+
+
Shares

‘अमेरिकाले कडाइ गरेको कुरा थाहा नपाउँदा धेरै फर्किरहेका छन्’

डा. जीवन बानिया, सहायक निर्देशक, सोसल साइन्स बहा डा. जीवन बानिया, सहायक निर्देशक, सोसल साइन्स बहा
२०८० कात्तिक १७ गते १५:०७

नेपालबाट बाहिर जाने चाहने अहिले संस्कृति जस्तो भइरहेको छ । हुने खानेहरु अमेरिका, युरोप, जापान तिर जाने चलन छ । त्यहाँ जान नसक्नेहरु चाहिँ गल्फ कन्ट्रीतिर, नभए भारतसम्म जाने चलन छ ।

देशभित्र व्यापार, व्यवसाय र रोजगारी नभएर बाहिर जानु परिस्थिति सिर्जना भएको हो । यसमा देशको राजनीतिक, आर्थिक अवस्थाले प्रभाव पारेको देखिन्छ ।

नेपालको सन्दर्भमा भन्ने हो भने १९९० दुई वटा घटनाले तल्लो बाटोबाट अमेरिका वा युरोप जानेक्रम सुरु भएको देखिन्छ । त्यसमा माओवादी द्वन्द्व एउटा कारण देखिन्छ । देशमा जुन माओवादीको आन्दोलन भयो, त्यसमा मानिसहरु पिरोलिएको अवस्था थियो । त्यसले कतै जंगलतिर जानुपर्ने हो की भन्ने अवस्था सिर्जना गर्याे । त्यसबेला नेपालको आर्थिक अवस्थामा पनि कमजोर भइरहेको थियो । यो एउटा आन्तरिक कारण हो ।

बाहिर हेर्ने हो भने पनि द्वन्द्वको क्रममा पश्चिमा मुलुकहरुले नेपालीलाई खुकुलो बनाइदिएका थिए । त्यो बेला मानिसहरु माओवादी आन्दोलनको चपेटामा नपरुन् भनेर पश्चिमा देशहरुले सजिलै भिसा दिने र शरणार्थीका लागि खुकुलो बनाइदिएको अवस्था थियो ।

त्यो परिघटनाले पनि अवैध बाटोबाट अमेरिका, युरोप देशहरुमा जानेक्रम सुरु भयो । किनभने त्यहाँ गएर सजिलै बस्न पाउने स्थिति नभएको भए जोखिम मोलेर, लाखौं रुपैयाँ खर्चेर कोही जाने पनि थिएनन् । नेपालमा बसेका भुटानीहरुको अवस्था हेर्ने हो भने पनि त्यही हो । अझ नेपालीलाई नै नक्कली भुटानी बनाएर पठाएको घटना त छरपष्ट नै भयो ।

त्यो भनेको जहाँ जान चाहेको ती देशको नीतिले पनि नेपालीहरुलाई त्यहाँ जान आकर्षित गरेको देखिन्छ । अर्काे भनेको भूकम्पले पनि नेपालीहरुलाई पश्चिमा देशहरुले भिसा दिने सन्दर्भमा खुकुलो गरिदिएको देखिन्छ ।

अमेरिकाकै केसमा हेर्ने हो भने डोनाल्ड ट्रम्प राष्ट्रपति हुनुअघि र पछिको अवस्था फरक छ । ट्रम्प राष्ट्रपति हुनु अघिको समयमा अवैध बाटोबाट अमेरिका पुग्न सस्तो र सहज थियो ।  अमेरिकाले पनि सजिलै ‘बेलिङ’ गरिदिएको अवस्था थियो । त्यो विन्दुसम्म धेरै मानिसहरु सहज तरिकाले अमेरिका गए । त्यसले जानेहरुलाई पनि सजिलै गइहालिन्छ भन्ने बुझाइ भयो । पछि ट्रम्प आएपछि त्यहाँको नीतिमा कडाइ गरियो । अवैध रुपमा अमेरिका गएकाहरुलाई महिना–वर्ष दिनसम्म डिटेन्सन् सेन्टरमा राख्ने र फर्काइदिनेक्रम सुरु भयो ।

