+
+

प्रधानमन्त्री प्रचण्डको घोषणा : बर्खा सकिएपछि लाखौं मान्छे सडकमा उतार्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १६:५५

१४ भदौ, सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए ।

बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’

प्रधानमन्त्री प्रचण्डले सरकार कति समय चल्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको पनि बताए ।

‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन्’ उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’

पछिल्लो समय भ्रष्टाचार विरुद्धको कारबाहीमा कांग्रेस, एमालेलाई लक्षित गरेको र माओवादीलाई जोगाएको भन्ने आरोपमा सत्यता नरहेको पनि उनले बताए ।

‘आफ्नालाई बचाउँछ, एमाले र कांग्रेसका नेतालाई मात्रै थुन्छ भन्ने आरोप ममाथि लगाइयो । त्यो सत्य हैन, मैले त अनुसन्धान गर्दै जाँदा माओवादी त परको कुरा म आफैं स्वयं प्रचण्ड नै मुछिए पनि नछोड्न सीआईबीलाई निर्देशन दिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?