+
+

कैदीको मृत्युपछि सुरु भएको थियो बाल सुधार गृहमा तनाव

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ४ गते १७:४९

४ भदौ, काठमाडौं । सोमबार भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट १२९ जना कैदी फरारको घटना आइतबार त्यहाँका एक कैदी मृत्यु प्रकरणसँग जोडिएको छ ।

२९ जेठ २०७७ देखि कैद भुक्तान गर्दै आएका मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षका कमल बस्नेत अचानक बेहोस भएपछि गठ्ठाघरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।

बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्षमुनिका कुनै व्यक्तिले फौजदारी अपराध गरेमा बाल सुधार गृहमा राख्ने व्यवस्था गरेको छ । त्यही अनुसार, देशभर ८ वटा बाल सुधार गृह सञ्चालित छन् ।

भक्तपुर, मोरङ, कास्की, बाँके, मकवानपुर, डोटी, पर्सा र रुपन्देहीमा बाल सुधार गृह छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगत सरकारले बालसुधार गृह चलाउँदै आएको छ । तीमध्ये ४ वटा सरकारले नै सञ्चालन गरिरहेको छ भने बाँकी गैरसरकारी संस्थाले चलाउँदै आएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार, सानोठिमीस्थित सुधार गृह युसेप नेपाल नामक संस्थाले चलाउँदै आएको थियो । पछिल्लो गणना अनुसार, सुधार गृहमा २९९ जना कैदीबन्दी थिए ।

आइतबार मृत्यु भएका श्रेष्ठको बायाँतिर तीघ्रामा पिलो आएको थियो भने लामो समयदेखि आँखामा समस्या थियो । ‘बेहोस के कारण भए भन्ने खुल्न नसकेपछि आवश्यक छानबिन गरिरहेका थियौं’, जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले भने ।

बस्नेतका आफन्तले अस्पताल पुगेर सोधपुछ गर्दा उनीहरुले मृत्युको कारणबारे चित्त बुझ्दो जवाफ पाएनन् । प्रशासनले पनि स्पष्ट कारण बताएन । बरु प्रहरी वृत्त, थिमि पुग्दा प्रहरीले दर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । त्यसपछि उनीहरुले बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै नारावाजी गरेका थिए ।

कारागार बाहिर आफन्त र कारागारभित्र कैदीबन्दीले प्रदर्शन थालेपछि आइतबार पनि बाल सुधार गृहमा स्थिति तनावग्रस्त भएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालका अनुसार, पीडितले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

त्यसअनुसार पीडितसँग छलफल गरेर भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिमा प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत सदस्य थिए ।

समिति बनेपछि बाहिरको प्रदर्शन केही मत्थर भएको थियो । परिवारले अनुसन्धानका लागि जाहेरी दिने सहमति समेत भएको प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछन् । तर, सोमबार यो समाचार तयार पार्दासम्म जाहेरी परेको छैन । बरु कारागारभित्र तोडफोड र प्रदर्शन जारी रह्यो ।

त्यसक्रममा सुधार गृहको पछाडिको ढोका तोडेर डेढ सयभन्दा बढी कैदीबन्दी भागेको प्रमुख जिल्ला अधिकारी रिजाल बताउँछन् । ‘सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीलाई समेत आक्रमण गरेर उनीहरु भागेका थिए’, रिजालले भने, ‘खोजीका लागि उपत्यकाका तीन वटै जिल्लामा प्रहरी परिचालित छन् ।’

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार, सुधार गृहबाट भागेका मध्ये ८७ जना काठमाडौंबाट पक्राउ परेका छन् । ‘अन्य क्षेत्रबाट पनि उनीहरुलाई नियन्त्रणमा लिइरहेका छौं’, मैनाली भने, ‘छिट्टै सबैलाई नियन्त्रणमा आउँछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?