+

स्तन क्यान्सर हुने कारण र उपचार

२०८० असोज  २६ गते १७:१० २०८० असोज २६ गते १७:१०
Shares
स्तन क्यान्सर हुने कारण र उपचार

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या बढ्दो छ । स्तन क्यान्सर ठ्याक्कै के कारणले हुन्छ भन्न सकिंदैन । यसमध्ये पाँचदेखि १० प्रतिशत कारण वंशाणुगत पनि हो ।

नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालका सात जिल्लामा स्तन क्यान्सरसम्बन्धी अध्ययन गरेको थियो, जसमध्ये पाँच जिल्लामा स्तन क्यान्सर हुने महिलाको संख्या निकै देखियो ।

विभिन्न अध्ययनले ५० देखि ६० वर्षका महिलामा अन्यको तुलनामा बढी स्तन क्यान्सर हुने गरेको देखाएको छ । नेपालमा भने ४० देखि ५० वर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर धेरै देखिएको छ ।

लक्षण

स्तन क्यान्सरको मुख्य लक्षण स्तनमा गिर्खा आउनु हो । यस्तो गिर्खा नदुख्ने र बढ्ने खालको हुन्छ । स्तनको मुन्टा गाडिने, रंग परिवर्तन हुने, छाला बाक्लो हुने, मुन्टाबाट पिप वा रगत बग्ने, घाउ निको नहुने जस्ता समस्या देखिन्छन् ।

पहिचान

स्तन क्यान्सर हुँदा लक्षण निकै ढिलोगरी देखिन सक्छन् । त्यसैले स्तन क्यान्सरलाई समयमा नै पत्ता लगाउने हो भने लक्षणलाई कुरेर बस्नु हुँदैन । ४० वर्षमाथिका महिलाले वर्षमा एकचोटी मेमोग्राम गराउने गर्नुपर्छ । मेमोग्रामको सुविधा नभए अल्ट्रासाउण्ड गराएर हेर्नुपर्छ ।

२० वर्षमाथिका महिलाले हरेक वर्ष स्तन परीक्षण गराउनु उपयुक्त हुन्छ । यसरी जाँच गराउने गरे गिर्खा हुनुभन्दा अगाडि नै पत्ता लाग्छ र समयमै उपचार गराउन सकिन्छ ।

अन्तिम चरणमा रोग पत्ता लागेमा वा जटिल खालको क्यान्सर भएमा उपचार गर्दागर्दै बिरामीको मृत्यु पनि हुन सक्छ ।

उपचार

नेपालका सबै क्यान्सर अस्पतालमा स्तन क्यान्सरको प्राथमिक उपचार हुन्छ । तर गम्भीर प्रकृतिको उपचार भने केही अस्पतालमा मात्र हुन्छ ।

पहिला स्तन क्यान्सर भएमा स्तन काटेर शल्यक्रिया गर्ने गरिन्थ्यो भने अहिले नेपाल क्यान्सर अस्पताल लगायतका अस्पतालमा सकेसम्म स्तन जोगाएर उपचार गर्ने गरिन्छ । जसलाई मेडिकल भाषामा ब्रेस कन्जरर्भिड सर्जरी भनिन्छ । ४० देखि ५० प्रतिशत बिरामीको स्तन बचाएर नै शल्यक्रिया गर्ने गरिन्छ । त्यसबाहेक स्तन क्यान्सरको उपचार गर्दा गिर्खा पनि निकाल्नुपर्ने हुन्छ । सेन्टिनल लिटनल बायोप्सी सानो औषधि दिएर गिर्खा निकाल्ने गरिन्छ । शरीरको अन्य भागमा पनि फैलिएको छ कि छैन भनेर जाँच गरिन्छ ।

तर स्तनमा एकभन्दा बढी गिर्खा आएमा भने स्तन काटेर फ्याँक्नुपर्ने हुन्छ । त्यस्तै इन्फ्लेमेटरी स्तन क्यान्सर (एक दुर्लभ र जटिल क्यान्सर) भएमा,  रोग जटिल भएर छाला खाइसकेको छ भने पनि स्तन काटेर निकाल्नुपर्ने हुन्छ । यसरी स्तन काटेर निकाले पनि अहिले शरीरको अन्य भागबाट तन्तु ल्याएर काटेको ठाउँमा राख्न सकिन्छ ।

उपचारपछि बिरामी सामान्य जीवनमा फर्कन सक्छन्

क्यान्सर भनेको जीवनको अन्त्य होइन यो एउटा नयाँ जीवनको सुरुवात हो । क्यान्सर भएर निको भएर गएका धेरै महिला सामान्य जीवन बिताइरहेका छन् ।

स्तन क्यान्सरको उपचारपछि पाँचदेखि १० प्रतिशत बिरामीमा पुन: बल्झिने सम्भावना हुन्छ । त्यसैले उपचार गरियो भनेर ढुक्क भएर बस्नुहुँदैन । क्यान्सरको उपचार भइसकेपछि दुई वर्षसम्म तीन-तीन महिना र त्यसपछिको दुई वर्षपछि ६–६ महिनाको अन्तरालमा स्तन जाँच गराइराख्नुपर्छ । यसबाट रोग पुन: बल्झिने सम्भावना छ कि छैन भनेर हेर्न सकिन्छ ।

उपचार खर्च कति लाग्छ ?

स्तन क्यान्सरको सामान्य जाँचको लागि धेरै खर्च लाग्दैन । यसमा सरकारले उपचार खर्च दिने गरेको छ । क्यान्सर टार्गेट (लक्षित) थेरापी गराउनुपरेमा भने उपचार खर्च बढ्छ ।

यसबाट क्यान्सर कोषिका कसरी बढ्छ, विभाजित हुन्छ र फैलिन्छ भनेर नियन्त्रण गर्ने प्रोटिन चलाउनुपरेमा र निको भएको क्यान्सर पुन: फर्केर आएको अवस्थामा खर्च बढी लाग्छ ।

(स्तन क्यान्सर एवं पेट तथा आन्द्रारोग विशेषज्ञ डा. अमात्यसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. कपेन्द्रशेखर अमात्य स्तन क्यान्सर स्वास्थ्य
डा. कपेन्द्रशेखर अमात्य
लेखक
डा. कपेन्द्रशेखर अमात्य
वरिष्ठ सर्जिकल अन्कोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २९०२ अध्ययन : एमबीबीएस, एमएस हाल ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालको सर्जिकल अन्कोलोजी विभाग प्रमुख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

शरीरमा के–के हुन्छ जब हामी मस्त निद्रामा हुन्छौँ ?

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

नेपाली श्रमिकको स्वास्थ्यमा सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

ठूला अस्पतालको भीड घटाउन जीपी डाक्टरलाई ‘गेटकिपर’का रुपमा प्रयोग गर्नुपर्छ

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

कान नसुन्नेका लागि ‘कक्लियर इम्प्लान्ट’ राख्ने अप्रेसन अब वीर अस्पतालमै

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

डोल्पाकी ती सानी छोरीको निःशब्द आग्रह, ‘डाक्टर मलाई बचाउनु ल’

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?

प्रतिरक्षा प्रणाली के हो, कसरी रोगबाट बचाउँछ ?