+
+

सचिव राउतविरुद्ध पनि किर्ते कसुरमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १० गते ११:४८

१० भदौ, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सरकारका वहालवाला सचिव कृष्णबहादुर राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर गत मंगलबार प्रतिवेदन बुझाउँदा राउतलाई मुद्दा नचलाउन राय दिएको थियो । तर, सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर सरकारी लिखत किर्तेको कसुरमा मुद्दा चलाउने निर्णय गरेको एक अधिकारीले अनलाइनखबरलाई बताए ।

प्रहरी प्रकरणका २८६ आरोपीलाई संगठित अपराध र किर्तेको कसुरमा मुद्दा चलाउन राय दिएको थियो । तर, सरकारी वकिलले संगठित अपराधको कसुरमा पनि मुद्दा नचलाउने निर्णय गरेको छ ।

ललितानिवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । तर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए ।

शाखा अधिकृत छँदा ललितानिवासको जग्गासम्बन्धी मन्त्रिपरिषदमा पठाउने एउटा फाइलमा टिप्पणी उठाएका आधारमा सीआईबीले राउतलाई अनुसन्धानमा तानेको थियो । मन्त्रिपरिषद्ले २९ चैत २०६६ मा ‘प्रधानमन्त्री निवास विस्तार’ गर्ने निर्णय गरेको थियो ।

त्यो निर्णयमा ‘ललितानिवास क्याम्प भित्र समरजंग कम्पनीको नाममा रहेको २७ रोपनी ७ आना जग्गा प्रधानमन्त्री निवासमा ल्याउने’ उल्लेख थियो । त्यसरी जग्गा ल्याउँदा त्यहाँ रहेका मोहीलाई बाहिरको सरकारी जग्गा सट्टाभर्ना दिने भन्दै अर्को निर्णय समेत भएको थियो ।

अधिकृतहरुका अनुसार, २०६७ असार २८ गते राउत भौतिक पूर्वाधार भूमिसुधार मन्त्रालयको शाखा अधिकृत छँदा उनको शाखाको निमित्त प्रमुख थिए । त्यसैले अधिकृतकै हिसाबमा उनले मन्त्रिपरिषद पठाउने ललितानिवास सम्बन्धी प्रस्तावका लागि टिप्पणी उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?