गाउँघरमा भने पहिले–पहिले अमेरिका छिरेको र राम्रो कमाएको देखेर अरुलाई अमेरिका पठाउने रहर नै चल्न सुरु भइसकेको थियो । त्यो देखेर अमेरिका सजिलै छिर्न सकिन्छ भन्ने हाम्रो बुझाइ भयो । तर अमेरिकाको इमिग्रेसनको नीति परिवर्तन भइरहेको धेरैलाई थाहै छैन । एजेन्टहरुलाई पनि त्यो कुरा थाहा हुँदैन । उनीहरु ललाइ–फकाइ गरी जसरी भए पनि पठाउन खोज्छन् ।

अहिले अमेरिकाको इमिग्रेसनको परिवर्तन भइरहेको नीतिबारे धेरैलाई अवगत नहुँदा गएकाहरु  समस्यामा परिरहेका छन् । अमेरिकाको बदलिँदो नीतिका कारण अहिले डिटेन्सन् बसेर थुप्रै फर्किरहेका छन् । एकदमै कम संख्यामामात्र त्यहाँ बस्न पाएका छन् । कति त बोर्डर नै क्रस गर्न नसकेर फर्केका पनि छन् । अहिले क्रमशः अरु देशहरुले प्रतिबन्ध लगाउँदै गएका छन् ।

पहिले–पहिले त सिधै म्याक्सिको, पनामाको भिसा लागेर जान्थे । त्यो गर्दा धेरै देश भएर हिँड्नु पर्दैनथ्यो । तर अहिले त २२–२३ वटा देशहरु पार गर्नुपर्ने अवस्था छ । त्यहाँ प्रत्येक देशहरुमा बोर्डर क्रस गराउन एजेन्टहरु हुन्छन्, उनीहरुले पैसा लिएर विभिन्न देशको बोर्डर पार गराउने काम गर्छन् । ती एजेन्टहरु भरपर्दा, विश्वासिला हुँदैनन् । उनीहरुले लुट्ने, ठग्ने, बन्धक बनाउने र शोषण गर्ने गर्छन् । त्यति हुँदा पनि अवैध बाटोबाट अमेरिका जान खोज्ने क्रममा कमी आएको छैन ।

एजेन्टहरुले पनि यसमा धेरै लाभ हुने थाहा पाइसकेपछि सक्रिय भएका छन् । यो जालो कस्तोसम्म छ भने साउथ अमेरिकामा बसेर काम गर्ने नेपाली एजेन्टहरु पनि छन् । कतिपय अमेरिकामा बसेर पनि यस्तो काम गरिरहेका छन् ।

रोचक कुरा त के छ भने यसरी अमेरिका जान चाहने मान्छेहरु दुई किसिमका छन् । त्यसमा एउटा सम्पन्न परिवार छ, जो लाखौं रुपैयाँ खर्च गरेर आफू वा आफ्नो सन्तानालई अमेरिका पठाउन चाहन्छ । अर्काे चाहिँ आर्थिक हैसियत नभएकाहरु, जोसँग लाखौं खर्चेर पठाउने पैसा हुँदैन, उनीहरुलाई छरछिमेक र आफन्तले पैसा हालिदिएर पठाइदिएको अवस्था पनि छ । यसले पनि लाखौं पैसा खर्चेर अमेरिका जान नसक्नेहरुलाई अवैध बाटोबाट अमेरिका जान प्रेरित गरिरहेको छ ।

तर अहिले अमेरिकाको इमिग्रेसन नीति परिवर्तन भइरहेको छ, साउथ अमेरिकाका देशहरुले पनि यसमा कडाइ गरिरहेका छन् । पहिले सजिलै भिसा दिने देशहरुले अहिले प्रतिबन्ध लगाएका छन् । त्यसैले अहिले अमेरिका छिर्न पहिले जस्तो सजिलो छैन । यो कुरा नबुझी धेरै मान्छे जाँदा दुख पाउने गरेका छन् ।

(श्रम आप्रवासी मामलामा अध्ययन गर्ने सोसल साइन्स बहाका सहायक निर्देशक डा. जीवन बानियासँग गरिएको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?