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटे र खुलामञ्च व्यवस्थापनको जिम्मा दुई वडालाई नै दिए ।
‘पहिले वडाध्यक्षज्यूहरुले नै भूमिगत पार्किङ बनाउने सुझाव दिनुभएको थियो, हामीले अध्ययन मात्रै गर्ने भनेका थियौं तर अब वडाध्यक्षहरुले नै निर्णय कार्यान्वयन नगर्न भनेपछि यो योजना अगाडि नबढेको हो । अब खुलामञ्चमा भूमिगत पार्किङ नबन्ने भएको छ,’ मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने ।
अब जनताको खुलामञ्च
लामो समयको संघर्षपछि खुलामञ्च सर्वसाधारणका लागि खुला हुन लागेकोमा खुशी व्यक्त गर्छन् ‘अकुपाइ टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठ । ‘खुलामञ्च कुनै सरकारको थिएन, जनताको थियो । तर, कहिले यसलाई बसपार्क बनाइयो, कहिले टहरामा व्यापार गर्ने थलो । अब फेरि जनताकै लागि खुल्ने भएको छ ,’ उनले भने ।
खुलामञ्च अब अफ्नै मौलिक स्वरुपमा फर्किन लागेको उनले बताए । अभियन्ताहरुको उपस्थितिमा खुलामञ्चमा डोजर चलाएर चौर मिलाउने काम भइरहेको उनले बताए । अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘टुँडीखेल राज्यको नियन्त्रणबाट मुक्त हुनुपर्छ भन्ने आवाजको सुनुवाइ भएको छ । यसलाई खुशीको रुपमा लिनुपर्छ ।’
अनेक प्रयासको बाबजुद बचेको काठमाडौंको मुटु

विगतमा खुलामञ्च रानीपोखरीदेखि त्रिपुरेश्वरसम्म फैलिएको थियो । तर, त्यसमध्ये अधिकांश भाग अहिले राज्यकै विभिन्न निकायले अतिक्रमण गरिसकेका छन् । राजा महेन्द्रको पालामा टुँडिखेलको खरीको बोटसहितको डबली मासेर बीच भागमा बारबेरसहित सैनिक मञ्च र रत्नपार्क बनाइएको थियो ।
बागबजारतर्फको टुँडिखेलमा नेपाल विद्युत प्राधिकरण र बसपार्क राखिएको नागरिक अभियन्ता डा.देवेन्द्रराज पाण्डे बताउँछन् । विशाल टुँडिखेल देखेका डा. पाण्डे भन्छन्, ‘त्यत्रो टुँडिखेल अहिले यत्रो भयो ।’
अतिक्रमणबाट बचेको सानो टुँडिखेलमा पनि राज्य तथा व्यापारीहरुले कब्जा गरिरहेका थिए । अघिल्ला मेयर विद्यासुन्दर शाक्यका पालामा खुलामञ्चभित्र ४५ भन्दा बढी व्यावसायिक सटर बनाइएको थियो ।
खुलामञ्च बन्द हुँदा काठमाडौं महानगरमा राजनीतिक कार्यक्रम गर्ने स्थानको समेत अभाव छ । ठूला राजनीतिक कार्यक्रमहरु सडक तथा चोकहरुमा हुने गरेका छन्, जसले सवारी व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।
खुलामञ्च २०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको थियो । कुनै समय काठमाडौंको खुलामञ्च राजनीति गर्नेहरुका लागि ‘उर्बरभूमि’ नै थियो ।
२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए । त्यो सभाबाट उनले जनमत संग्रहमा बहुदलका पक्षमा बहुमत आउने भन्दै पञ्चायती सरकारलाई दीर्घकालीन महत्वका निर्णयहरु नलिन र त्यसो भएमा बहुदल आएपछि बन्ने सरकारले बोक्न नसक्ने बताएका थिए ।
बीपीले भने जस्तो २०३६ सालको जनमत संग्रह बहुदल पक्षले त जितेन तर, खुलामञ्चमा राजनीतिक कार्यक्रमहरु गर्ने क्रम भने सुरु भयो । ०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले पनि खुलामञ्चमा उभिएर भाषण गरे ।
२०६२/६३ को दोस्रो जनआन्दोलनमा जनताको जित भएको घोषणा पनि यही खुलामञ्चबाट भएको थियो । बाह्रबुँदे सम्झौतापछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेश आन्दोलनबाट उदाएका मधेश केन्द्रित दलहरुले पनि पटक-पटक यही खुलामञ्च रोजेका थिए ।
संविधान निर्माणका क्रममा सानो वा ठूलो हरेक विचार समूह वा दललाई आफ्नो आवाज सुनाउने मञ्च बनेको थियो । तर, करिब एक दशक खुलामञ्च जनताका लागि बन्द हुँदा राजनीतिक कार्यक्रमहरु पनि तितरबितर हुने गरेका छन् ।
महानगरपालिले खुलामञ्च खोलेपछि त्यहाँ जनताको स्वतन्त्रता प्रस्फुटित हुने मात्रै होइन, राजनीतिकर्मीको आवाज गुञ्जित पनि हुनेछ ।
फोटो/भिडियोः आर्यन धिमाल
प्रतिक्रिया 4