+

प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

२०८० मंसिर  ११ गते १७:३२ २०८० मंसिर ११ गते १७:३२
प्यान्क्रियाजको क्यान्सरका कारण र उपचार

प्यान्क्रियाज क्यान्सरलाई जटिल क्यान्सर मानिन्छ । प्यान्क्रियाज एक पाचन अंग हो, जसले पाचन रस र हार्मोन उत्पादन गर्छ । खाना पचाउन मद्दत गर्ने यो ग्रन्थीले पाचन इन्जाइमहरु निकाल्न र रक्त सुगर स्तर नियन्त्रण गर्न भूमिका खेल्छ ।

धेरै रक्सी खाने, धुम्रपान गर्ने, मोटोपन र मधुमेहको समस्या भएका व्यक्तिलाई प्यान्क्रियाजको क्यान्सर हुने जोखिम बढी हुन्छ । प्यान्क्रियाजमा लामो समयसम्म संक्रमण भइरहेमा क्यान्सर हुन सक्छ ।

लक्षण

प्यान्क्रियाजको क्यान्सर भएमा पेट दुख्ने, ढाड दुख्ने, सर्जिकल जन्डिस हुने, दुब्लाउँदै जाने, एकै महिनामा पाँच केजी जति तौल घट्ने जस्ता लक्षण देखिन्छन् ।

उपचार

प्यान्क्रियाज क्यान्सरको सबैभन्दा पहिलो र उत्तम उपचार शल्यक्रिया नै हो । हेड अफ द प्यान्क्रियाजमा क्यान्सर छ भने ह्विपल शल्यक्रिया गर्नुपर्छ । जुन शल्यक्रियामध्ये ठूलो र जटिल शल्यक्रिया अर्थात् मेडिकल भाषामा फ्वाडर अफ अल द अप्रेसन भनिन्छ । ह्विपल सर्जरीबाट प्यान्क्रियाज क्यान्सर निकालिन्छ । यसको शल्यक्रिया गर्न ८ देखि १० घण्टा समय लाग्छ ।

शल्यक्रिया गर्न नमिलेको खण्डमा किमोथेरापी र रेडियोथेरापी गरिन्छ । यसले क्यान्सरको लक्षण सुधार गर्न र नियन्त्रण गर्न सहयोग गर्छ ।

पूर्ण रुपमा निको हुन्छ ?

कुनै पनि क्यान्सर पूर्ण रुपमा निको हुन्छ भन्न सकिंदैन । अन्तर्राष्ट्रिय अनुसन्धानअनुसार कुन चरणमा उपचार भएको त्यसमा भर पर्छ । पहिलो र दोस्रो चरणमा क्यान्सर पत्ता लागेर राम्ररी उपचार भएमा बिरामी पाँच वर्ष बढी बाँच्ने सम्भावना ८० प्रतिशत हुन्छ । तेस्रो र अन्तिम चरण उपचार भएमा बिरामी दुईदेखि तीन वर्ष मात्रै बाँच्ने सम्भावना हुन्छ ।

तर त्यसो भन्दैमा उपचार नै नगर्ने भन्ने होइन । शल्यक्रिया गरेपछि कोही व्यक्ति १० वर्षभन्दा बढी पनि बाँचिरहेका छन् ।

कुन चरणमा थाहा हुन्छ ?

नेपालमा प्राय: क्यान्सरका बिरामी दोस्रो, तेस्रो र अन्तिम चरणमा मात्र अस्पताल पुग्ने गर्छन् । अति दुखेपछि वा सहनै नसकेपछि मात्र अस्पताल आउने गर्छन् । यस्तो अवस्थामा बिरामीको उपचारको क्रममा मृत्यु हुने जोखिम बढी हुन्छ । अन्तिम चरणका बिरामी अर्थात् अन्य अंगमा पनि क्यान्सर सरिसकेकोमा धेरैजसो तीनदेखि ६ महिना मात्र बाँच्न सक्छन् । त्यसैले अस्पतालमा आइसकेपछि मिलेसम्म शल्यक्रियामार्फत उपचार गरिन्छ ।

यसको उपचार कहाँ कहाँ हुन्छ ?

प्यान्क्रियाजको क्यान्सरको उपचार ठूला अस्पतालमा मात्रै हुन्छ । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, नेपाल क्यान्सर अस्पताल, ग्राण्डी अस्पताल र ओम अस्पतालमा यसको उपचार गरिन्छ । यसको लागि वर्षमा कम्तीमा १० वटा प्यान्क्रियाजको शल्यक्रिया गरेको हुनुपर्छ । किनकि जटिल शल्यक्रिया भएकोले भवितव्य घटना हुने जोखिम अत्यधिक हुन्छ ।

खर्च कति ?

सामान्यतया सरकारी अस्पतालमा जटिल शल्यक्रिया गर्न लगभग दुई लाख खर्च लाग्छ । क्यान्सर लागेपछि सरदर सबै खर्च जोड्दा १० लाख रुपैयाँ तयार पार्नुपर्ने देखिन्छ । तर अस्पतालअनुसार खर्च फरक पर्न सक्छ ।

क्यान्सर डा. पुण्यराम खर्बुजा प्यान्क्रियाज
डा. पुण्यराम खर्बुजा
लेखक
डा. पुण्यराम खर्बुजा
सर्जिकल अन्कोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२४० अध्ययन : एमबीबीएस, एमएस हाल भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय