१ मंसिर, विराटनगर । विराटनगरको मुख्य बजारमा एटीएम मेसिन फोड्दै गर्दा एक जना पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा विराटनगर–११ घर भई वडानम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामत रहेका छन् ।
विराटनगरको महेन्द्र चोकमा रहेको नबिल बैंकको एटीएम मेसिन फोड्दै गर्दा कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
डीएसपी दाहालका अनुसार विराटनगर-९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोड्दै गर्दा कामत पक्राउ परेका हुन् ।
कामतले चाबी र सानो फलामको चक्कुले एटीएम मेसिन खोल्ने प्रयास गरेका थिए । उनको साथबाट प्रहरीले २ थान चाबी र सानो चक्कु बरामद गरेको छ ।
पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4